स्थानीय सरकारका स्वास्थ्य चौकीमा जीवन जल समेत अभाव



Download our app to get more features

अर्घाखाँची, १९ वैशाख । स्थानीय सरकार अन्तर्गत आएका अर्घाखाँचीका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । 

अर्घाखाँचीको मालारानी, पाणिनी गाउँपालिका र शितगंगा नगरपालिकाका विभिन्न वडाका स्वास्थ्य चौकीमा सिटामोल र जीवन जल समेत पाइन छाडेको छ । 

औषधि नपाएपछि शितगंगा नगरपालिकाको सिद्धारा, मौवावारी र खहेरभट्टीका बासिन्दा सामान्य उपचारबाट समेत बञ्चित भएका छन् । सामान्य ज्वरो आउँदा, टाउ दुख्दा समेत औषधि पाउन छाडेको उनीहरूको गुनासो छ । सिद्धारा खहेरभट्टीका दिपक बेलवासेले ७ वर्षीया छोरीलाई ज्वरो आएपछि उपचारका लागि स्वास्थ्य चौकी ल्याएको तर औषधि नभएका कारण त्यसै फर्काउनु परेको बताए । 

यसैगरी मालारानी गाउँपालिकाको बाँगी हंसपुर स्वास्थ्य चौकीमा करिब एक महिनादेखि जीवन जल समेत अभाव भएको छ । मालारानी स्वास्थ्य चौकीका ईन्चार्ज नेत्रबहादुर खत्रीले जीवन जल सकिएकाले बिरामीलाई तातो पानी प्रशस्त पिउन सुझाव दिदै आएको बताए । 

हंसपुरमा मात्र होइन, अड्गुरी स्वास्थ्य चौकीको समस्या पनि उस्तै छ । अत्यावश्यक औषधिहरू जिल्ला स्वास्थ्य कार्यालयमा माग गर्दा स्थानीय तहसँगै माग्न आग्रह गर्ने गरेको स्वास्थ्य चौकीहरूले जनाएका छन् । तर, स्थानीय तहमा माग गर्दा सधै प्रक्रिया अगाडी बढ्दैछ भन्ने जवाफ आउने गरेको स्थानीयको दुखेसो छ । यस्तो अवस्थमा चाहेर पनि सेवाग्राहीलाई समयमा सेवा दिन नसकेको दुःख व्यक्त गर्छन ईन्चार्ज अड्गुरी स्वास्थ्य चौकी पुनाराम भुसाल । 

औषधि खरिदको टेन्डर गरिसक्यौं: गाउँपालिका अध्यक्ष
गाउँपालिका र नगरपालिका बनिसकेपछि सिंहदरवारको अधिकार घर घरमा आउने भनिएको थियो । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले स्थानीय तह मातहतमा जाँदा औषधि खरिदमा समस्या देखिनुको कारण खरिद प्रक्रिया र कर्मचारी ढिलासुस्ती भएको बताए । उनले भने, ‘केन्द्रमै निर्देशक नहँुदा औषधि खरिद प्रक्रिया रोकिएको थियो र कर्मचारीहरुले पनि सक्रियता नदेखाउँदा समस्या भएको हो ।’ उनले औषधि खरिदका लागि टेन्डर आह्वान गरिसकेको र अबको केही दिनभित्रै औषधि उपलब्ध हुने बताए ।

औषधि किन्ने पैसा पूर्वाधार विकासमा
जनप्रतिनिधिहरुले अन्य विकास निर्माणका योजनालाई  प्राथमिकतामा राखेका कारण औषधि खरिदमा ढिलाइ भएको स्वास्थ्यकर्मीको बुझाइ छ । औषधि किनेर सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन केन्द्रदेखि प्रदेश सरकारबाट निर्देशन भए पनि कार्यान्वयनमा सुस्तता देखिएको स्थानीयले बताएका छन् ।  
 

Last modified on 2018-05-09 16:30:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts