हेटौँडामा थप दुई डाइलाइसिस मेशिन



Download our app to get more features

हेटौँडा, १ साउन । आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर (पुल्चोक) ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ । 

हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । 

अहिले सर्लाही, रौतहट र मकवानपुर जिल्लाका गरी करीब ३० जना मिर्गौला रोगीलाई उपचारको क्रममा क्रमशः प्रत्येक दिनको तीनपटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान हेटौँडाका इञ्चार्ज स्टाफ नर्स रिना सिलवालले जानकारी दिएकी छन् ।

अहिले सर्लाही, सिन्धुली, रौतहट र मकवानपुरका गरी करीब २३ जना थप मिर्गौला रोगी डाइलाइसिस सेवाका लागि प्रतिक्षा सूचीमा रहेका र ती बिरामीलाई आगामी भदौको २० गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराउन आवश्यक प्राविधिक तयारी भइरहेको र ती बिरामीलाई थप उपचारका लागि वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सकको पनि सेवा उपलब्ध गराउनेतर्फ पहल गरिएको चुरेहिल अस्पतालका वरिष्ठ प्रशासन प्रमुख रविरमण अधिकारीले बताए । 

हेटौँडा उपमहानगरपालिका–१४ बस्ने मिर्गौला रोगी गुरुङबहादुर आलेमगर र वडा नं ८ राजपानी बस्ने मिर्गौला रोगी मीना परियारले हेटौँडास्थित चुरेहिल अस्पतालमा नियमित डाइलाइसिस उपचार गरिरहेको भएपनि तत्काल डाइलाइसिस कार्यकक्षमा बिरामीलाई आकस्मिक रुपमा आइपर्ने समस्यालाई तत्काल उपचार विधिमा लैजान वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा अहिले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरबाट एकजना विशेषज्ञ चिकित्सक उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्न माग गरेका छन् । 

आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा सञ्चालित डाइलाइसिस सेवालाई अझ प्रभावकारीरुपमा सेवासुविधा उपलब्ध गराउन दुईजना स्टाफ नर्स उपलब्ध गराउने र ती प्राविधिक जनशक्तिलाई अहिले डाइलाइसिससम्बन्धी तालीम उपलब्ध गराइएको र आगामी भदौको दोस्रो साताबाट ती स्टाफ नर्स हेटौँडामा कार्यरत रहनुहुने आरोग्य स्वास्थ्य प्रतिष्ठान, हेटौँडाका इञ्चार्ज रीना सिलवालले बताइन् । 

यसअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा तीनवटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो । रासस

Last modified on 2018-07-17 08:38:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts