वीपी प्रतिष्ठानबारे प्रमलाई हस्ताक्षर बुझाइयो



Download our app to get more features

इटहरी, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन एवम् स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा विज्ञानको विषयमा कहीँ कसैले खेलबाड वा हेलचेक्र्याइँ गर्ने काम गरेको तथ्य भए वर्तमान सरकारले त्यसलाई नसहने बताएका छन् । 

एक्सन धरान र धरान स्वतन्त्र समाजको संयुक्त सक्रियतामा धरान, इटहरी लगायतका स्थानका नागरिकले प्रतिष्ठान सुधारमा उच्च चासो राख्दै सङ्कलन गरेको हस्ताक्षर नागरिक प्रमण्डलबाट शनिबार बुझ्दै प्रम ओलीले त्यस्तो कार्य तत्काल रोकी सुधार गरिने विश्वास दिलाए । 

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति आर्थिक अनियमितता, चरम लापर्वाही र प्रतिष्ठान प्रशासनले गर्दै आएको गैरजिम्मेवारपनको विरोधसहित प्रतिष्ठान सुधार्न सङ्कलित ७० हजार नागरिकको हस्ताक्षर प्रधानमन्त्री निवास बालुवाटरमा बुझ्दैै प्रधानमन्त्रीले प्रमण्डल टोलीसंग यस्तो विश्वास व्यक्त गरे । 

प्रम ओलीले सो अवसरमा स्वास्थ्य क्षेत्रको बेथितिको सुधार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाटै थालनी गर्नेे प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको टोलीका संयोजक सचित शर्माले बताए । 

प्रतिष्ठानमा पछिल्लो समयमा बढेको बेथिति र चरम लापर्वाहीका विषयमा प्रधानमन्त्री ओलीले प्रमण्डल टोलीबाट अभिरुचिपूर्वक समस्याका विषयमा गहिरो जानकारी लिनुहुँदै आम नागरिकबाट भएको हस्ताक्षरको उच्च कदर गरी प्रतिष्ठानको सुधारमा आफूले कुनै ढिलाइ हुन नदिने पनि विश्वास दिलाउनुभएको प्रमण्डलले जानकारी दिएको छ । 

उक्त प्रमण्डलका संयोजक सचित शर्मा तथा सदस्यहरु प्राध्यापक ऋषिराज गौतम एवम अजय राई, संगीता लिम्बू र शान्ता लिम्बूले प्रधानमन्त्री ओलीलाई उक्त हस्ताक्षर बुझाई प्रतिष्ठानको बढ्दो बेथितिमा सुधार गर्न अनुरोध गरेका थिए । 

सो टोलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग स्वास्थ्य मन्त्रालयमा भेट गरी सोही व्यहोरा अवगत गराउँदै प्रतिष्ठानको बढ्दो बेथिति कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा बृहत् परामर्श र छलफलसमेत गरेको टोलीले बताएको छ । 

उक्त टोलीले प्रतिष्ठानभित्र मौलाएको चरम लापर्वाहीप्रति सरकारले तत्काल ध्यान केन्द्रित गर्न नसके प्रतिष्ठान धराशायी बन्ने खतरामा पु¥याइएकोबारे समेत स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको बताएको छ ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts