समायोजनमा पर्न ‘बढाइचढाइँ’ मेडिकल रिपोर्ट

सामान्य रोग लागेकालाई पनि मेडिकल बोर्डको सिफारिस



Download our app to get more features

काठमाडौं, २६ असार । वीर अस्पतालका कर्मचारीले समायोजन हुँदा केन्द्रमै बस्नका लागि बढाइचढाइँ मेडिकल रिपोर्ट बनाएर पेश गर्न थालेका छन् । शारिरीक रुपमा अशक्त नरहे पनि केही कर्मचारीले आर्थिक चलखेल र व्यक्तिगत चिनजानका आधारमा अशक्त भएको देखिने  गरेर मेडिकल रिपोर्ट बनाएर स्वास्थ्य मन्त्रालयमा पेश गरेका छन् ।

स्वस्थ्य मन्त्रालयले समायोजनको सूचना प्रकाशित गरेसँगै आफू निकट चिकित्सकको रिपोर्टका आधारमा मेडिकल बोर्डको सिफारिस लिने कर्मचारीको संख्या ह्वत्तै बढेको देखिन्छ ।

कर्मचारी र चिकित्सकको मिलोमतोमा तयार पारिका रिपोर्टहरु मेडिकल बोर्डले पनि फटाफट सदर गरिरहेको छ । यति मात्रै होइन आफू निकट कर्मचारीलाई केन्द्रमा समायोजन गर्न स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको पनि मिलोमतो रहेको वीर अस्पताल स्रोतको दाबी छ ।

झुठो रिपोर्टमाथि छानबिन गर्नुर्पयो भन्दै वीर अस्पतालका कर्मचारीले स्वास्थ्य मन्त्रालयमा उजुरी समेत हालेका छन् । झुठा मेडिकल रिपोर्टहरु पेश भइरहेको गुनासो माथि ध्यानाकर्षण भएको बताउँदै स्वास्थ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘समायोजनको सूचना निस्केसँगै बोर्डबाट आउने सिफारिसको संख्या बढेको छ । रिपोर्टहरु माथि छानबिन हुन्छ ।’

लामो समय केन्द्रिय स्वास्थ संस्थामा काम गरेका कर्मचारी समायोजन हुँदा स्थानीय र प्रदेश तहमा पुग्ने भएपछि उनीहरूले आफ्नो रोगका बारे बढाईचढाइ गरेर रिपोर्ट बनाएर पेश गरेर केन्द्रमा बस्ने दाउ गरेको स्रोत बताउँछ ।

नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेमा कर्मचारी समायोजन ऐन–२०७५ अनुसार कडा रोगका बिरामी तथा गम्भिर र अशक्त कर्मचारीले रोजेको ठाउँमा समायोजन हुन सक्छन् । यही व्यवस्थाको दुरुपयोग गर्दै वीर अस्पतालका केही कर्मचारीले झुठो मेडिकल रिपोर्ट बनाएका छन् भने केहीले बनाउने प्रकृयामा रहेको स्रोतको दाबी छ । ती कर्मचारीले आफूलाई हुँदै नभएको रोगको मेडिकल रिपोर्ट बनाएर मेडिकल बोर्डमा पेश गरेका छन् ।

हालसम्म मेडिकल बोर्डबाट सिफारिस भएकै आधारमा ६४ कर्मचारीका समायोजन भइसकेको छ भने स्वास्थ्य मन्त्रालयले ४, ५, ६ तहका स्वास्थ्यका कर्मचारीको समायोजन सूचि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ९ औं र दशौं तहका स्वास्थ्यकर्मीको समायोजनको टुंगो अन्तिम चरमा पुगिसकेको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-07-11 12:08:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts