गण्डकी प्रदेशको बजेटः स्वास्थ्य बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा पुर्याईने

खोप कोषलाई निरन्तरता दिन ५० लाख



Download our app to get more features

पोखरा, १ सार । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै स्वास्थ्यका लागि बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य सचेतना कार्यक्रमलाई आम नागरिकको घरदैलोमा पुर्याउन आवश्यक बजेटको व्यवस्था गरेको छ । 

यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको लागि छुट्याइएको बजेटको पूर्णपाठः
खोप कोषलाई निरन्तरता दिन ५० लाख विनियोजन गरेको छ । क्यान्सर, मुटु र मृगौला रोगको उपचारको लागि प्रदेशभित्र अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मृगौला पिडित विरामीका लागि विभिन्न जिल्लामा डायलासिस सेवा उपलव्ध गराउने उद्देश्यले पर्वत, म्याग्दी, स्याङजा, गोरखा र लमजुङमा डायलासिस सेवा सञ्चालनका लागि रकम विनियोजन गरेको छ ।

पोखरा नर्सिङ क्याम्पसलाई अस्पताल भवन निर्माणका लागि अनुदान स्वरूप रू १ करोड विनियोजन गरेको छ ।

मानव सेवा आश्रम, बृद्धाश्रम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ । साथै, योग ध्यान साधनाको माध्यमबाट नागरिकलाई आरोग्यता प्रदान गर्नको लागि आध्यात्मिक संघ संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको ब्यवस्था गरेको छ ।

मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउन र बाल मृत्युदर घटाउन प्रदेशभित्र महिला तथा बाल अस्पताल निर्माण कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था गरेको छ । पारिवारिक स्वास्थ्य कार्यक्रम, एकीकृत स्वास्थ्य शिविर, पाठेघर खस्ने महिलाको शल्यक्रियाद्वारा उपचार, बर्थिङ्ग सेन्टरको स्थापना गर्न बजेटको व्यवस्था मिलाएको छ ।

दुर्गम तथा विकट क्षेत्रका गर्भवती तथा सुत्केरीको जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा सेवा प्राप्तिका लागि एयर लिफ्टिङ सुविधा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छ ।

विस्तृत आयोजना प्रतिवेदन तयार भई ठेक्का सम्झौताको क्रममा रहेका मुस्ताङ, मनाङ, नवलपुर, कास्की र पर्वत जिल्लाका अस्पताल भवन निर्माणको कार्यलाई निरन्तरता दिन रू १५ करोड बजेट छुट्याएको छ । गण्डकी क्षेत्रिय अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न थप नयाँ भवन निर्माणको लागि रू २ करोड विनियोजन गरेको छ ।

क्षयरोग, कुष्ठरोग, औलो, एचआईभी एड्स जस्ता रोगका एकीकृत सर्भिलेन्स कार्यक्रम सञ्चालन गर्न र दुर्गम तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्थानीय तहको समन्वयमा समुदाय स्तरको स्वास्थ्य शिविर तथा स्क्रिनिङ्ग सञ्चालनका लागि रू.१ करोड १० लाख विनियाजन गरेको छ ।

प्रदेशभित्रका जिल्ला अस्पतालको स्तरोन्नति, क्षमता अभिवृद्धि, औषधी तथा उपकरण खरिदका लागि पुँजीगत अनुदानको व्यवस्था मिलाएको छ ।

प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने व्यवस्था मिलाएको छ । साथै आवश्यकता अनुसार थप नयाँ स्थानमा ब्लड बैंक स्थापना गर्न बजेट विनियोजन गरेको छ ।

संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा आयुर्वे्दिक औषधी उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको छ ।

राजमार्गमा बढ्दै गएको सडक दुर्घटनाबाट हुने घाइतेको तत्कालै प्राथमिक उपचार गर्न दमौली अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र र डिमुवा स्वास्थ्य चौकीलाई हाइवे मोवाईल अस्पतालकारूपमा सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ ।

नवलपुर जिल्ला अस्पताल र डेढगाउँ स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 

Last modified on 2019-06-17 12:54:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts