विश्व वातावरण दिवस

वातावरण प्रदूषण साझा चुनौती बनेको छ– प्रधानमन्त्री



Download our app to get more features

काठमाडौँ, २२ जेठ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताएका छन् । आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताएका छन् ।

सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गरेका छन् । 

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ । रासस
 

Last modified on 2018-06-05 11:31:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts