अस्पतालमाथिको आक्रमणप्रति अफिनको विरोध 



Download our app to get more features

काठमाडौं, १ असार । एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) ले ओम अस्पतालमा केही दिनअघि उपचारका क्रममा बिरामीको मृत्युपछि पीडितका आफन्तले गरेको तोडफोडप्रति दुःख व्यक्त गरेको छ । 

अफिनले आइतबार विज्ञप्ति जारी गर्दै ओम अस्पतालमा मात्रै नभइ देशभरका अन्य अस्पतालमा भएको आक्रमणको पनि विरोध गरेको छ ।

विज्ञप्ति भनिएको छ, ‘स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आवश्यक चिकित्सा विधि र पेशागत आचारसंहिता अनुरुप चिकित्सकहरुको अथक प्रयासका बाबजुद अपवादका रुपमा नसोचेको परिणाम आउनु आफैँमा दुःखदायी हो ।’

बिरामीको स्वास्थ्य उपचारको क्रममा कुनै पनि चिकित्सकले यस्ता असामान्य घटना घटोस् भन्ने चाहना नगर्ने विज्ञप्तिमा उल्लेख छ । 

‘अफिनका सदस्य संस्थाहरुले वर्षेनी लाखौं नागरिकको स्वास्थ्य उपचारमा गरेको सकारात्मक योगदानलाई नजर अन्दाज गर्दै अपवादमा हुने एकाध घटनालाई आधार बनाएर सिङ्गो संस्थालाई नै बन्द गराउने अभिप्रायले आजभोलि हुन थालेको तोडफोडप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

मानवीय स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल, व्यवस्थापन र उपचारार्थ भर्ना भएका अन्य बिरामीहरुलाई समेत त्राहिमाम बनाउने गरी असामान्य परिस्थिती सृजना भइरहेकोप्रति अफिनले भत्सर्ना गरेको छ । यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल खस्कने अफिनको दावी छ ।  

उसले अस्पताल परिसर सुरक्षित बनाउन आग्रह गरेको छ । यससँगै अफिनले सबै दुर्घटनाको तथ्यपरक छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न माग गरेको छ । 

Last modified on 2019-06-16 16:04:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts