महिनामा ५० जनाको ‘ब्रेनडेथ’  तर एक जनामा पनि अंग प्रत्यारोपण हुँदैन 



Download our app to get more features

काठमाडौं, २५ जेठ । गतवर्ष २७ वैशाखमा निर्वाचनको प्रचारप्रसारका क्रममा सिन्धुली खाङ्गसाङ–८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परि गम्भीर घाइते भए । घाईते भुजेललाई उपचारका लागि काठमाडौं स्थित कान्तिपुर अस्पतालमा ल्याईयो । 

उपचारका क्रममा चिकित्सकले भुजेलको २८ वैशाख साँझ ‘ब्रेनडेथ’ अर्थात (मस्तिष्क मृत्यु) भएको घोषणा गरे । अस्पतालले आफ्नो धर्म निभायो । उसले तत्कालिन मानव अंग प्रत्यारोपण केन्द्र (धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र) मा खबर गर्यो । खबर पाउँनसाथ केन्द्रका विशेषज्ञ चिकित्सकसहितको प्राविधिक टोली कान्तिपुर अस्पताल पुग्यो । 
लामो परामर्शपछि भुजेलको परिवारले अंग दान गर्ने सहमति जनाए । उता केन्द्रमा अंग प्रत्यारोपणको पर्खाइमा बिरामीहरू थिए । ब्रेनडेथ भएको भुजेलबाट निकालेको अंग सुनसरीका ५१ वर्षीय गोविन्दप्रसाद तिमल्सिना र लाजिम्पाटका १५ वर्षीय मिलन श्रेष्ठमा सफलतापुर्वक प्रत्यारोपण भयो ।

महिनामा ५० जनाको ‘ब्रेनडेथ’ 
धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र २४सै घण्टा ब्रेनडेथको केस फेला पर्ने प्रतिक्षामा छ । तर, कुनै सरकारी तथा निजी अस्पतालले खबर नगर्दा ब्रेनडेथ कार्यक्रम बन्द हुने करिब निश्चित जस्तो देखिन्छ । बिभिन्न अस्पतालको रेकर्ड हेर्दा देशभर महिनामा कम्तिमा पनि ५० जनाको ब्रेनडेथ हुने गरेको छ । तर, केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीप्रति निजी क्षेत्रका चिकित्सकहरूले भने प्रश्न उठाउँदै आएका छन् । केन्द्रले गर्दै आएको कामलाई सहयोग नगर्दा ब्रेनडेथ पछिको प्रत्यारोपणमा पुर्णबिराम लाग्ने अवस्था देखिएको हो ।

निर्देशक श्रेष्ठका अनुसार एक व्यक्तिको पाँच वटा अंगबाट पाँच जनालाई नयाँ जीवन दिलाउन सकिन्छ । झन्झटिलो काम भन्दै देशभर हुने ब्रेनडेथको घटना केन्द्रसम्म आइपुग्दैन । जसका कारण ब्रेनडेथपछिको अंग प्रत्यारोपण अन्योल बन्दै गएको छ । 

डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अस्पताल र पीडितको माग अनुसार नै ब्रेनडेथ उपलब्ध गराउने परिवारका सदस्यलाई उपचार गर्दा लागेको खर्च र सूचना दिने अस्पताललाई एक लाख दिने निर्णय भएको छ । यसरी सहयोग गर्दा पनि अस्पतालहरू घटना लुकाउने मात्रै काम गरिरहेको प्रति स्वास्थ्य मन्त्रालय नै आश्चर्यमा परेको छ ।

कुन अस्पतालमा कतिको ‘ब्रेन डेथ’
देशका ठुला अस्पतालबाट उपलब्ध तथ्याङ्क अनुसार ओम अस्पतालमा महिनामा तीन जनाको ब्रेनडेथ हुने गरेको छ । यस्तै न्युरो अस्पतालमा कम्तिमा ५, राष्ट्रिय ट्रमा सेन्टर ७, वीर अस्पताल २, शिक्षण अस्पताल ३, न्युरो अस्पताल बाँसबारी ३, ग्राण्डी अस्पताल २, वयोधा अस्पताल २, नेपाल मेडिकल कलेज २, काठमाडौं मेडिकल कलेज २, विराट मेडिकल कलेज ३, नोबेल मेडिकल कलेज ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ६, चितवन मेडिकल कलेज ४, नेपालगन्ज मेडिकल कलेजमा ३ जनाको ब्रेनडेथ हुने गरेको छ । यति ठुलो संख्यामा देशभर ब्रेनडेथ हुँदा पनि प्रत्यारोपण भने शुन्य छ । 

‘अस्पतालले अप्रेशन गर्न सक्दैन’
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार उपाध्यायले ब्रेनडेथ भएको व्यक्तिको अंगदान गर्न निकै गम्भीर र जटिल विषय भएको बताए । ‘यसमा प्राविधिकदेखि कानूनी झन्झट भएकाले केन्द्रलाई खवर नगरेका हौं ’ निर्देशक उपाध्यायले भने ‘हामीले नदिने भनेका छैनौं तर, हामीसँग ब्रेनडेथ भएपछि अप्रेशन गर्ने, अंग निकाल्ने समय हुँदैन । अप्रेशन थ्रिएटर व्यस्त भएकाले सो प्रक्रिया हामीबाट अगाडी बढ्न नसकेको हो ।’ 

अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. समिर आचार्यले कानूनी समस्याले ब्रेनडेथ भएकाको अंग दिन नमिल्ने बताए । ‘हामीबाट यो सम्भव हँुदैन’ उनले भने, ‘परिवारका सदस्यलाई बाहिरका व्यक्तिले सम्झाएर लगे भने मात्रै हो । अन्यथा अस्पताल र चिकित्सकले दिन सक्ने आधार छैन ।’ ब्रेनडेथ भएका व्यक्तिको अंग निकालेको खण्डमा उनिहरूले कानूनी रुपमा चिकित्सकले मारेको भन्ने आरोप लगाउने आधार छ । 

यी अंग प्रत्यारोपण गर्न सकिन्छ 
डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गाैला, फोक्सो, मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, आँखाका नानी तथा छालालगायत अंग प्रत्यारोपण गर्न सकिन्छ । पहिलो पटक मस्तिष्क मृत्युबाट मिर्गौला मात्र प्रत्यारोपण भएको छ । 
 

(हाम्रो डक्टर म्यागजिनबाट)

Last modified on 2018-07-13 13:33:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts