शुल्क विवादले निजी मेडिकल कलेजहरुलाई तनावः सरकार निकट व्यक्तिलाई बनाइयो अध्यक्ष



Download our app to get more features

काठमाडौं, ५ चैत । निजी मेडिकल तथा डेन्टल कलेज एशोसियसनमा नेकपा निकट नेता एवं मेडिकल कलेज सञ्चालक बसिरुद्दिन अन्सारीलाई अध्यक्ष बनाइएको छ । 

अघिल्लो साता राजधानीमा बसेको एशोसियसनको बैठकले अन्सारीलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । पूर्व अध्यक्ष डा. सुरेश कनौडियाले अध्यक्ष पद छाड्न चाहेपछि सबैको सहमतिमा अन्सारीलाई अध्यक्ष बनाइएको हो । डा. कनोडिया नेपाली काँग्रेस निकट नेता हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसबाट नेपालगञ्चमा संसदीय चुनाव लडेका थिए । तर, उनी पराजीत भए । 

यसअघि डा. भोला रिजाल एशोसियसनको अध्यक्ष थिए । दुईवर्ष अघि निजी मेडिकल कलेज सञ्चालक र डा. गोविन्द केसी एवं उनका समर्थकहरु बीचको शीतयुद्ध सतहमै आएपछि डा. रिजालले कनोडियालई अध्यक्ष सुम्पिएर बेलायत गएर बसेका थिए । केसीको विरुद्ध आवाज उठाएसँगै रिजालको लोकप्रियता खस्किन थालेपछि उनी श्रीमतिको उपचार गराउन भन्दै अध्यक्ष छाडेर बेलायत गएका थिए । त्यसयता काँग्रेस निकट कनोडिया अध्यक्ष बनेका हुन् । 

डा. कनोडियाले अध्यक्ष पद छाडेसँगै सरकारसँग निकट व्यवसायी अन्सारीलाई अध्यक्ष बनाइएको हो । सरकारले तोकेको भन्दा बढि शुल्क लिएर अवैध रकम संकलन गरिरहेका मेडिकल कलेजहरु विरुद्ध सरकार कठोर बन्ने संकेत देखिएपछि कलेज सञ्चालकहरुले नयाँ जुक्ति लगाएका हुन् । उनी सत्ताधारी पार्टीकै व्यक्ति भएकाले केही सहज होला भनेर उहाँलाई अध्यक्ष बनाइएको हो । एकजना मेडिकल कलेज सञ्चालकले हाम्रो डक्टरसँग भने, हामी तोकिएको शुल्कमा पढाउन सक्दैनौं वैज्ञानिक शुल्क निर्धारण गरिए हामी सघाउन तयार छौं । 

अहिले अध्यक्ष बनेका अन्सारी यसअघि तत्कालिन माओवादी र एमाले दुवै पार्टीमा सक्रिय भईसकेका व्यक्ति हुन् । उनी अघिल्ला स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार दिए । उनी विरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक हुन् । उनी प्रस्तावित विवादास्पद काठमाडौं नेशनल मेडिकल कलेजका पनि सञ्चालक हुन् ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुलाई प्रभावमा पारी बिरामी नै नभएको काठमाडौं नेशनल मेडिकल कलेजको भवनमा अस्पतालको स्वीकृति लिन खोजेको आरोप पनि लागेको छ । उनले राज्यशक्तिसँग निकट भएर मेडिकल कलेजहरुको समस्या समाधान गर्ने आशाले उनलाई कुनै वैधानिक प्रकृया बिना नै हतारमा सर्वसम्मतिले अध्यक्ष चुनिएको हो ।
 

Last modified on 2019-03-20 06:20:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts