वीर अस्पतालका २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा



Download our app to get more features

काठमाडौं, २३ जेठ । बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको आरोपमा वीर अस्पतालका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अन्य २ जनाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।

वीर अस्पतालमा सातौं तहमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पताल सेवा आयोगको सचिव लक्ष्मणप्रसाद अर्यालले नक्कली लिखत तयार गरेको अख्तियारको आरोप छ।

बलात्कार प्रयासको आरोप लागेका ललितपुरका उद्ववप्रसाद नेपाल घटनाको दिन वीर अस्पतालमै उपचारत रहेको कागजात उनीहरूले बनाइदिएका थिए। सोही कागजात पाटन उच्च अदालतमा पेश भएको थियो।

सो कागजात नक्कली रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको थियो। त्यसपछिको अनुसन्धानबाट नेपालका ससुरा केदारनाथ पराजुलीले दिएको ५० हजार रुपैयाँ लिएर उनीहरूले नक्कली लिखत बनाइदिएको अख्तियारले जनाएको छ।

नक्कली लिखत बनाउने कार्यमा संलग्न भन्दै चारै जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

नेपालका ससुरा केदारनाथ पराजुलीसँग पचास हजार लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान, वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरी नक्कली कागजात उच्च अदालत पाटनमा पेश गरेको तथ्य पुष्टि भएको छ ’ अख्तियारको अभियोगपत्रमा उल्लेख छ, ‘निज राष्ट्रसेवकद्वय कृष्णप्रसाद तिमिल्सिना र लक्ष्मणप्रसाद अर्याललाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सँजाय हुन माग दाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

Last modified on 2018-06-06 17:03:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts