संक्रमणको उच्च जोखिममा प्रधानमन्त्री ओली

कम्तिमा ८ घण्टा सुत्नुपर्नेमा चार घण्टा मात्र सुत्छन



Download our app to get more features

काठमाडौं, ४ वैशाख । मिर्गौला रोगको समस्या रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न रोग संग सम्बन्धीत संक्रमणको उच्च जोखिममा रहेको पाईएको छ । 

भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको भन्दै चिकित्सकले दैनिक हुने भेटघाटलाई कम गराउन सल्लाह दिएका छन् । तर, निजी चिकित्सकहरुको सल्लाह समेत ओलीले नमानेको स्रोतको भनाई छ । भेटघाटले संक्रमण ल्याउन सक्ने भन्दै चिकित्सकले आफ्नो नियमित काम काजमा लाग्न सल्लाह दिएका हुन । 

२०६४ साल असारमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य उच्च जोखिममा रहेको भन्दै भेटघाटलाई व्यवस्थित बनाउन चिकित्सकले सुझाव दिएका हुन । ओलीका जिनी चिकित्सकले बताए अनुसार उनकोे स्वास्थ्य संक्रमणको उच्च जोखिममा छ । मिर्गौलाको समस्या भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ओलीमा संक्रमणको उच्च जोखिम रहेको भन्दै बढी धपेटी नगर्न आग्रह गरे ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले मासमा भएको भेटघाटले गर्दा प्रधानमन्त्री संक्रमणको अवस्थामा रहेको बताए । उनले शरीरमा अंग प्रत्यारोपण गरेका व्यक्तिलाई बढी संक्रमण हुने गरेको स्पष्ट पारे । 

दैनिक ८ घण्टा आराम गर्नुपर्छ 
डा. ज्ञवालीले बढी भिडभाड, गुम्म भएको कोठा, एसी प्रयोग गरेर लामो समय बसेको खण्डमा समस्या उत्पन्न हुने पनि बताए । धेरै जना व्यक्ति भेट्न आउँदा कुनै एक व्यक्तिमा रुघा खोकी भएको अवस्थामा पनि मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्न सक्छ चिकित्सकले भनेका छन् । 

‘देशले ओलीलाई आराम गर्न भन्दै अहिले छुट दिएको छैन, उनका एक निजी चिकित्सकले भने’, ‘संक्रमणको उच्च जोखिममा रहेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनु परेको छ ।’ ओली विहान सबेरै देखि राती अर्थात् भोलिपल्ट बिहानको १ बजेसम्म काम र भेटघाटमा व्यस्त हुने गरेको उच्च स्रोतले बताएको छ । स्वास्थ्यमा समस्या भएकाले जुनसुकै परिस्थितिमा पनि ८ घण्टा अनिवार्य रुपमा सुत्न चिकित्सकले सल्लाह दिएका छन् । 

मौसम परिवर्तनले जोखिम ल्याउन सक्छ
चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि प्रधानमन्त्रीलाई जुनसुकै समयमा संक्रमण गर्न सक्ने बताए । अहिले प्रधानमन्त्रीले काम संगै बढी आराममा पनि ध्यान दिनुपर्छ । दिनमा  दुई लिटरको हाराहारीमा शुद्ध पानी पिउनु पर्छ । उमालेको पानी, आफ्नो शरिरले पचाउन सक्ने खाना खाने । खालिपेट धेरै नबस्न पनि चिकित्सकले सुझाव दिएका छन् । 

‘कुनै पनि व्यक्ति मौसम परिवर्तनको सिजनमा बन्द कोठामा, गुम्म भएको ठाउँमा, धेरै भिडभाडमा वस्दा संक्रमणको खतरा हुन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिहरु यस्तो वन्द कोठामा बसेर सभा समारोह मिटिङ गर्नु हुदैन । यस्तो गरेको खण्डमा प्रत्यारोपण गरेका व्यक्ति उच्च जोखिममा पर्ने गर्छन’ डा. ज्ञवालीले थपे ।  

प्रधानमन्त्रीलाई हात नमिलाउन सुझाव
नेपालीहरुले गर्ने नमस्कार आफै वैज्ञानीक र सम्मान जनक रहेको छ । हातबाट चाडै संक्रमण फैलन सक्ने भएकाले चिकित्सकहरुले प्रधानमन्त्रीलाई हात नमिलाउन सुझाएका छन् । चिकित्सकीय वैज्ञानीक आधार अनुसार हरेक दुई घण्टामा पिसाव गर्नुपर्छ । ४ घण्टामा खाजा खानु पर्छ । ६ घण्टामा आराम गर्ने हुनुपर्छ र ८ घण्टामा खाना खानु पर्छ । यही नियम अवलम्बन गर्न चिकित्सकले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

हामी निगरानी गरिरहेका छौंः दिव्या सिंह
क्याविनेट चिकित्सकका रुपमा नियुक्त भएकी डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे निगरानी गरिरहेको बताएकी छन् । प्रत्यारोपण गरेको लामो समय भएकाले उनलाई सुरुवाती अवस्थामा जस्तो संक्रमण हुने दर कम हुन्छ सिंहले भनिन् । ‘नियमित औषधि सेवन गरिरहनु भएको छ, अहिले भेटघाट कम गराउँनु पर्ने भनेपनि उनले मान्ने अवस्था छैन । देशको प्रधानमन्त्री भए पछि भेटघाट पातलो गर्ने कुरा हुदोरहेनछ’ उनले भनिन । 
 

Last modified on 2018-04-19 08:27:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts