नेपाल विमान दुर्घटना: डीएनए परीक्षण गर्न 'डेढ महिना'



Download our app to get more features

बीबीसी,२ चैत्र । गत सोमवार काठमाडौंमा भएको युएस बांग्ला एअरवेजको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये सकेसम्म थोरै शवको मात्र डीएनए परिक्षण गर्नुपर्ने गरी तीनको विस्तृत अध्ययन भइरहेको बताइएको छ।

बिहीवार साँझसम्ममा ४९ वटा शवमध्ये ३३ वटाको परीक्षण (पोस्टमोर्टम) भइसकिएको छ। अस्पतालले संकलन गरेका नमुना आफूहरूले प्राप्त गरेपछि डीएनए परिक्षण सुरु गरिने प्रहरी विधिविज्ञान प्रयोगशालाको भनाइ छ।

आफन्तको शव बुझ्न भन्दै महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा मृतकका परिवारजनको घुइँचो दिनहुँ देखिन्छ। सबै शवको विस्तृत अध्ययन र पहिचानपछि मात्र हस्तान्तरण गर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन्।

बढी समय लाग्नुको कारणबारे अस्पतालका विधिविज्ञान चिकित्सक हरिहर वस्तीले भने, ''जलेको शरीर भएकोले प्रमाण संकलन गर्न एकदमै समय लाग्छ। अलिकति जल्न बाँकी छ भनेपनि त्यसलाई सफा गरेर कहीँ कोठी वा खत छ कि भनी खोज्नुपर्ने हुन्छ - सकेसम्म डीएनए परिक्षण गर्न नपरोस् भनेर।''कयौँ शव चिन्न नसकिने अवस्था छन् भने २५ प्रतिशत बढीको औँठाछाप समेत लिन नमिल्ने अवस्थामा रहेकोले अध्ययनमा समय लागेको चिकित्सकहरूको भनाइ छ।शवबाट संकलन गरिएका दुई वा दुईभन्दा बढी प्रमाणहरू र परिवारबाट प्राप्त हुने प्रमाणहरू एकअर्कासँग मिल्दोजुल्दो भएमा डीएनए परीक्षण आवश्यक हुन्न।

करिब आधाजसो शवको सनाखत डीएनए परीक्षणवाट गर्नुपर्ने चिकित्सकहरुको अनुमान छ।तर डीएनए परीक्षण आफैँमा जटिल प्रक्रिया भएको र एउटै शवको पुन: परीक्षण समेत गर्नुपर्नसक्ने भएको बढी समय लाग्ने नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताए।उनले भने, ''अहिले शवबाट रगतको नमुना संकलन गरिएको छ। त्यसैबाट नतिजा आउन सक्छ। यदि त्यसवाट आएन भने दाँत वा हड्डीबाट नमुना संकलन गर्नुपर्ने हुन्छ परीक्षणका लागि। त्यसकारण यतिउति दिन भन्नुभन्दा पनि पूरै रिपोर्ट तयार गर्न हामीलाई एक डेढ महिना जति लाग्न सक्छ।''

प्रत्येक मृतकका दुई आफन्तको रगत वा हड्डीको नमुना तथा शवको नमुना मिल्नुपर्ने हुन्छ।हाल शव र नमुना परीक्षणका लागि चार वटा टोलीमा करिव २० जना खटिएका छन्।सनाखत प्रक्रियालाई तीव्रता दिन नयाँ विशेषज्ञ थप्दा झन् बढी समय लाग्ने र पर्याप्त ठाउँ समेत अभाव रहेको अस्पतालका चिकित्सकहरूले नै बताएका छन्।

Last modified on 2018-03-16 08:25:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts