गगन थापाले संसदमा भने ‘प्रधानमन्त्री जी अब टाउको नगन्नुहोस्’

(भिडियोसहित)



Download our app to get more features

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता गगनकुमार थापाले सोमबार संसद बैठकमा कसको पक्षमा कति टाउका छन् भनेर नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् । दिलेन्द्रप्रसाद बडुले संसदमा प्रस्ताव गरेको जरुरी सार्वजनिक महत्वको विधेयकको समर्थन गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्ने क्रममा उनले यस्तो सुझाब दिएका हुन् । 

संसदमा नेता थापाले चिकित्सक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले भनेका केही विषय उठाएका थिए । उनले चिकित्सकहरुलाई डा. केसी एक जनाको धम्कीले नडराउने र कसैले पनि सिकाउनु नपर्ने बताएको चिकित्सकहरुको भनाइ उदृत गरे । प्रधानमन्त्री ओलीको यो भनाइलाई उनले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहारसँग तुलना गर्दै भने, ‘२०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले प्रत्यक्ष सासन सुरु गरे । त्यसको विरोधमा रत्नपार्कमा केही मानिस संसद पुर्नस्थापनाको मागसहित भेला भए । त्यो दृश्य देखिपछि माहाराज ज्ञानेन्द्रका एक शुभचिन्तकले रत्नपार्कमा केही मानिसहरु कराइरहेको बताए । उनीहरुले माहाराजले गरेको कामले देशको भलो हुँदैन भनिरहेका छन् भनेछन् । यसको जवाफमा ज्ञानेन्द्रले रिसाउँदै ओलीले जस्तै गरी पृथ्वीनारायण शाहको वंशजलाई मामूली मानिसहरूले मलाई सिकाउने भनेछन् ।  उनले सिकाउने मानिसको को हुन भनेर सोधेछन् । ती शुभचिन्तकले पनि गिरीजाप्रसाद कोइराला, माधव नेपाल, भरतविमल यादव, नारायणकाजी श्रेष्ठ लगायतका मानिसको नाम दिएछन् । यिनहरुको नाम लिएपछि महाराज अझै झङ्गिदै भनेछन् चार पाँच सय मानिसको झुण्डले महाराजलाई सिकाउने ।’ 

एनले संसदमा भने ‘आज समय बदलिएको छ, पात्र बदलिएको छ । कर्णालीबाट चिकित्सक अनशन बसेका छन् । तिनै सुभचिन्तकहरुले सम्मानीय प्रधानमन्त्रीलाई यो कुराले देशको भलो हुँदैनन भन्न गएछन् । तर, ती शुभचिन्तकको कुरालाई ठाडै इन्कार गर्दै प्रधानमन्त्रीले भनेछन्... दुई तिहाइ संख्या र समर्थन भएको सरकारलाई एउटा चिकित्सकले देशको भलो हुने नहुने सिकाउने । उनको समर्थनमा को छ ? केही थान कांग्रेस संसदमा हल्ला गर्दैछन् । केही थान मानिसको भरमा दुई तिहाइको सरकारलाई थर्काउने । ’

प्रधानमन्त्रीको यस्तो व्यवहारले चिन्ता लागेको नेता थापाले बताए । उनले भने ‘पृथ्वीनारायण शाहका वंसज माहाराज ज्ञानेन्द्र झुकिबक्यो त्यही संख्या हेरेर, त्यही टाउको गनेर । उनले सत्य के हो बुझ्नै खोजेनन् । यस्तैगरी अहिले प्राडा गोविन्द केसी एक जना मात्रै भए पनि सत्यको पक्षमा उभिएका छन् ।  यसकारण म सम्मानीय प्रधानमन्त्रीलाई टाउको नगन्न अनुरोध गर्दछु । डा. गोविन्द केसीसँग कुनै झण्डा छैन, कुनै लोभ छैन, कुनै स्वार्थ छैन । सिर्फ नसा छ नेपालको चिकित्सा क्षेत्र सुधार गर्ने । यसकारण डा. केसीलाई चिन्न म आग्रह गर्दछु । चिकित्सा शिक्षा विधेयक हिजो हामी सँगै बसेर ल्याएको हो । अहिले पनि यसका एक एक अंशको बारेमा छलफल गर्न कांग्रेस तयार छ । त्यो चिकित्सा शिक्षा विधेयक सम्मानयी प्रधानमन्त्री र शिक्षामन्त्रीले एक दुई जनाको स्वार्थलाई नहेर्ने हो भने एक ठाउँमा बसेर पारित गर्ने अवस्था छ । यो विषय म सम्मानीय सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । 

Last modified on 2018-07-11 08:00:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts