बिरामीको मृत्युपछि न्यूरो अस्पतालमा तनाव: लापर्वाही गरिएको पीडितको दाबी



Download our app to get more features

विराटनगर, ६ चैत । उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएपछि दिनभरी तनाव भएको छ ।  चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफ्न्तले दाबी गरेका छन् । 
देब्रे तिघ्राको हड्डी भाँच्चिएर उपचार गराउन आएकी सिरहा नगरपालिका छारपट्टिकी २५ वर्षीया रंजीता साहको उपचारको क्रममा मृत्यु भएपछि विवाद भएको हो । गएको चैत २८ गते जनकपुरबाट एउटा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्रसहित जीप दुर्घटनामा परेकी मृतक साहको देब्रे तिघ्राको हड्डी भाँच्चिएको थियो । 

उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्यूरो अस्पताल ल्याइएको थियो र अर्कोदिन उनको तिघ्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया अघिसम्म सामान्य अवस्थामा रहेकी साहको शल्यक्रिया भएपछि अवस्था बिग्रिँदै गएको र मंगलबार बिहान उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ । सिकारु चिकित्सकहरुले शल्यक्रिया गरेकै कारण विरामीको स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको मृतकका श्रीमान विरेन्द्र साहले बताए ।
हड्डी भाँच्चिएकै कारण मात्रले बिरामीको मृत्यु हुन नसक्ने मृतक पक्षले आरोप लगाइरहँदा अस्पताल प्रशासनले भने घटनामा चिकित्सक र अस्पतालको कुनै पनि लापरवाही नभएको दाबी गरेको छ । बिरामीको विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डाक्टर सिलवन्त श्रीवास्तवले अप्रेशन गरेको अस्पताल पक्षले जनाएको छ ।

बिरामीलाई फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । तिघ्राको मोटो हड्डी भाँच्चिएपछि  हड्डीभित्र रहने बोनम्यारो नशामार्फत किड्नीमा गएको र सोही कारणले किड्नी फेल भएर बिरामीको मृत्यु भएको अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईको भनाइ छ । 

उनले विधि र प्रक्रियाअनुसार नै विरामीको उपचार गर्दागर्दै बचाउन नसकिएको दाबी गरे ।अस्पताल पक्षले गरिरहेको दाबीलाई मृतक पक्षले भने अस्वीकार गरेको छ । उनीहरुले चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अप्रेशनमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिरामीको उपचारमा लापर्वााही गरेर अस्पतालले आफूमाथि अन्याय गरेकाले न्याय नपाए आफूले आत्मदाह गर्ने मृतकका श्रीमान वीरेन्द्रले चेतावनी दिएका छन् ।

Last modified on 2018-03-21 09:49:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts