बढ्दैछ स्वरयन्त्रको क्यान्सर



Download our app to get more features

काठमाडौं, ७ वैशाख । हेटौंडाका जीत बहादुर नेगी ७१ वर्षका भए । पछिल्लो तीन महिनाको बिचमा उनलाई घाँटी दुख्ने समस्या भयो । निको हुने आशमा फार्मेसीबाट औषधि ल्याएर खान थाले । क्रमिक रुपमा उनको बोली सुक्दै जान थाल्यो । विभिन्न स्वास्थ्य संस्था, अस्पतालमा परिक्षण गराए तर कुनै समस्या नदेखेपछि अन्तिममा नेगी नेपाल मेडिकल कलेज पुगे ।
 
चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नुभयो रिपोर्ट आउँदा स्वरयन्त्रको क्यान्सर भएको रहेछ नेगीले भने ।
 
धुम्रपान तथा मद्यपान सेवन नेगीको दैनिकी थियो । उक्त सेवनका कारण नेगीलाई स्वरयन्त्रको क्यान्सर हुन पुग्यो चिकित्सकले भनेका छन् । ‘सुरुवाती अवस्थामा स्वरयन्त्रको क्यान्सर थिएन पछिल्ला दिनमा यो बढ्दो अवस्थामा देखिएको छ’ नेपाल मेडिकल कलेजका नाक कान घाटीरोग विशेषज्ञ डा. रुपेशराज जोशीले भने । नेगीको नेपाल मेडिकल कलेजमा एक हप्ता अगाडी सफल शल्यक्रिया भएको छ । 

चुरोट रक्सीको मिश्रणले स्वरयन्त्रको क्यान्सर
चिकित्सकका अनुसार नेपालमा स्वरयन्त्रको क्यान्सर भएका करिब १ हजारको संख्यामा रहेका छन् । ‘यो अत्यन्तै धेरै संख्यामा हो’, नाक कान घाटी रोग विशेषज्ञ डा सोभा महर्जनले भनिन, ‘सन २००५ मा ३.७ प्रतिशतमा रहेको स्वरयन्त्रको क्यान्सर हाल बढेर करिब ८ प्रतिशतमा पुगेको छ । चिकित्सकका अनुसार यसको शल्यक्रिया अत्यन्तै जोखिम युक्त मानिन्छ ।’
 
नेपाल मेडिकल कलेजका नाक कान घाटी विभागका विभागीय प्रमुख प्रा.डा. अनिल कुमार झाका अनुसार चुरोट, रक्सीको मिश्रण गरेर सेवन गर्नाले स्वरयन्त्रको क्यान्सर देखिन थालेको हो । यसको यकिन तथ्याङ्क नभएपनि अस्पतालमा आएका गंभिर प्रकारका बिरामीको संख्यालाई आधार मानेर यकिन गरिएको हो । धुवा धुलो र परिवर्तित जीवन शैलिका कारण नेपालमा स्वरयन्त्रको क्यान्सर बढी देखिन थालेको डा. झा बताउछन् ।

५५ वर्ष माथिकालाई समस्या
डा. जोशीका अनुसार ५५ वर्ष माथि उमेर समुहमा यो समस्या देखिने गरेको छ । धुम्रपान तथा मद्यपानको सेवनले क्यान्सर रोग निम्त्याएको भएपनि उमेर बढ्दै जाँदा स्वरयन्त्रको क्यान्सर पनि देखिन थालेको छ । श्वास फेर्ने नलिमा स्वरयन्त्र माथिको भाग, स्वरयन्त्रको भाग र स्वरयन्त्रको तल पट्टिको भाग गरी तीन भाग रहेको हुन्छ । 

चिकित्सकका अनुसार स्वरयन्त्रमा क्यान्सर भएको खण्डमा कुनै वस्तु निल्न कठिन हुने, घाँटीमा केही वस्तु अड्कीएको अनुभव हुने, घाँटी बाहिर गाठा देखा पर्ने र सम्बन्धीत व्यक्तिको स्वर क्रमिक रुपमा सुक्दैजाने हुन्छ । यसस्तो समस्या भएका व्यक्तिलाई कुनै समय श्वास प्रश्वासमा समस्या हुने गर्दछ । 

स्वर यन्त्रको क्यान्सर उपचार 
डाक्टरका अनुसार स्वरयन्त्रको क्यान्सरको उपचार निकै जटिल हुन्छ । अन्य क्यान्सरको उपचार सरह रेडियो थेरापी, केमो थेरापी भएपनि रुद्र घण्टीमा हुने समस्याले यो उपचार निकै जटिल हुन्छ । घाटीको छेउमा सानो प्वाल पारेर बिरामीले सास फेर्ने वातावरण बनाईन्छ । शल्यक्रिया पछि पनि यस्ता बिरामी बढी जोखिममा पर्छन । नाकबाट श्वास प्रश्वास प्रक्रिया नहुने भएपछि घाटीमा प्वाल पारेर सास फेर्ने बनाईन्छ तर, यसबाट फोक्सोको संक्रमण हुने सम्भावना भने धेरै हुन्छ । 

यस्तो छ अवस्था
सन २०१० देखि २०१३ सम्म गरेको अध्ययनका क्रममा नेपालमा स्वरयन्त्रको क्यान्सर तेस्रो नम्बरमा रहेको छ । नेपालका ठुला १२ अस्पतालहरुबाट संकलन गरेको तथ्याङक अनुसार पुरुषमा ५.४ प्रतिशत अर्थात ७ सय ४१ जना पुरुष र २ सय ४३ जना महिला स्वरयन्त्रको क्यान्सरबाट पिडित भएका छन् । सन २००५ मा ३.७ प्रतिशतमा रहेको स्वरयन्त्रको क्यान्सर सन् २०१८ मा आईपुग्दा ८ प्रतिशतमा पुगेको डा. शोभा महर्जनले बताईन । त्यस यता स्वरयन्त्रको क्यान्सरलाई आधार मानेर कुनै अनुसन्धान भएको छैन । तर, डा. महर्जनका अनुसार विगतको तुलनामा अस्पतालमा धेरै स्वरयन्त्रको क्यान्सर भएका बिरामीहरु आउने गरेका छन् । 
 

Last modified on 2018-04-20 16:07:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts