चिकित्सा शिक्षा विधेयक आज पेश हुँदै 



Download our app to get more features

काठमाडौं २८ असार । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई आज प्रतिनिधिसभामा पेश गर्ने तयारी भएको छ। विधेयक चाँडै नै पारित गर्नुपर्ने भएकाले सरकारले तत्काल प्रक्रियामा लाने तयारी गरेको हो ।

राष्ट्रियसभामा गएका ४ विधेयक पारितपछि चिकित्सा शिक्षा विधेयक पेश हुने सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले उक्त विधेयक पेश गर्ने कार्यसूचीको तेस्रो नम्बरमा रहेको बताइएको छ । संघीय संसदको बैठकमा मन्त्री पोखरेलले आज दिउसो १ बजेपछि बस्ने बैठकमा सो विधेयक पेश गर्ने भएका हुन् ।

यसअघि संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्दा माथेमा आयोगको सुझाव विपरित भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो । त्यस लगत्तै सरकारले प्रतिस्थापन विधेयकलाई संसदबाट फिर्ता गरी नयाँ विधेयक दर्ता गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाको प्रस्ताव समेत संसदमा निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको बताइएको छ । थापाको विरोधको सूचना निर्णयका लागि पेश भएपछि मात्र विधेयक पेश गर्ने सरकारको तयारी रहेको छ।

यसअघि मंगलबार राष्ट्रियसभामा शिक्षामन्त्री पोखरेलले संसद्‌बाट बहुमतले विधेयक पारित हुने स्पष्ट पारेका थिए। तर, प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयक अध्यादेश अनुसार हुबहु नआएमा संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । कांग्रेस सांसद थापाले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएकाले त्यसैमा टेकेर विरोधमा उत्रने कांग्रेसको तयारी छ। 

संघीय संसदका महासचिव मनोहर भट्टराईले जारी गरेको सूचना अनुसार आज दिउसो बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा विधेयक २०७५ प्रस्तुत गर्ने उल्लेख छ । 

Last modified on 2018-07-13 07:05:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts