नीति तथा कार्यक्रम: ५ वर्षमा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल



Download our app to get more features

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको पाँच वर्षे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमले नेपालमै औषधि उत्पादनलाई प्राथमिकता दिने जनाएको छ । यस्तै जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने कुनै पनि वस्तु वा सेवा आयातलाई पूर्ण रुपमा रोक्ने प्रतिबद्धता पनि जनाइएको छ । 

नीति कार्यक्रममा हरेक स्थानीय तहमा स्वास्थ्य संस्थाको स्थापना र सो संस्थाबाट आधारभुत स्वास्थ्य सेवाको निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ । यस्तै, प्रदेश तहमा विशेषज्ञ सेवा र केन्द्रमा अत्याधुनिक विशिष्टिकृत उपचार सेवा दिने व्यवस्था मिलाइने जनाइएको छ । नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र कुनै पनि रोगको उपचारको लागि विदेश जानु नपर्ने व्यवस्था मिलाइने जनाइएको छ । 

नीति तथा कार्यक्रममा आगामी ५ वर्षमा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल स्थापना गरिने पनि जनाइएको छ । यस्तै हरेक प्रदेश तहमा एक सय शय्याको जेष्ठ नागरिक अस्पताल स्थापना गरिनेछ । स्वास्थ्य क्षेत्र सुधार र सहज उपचारको लागि सार्वजनिक, निजी र सामुदायमा आधारित स्वास्थ्य सेवा उपलब्धता गरिनेछ । नीति तथा कार्यक्रममा वेवारिसे, अलपत्र परेका व्यक्तिको निःशुल्क उपचार र पुर्नस्थापना गरिने पनि जनाइएको छ । साथै हरेक प्रदेशमा सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गरिनेछ । यसबाट दुर्घटनाबाट घाइते भएकाहरुको उपचार र उद्धारमा सहयोग मिल्नेछ । आगामी पाँच वर्षभित्र देशभरका सबै स्वास्थ्य संस्थाको संरचना गुणस्तरीय बनाइनेछ । साथै जनशक्ति उत्पादनमा पनि विशेष जोड दिइनेछ । 

नीति तथा कार्यक्रमले चिकित्सक तथा बिरामी दुबैलाई लक्षित गरी आचार संहिता तयार पारिने पनि जनाएको छ । नेपाली नागरिकको स्वास्थ्य सुधारका लागि सरकारले अभियानको रुपमा सुरु गरेको नागरिक स्वास्थ्य बीमा कार्यक्रमलाई अझै व्यापक बनाइनेछ । तर, यसको प्रभावकारिता बढाउन पुर्नरावलोकन गर्ने जनाइएको छ । यस्तै योगमाया अनुशन्धान केन्द्र स्थापना, होमियोपेथी, प्राकृतिक उपचार पद्धतिको प्राथमिकता, किर्तिपुरमा आयुर्वेद विश्वविद्यालय स्थापना, द्वन्द्वकालका घाइतेको उपचारको व्यवस्था सरकारले मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Last modified on 2018-05-22 07:44:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts