जाजरकोटमा भाइरल प्रभावित ४ सय को स्वास्थ्य जाँच



Download our app to get more features

जाजरकोट, २४ पुष । जाजरकोटमा भाइरल ज्वरोका काण मृत्यु हुनेको संख्या बढ्दै गएपछि नेपाली सेनाको टोली रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए ।

यसअघि जुनिचाँदे गाउँपालिकामा आइतबारसम्म रुघाखोकी र ज्वरोका ४ सय बिरामीको उपचार गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा २ सय ५० भन्दा बढी बिरामीको उपचार गरेको हो ।

जुनिचाँदेमा दुई सातादेखि रुघाखोकी र ज्वरो फैलिएको थियो । रोग प्रभावित गाउँमा दुई हजारभन्दा बढी बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा. पवन शाक्यले बताए ।

रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको उनले बताए । अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्या देखिएको हो । जाडोका कारण अन्य ठाउँमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्नुपर्ने पीडितले माग गरेका छन् ।

डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ । जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट अहिले सम्म ९ जनाको मृत्यु भएको बताइएको छ । जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts