आयुर्वेद विश्वविद्यालय भोजपुरमै खोल्नुपर्नेमा भोजपुरबासीको माग



Download our app to get more features

काठमाडौँ, ९ असार । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । 

भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र भोजपुरमै आफ्ना भक्तहरुका साथ अरुण नदीमा सामूहिक जलसमाधि लिनुहुने योगमायाको नाममा खुल्ने विश्वविद्यालय भोजपुरमै स्थापित हुनुपर्ने विचार व्यक्त गरे । 

उनीहरुले भोजपुरमा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय भोजपुरमै हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका पूर्वसल्लाहकार खेमचन्द्र ढकालले सो विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनमा आफू पनि संलग्न भए पनि कहाँ स्थापना गर्ने निक्र्योल भइनसकेको र विभिन्न आधारमा भोजपुर पनि सम्भाव्य स्थान हुनसक्ने बताए।  

कार्यक्रममा पूर्वसांसदहरु जयन्ती राई,तारा राई र शान्ति अधिकारी, पूर्वसचिव वीरेन्द्रबहादुर कार्की, समाजका पूर्वसभापति दयाकृष्ण न्यौपाने, प्राध्यापक केदार न्यौपाने, प्रा डा गोविन्दमान सिंह कार्की, रोशन श्रेष्ठ, हरि राई, पत्रकार तीर्थ भट्टराईलगायतले योगमाया भोजपुरको गौरव भएकाले योगमायाको जन्मस्थल वा भोजपुर सदरमुकाम आसपास विश्वविद्यालय स्थापना हुुनुपर्ने धारणा राखे । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts