वजन घटाउन शल्यक्रिया : तीन सय ३० किलोका व्यक्तिको ज्यान गयो

हृदयघातबाट मृत्यु



Download our app to get more features

काठमाडौं, २६ असार । तीन सय किलोभन्दा बढीको आफ्नो वजनले कतै ज्यान त जाने होइन भनेर नूर उल हसनलाई पहिल्यैदेखि मनमा डर थियो।

पाकिस्तानका लेप्रोस्कोपिक सर्जरीका विशेषज्ञ डा. माज उल हसनले करिब १२ दिनअघि वजन घटाउन नूर उल हसनको सफल शल्यक्रिया गरेका थिए।

पञ्जाबको सादिकाबादका नूर उल हसनलाई शल्यक्रियापछि लाहोरस्थित शालिमार अस्पतालको सघन उपचार कक्षमा भर्ना गरियो।

डा. माजका अनुसार नूर उल हसनका सबै अङ्गले राम्ररी काम गरिरहेका थिए र गत सोमवार दिउँसोसम्म उनको भेन्टिलेशन हटाउने योजना थियो।

तर डा. माजले सोमवार बिहान नूर उल हसनको स्वास्थ्य अवस्था बिग्रेको जानकारी पाए। दुर्भाग्यवश उनी अस्पताल पुग्दा नूर उल हसनको मृत्यु भइसकेको थियो।

सामाजिक सञ्जालमार्फत् नूर उल हसनले गरेको एउटा अपीलपछि सेनाको हवाई एम्बुलेन्सबाट उनलाई सादिकाबादबाट लाहोर ल्याइएको थियो।

सोमवार उनको परिवारका सदस्यले एम्बुलेन्सबाट शवलाई सादिकाबाद लिएर गइरहेका थिए।

उनका छोरा मोहम्मद असलमले भने, "एम्बुलेन्सको ४० हजार रुपैयाँ भाडा डा. माजले नै तिर्नुभएको हो। यात्रा लामो छ र बुवाको पेटमा पानी भरिएको छ। अल्लाहसँग दुआ (प्रार्थना) छ कि हामी उहाँलाई राम्ररी घर लग्न सकौँ।"

अचानक त्यस्तो कसरी भयो?

सोमवार एउटा पत्रकार सम्मेलनको आयोजना गरी डा. माजले भने, "हृदयाघातबाट उनको मृत्यु भएको हो। त्यतिबेला शालिमार अस्पतालको सघन उपचार कक्षमा होहल्ला पनि भएको थियो।"

अस्पताल प्रशासन र डा. माजका अनुसार बिहान अस्पतालको आईसीयू वार्डमा एक महिलाले बच्चाको जन्म दिइन् र केही समयपछि नवजात शिशुको ज्यान गयो।

त्यसपछि महिलाका आफन्तहरूले आईसीयूमा तोडफोड शुरू गरे। त्यसक्रममा केही चिकित्सक र नर्सहरू पनि निशानामा परे।

ज्यान जोगाउन अस्पताल प्रशासनका मान्छे त्यहाँबाट भागे।

डा. माजका अनुसार उनी अस्पताल पुग्दा नूल उल हसनको अवस्था खराब पाइयो र तमाम कोशिशका बावजुद उनलाई बचाउन सकिएन।

डा. माजले भने, "यस्ता बिरामीको मृत्यु हुन सक्ने डर भइरहन्छ। फोक्सोले काम गर्न छाड्दा वा हृदयाघातले त्यस्ता बिरामीको ज्यान जाने गर्छ। तर पोस्टमार्टमपछि मात्रै त्यो भन्न सक्ने अवस्था हुन्छ।"

हुन त नूर उल हसनका आफन्तले पोस्टमार्टम गराउन अस्वीकार गरे।

नूर उल हसनको शल्यक्रिया कसरी भयो?

शल्यक्रिया र त्यसपछिको उपचार खर्च बेहोर्न सक्ने नूर उल हसनको हैसियत थिएन।

आफ्नो शरीरको वजनका कारण उनी विगत एक दशकयता ओछ्यानमै सीमित थिए। त्यस्तो अवस्था आउनुअघि उनले मालवाहक सवारीसाधन चलाउँथे।

डा. माजले नूर उल हसनको निःशुल्क शल्यक्रिया गरे। शालिमार अस्पतालमा उपचार खर्च बापतको दैनिक ७० देखि ८० हजार रुपैयाँ पनि उनैले बेहोरिरहेका थिए।

शल्यक्रियाअघि बीबीसीसँग कुरा गर्दै डा. माजले नूर उल हसनको गर्न लागिएको शल्यक्रियाबारे भने, "उनलाई गर्न लागिएको शल्यक्रियामा बिरामीको पेट ८० प्रतिशतसम्म सानो पारिन्छ। त्यसमा 'की-होल सर्जरी' हुन्छ, पेट काट्नु पर्दैन।"

शल्यक्रिया गरिएको करिब दुई वर्षपछि बिरामीको शरीरको वजन डेढ सयदेखि दुई सय किलोग्राम घट्ने अपेक्षा गरिएको उनले बताए।

यद्यपि डा. माजले त्यस्तो खालको शल्यक्रिया खासगरी युवाहरूमा गर्ने गरिएको बताएका थिए।

नूर उल हसन ५० वर्षभन्दा बढी उमेरको भएकाले उनको शल्यक्रिया पेचिलो थियो। पाकिस्तानमा त्यस्तो शल्यक्रिया गरिएको पहिलो घटना थियो।

शल्यक्रियापछिको अवस्था कस्तो थियो?

सोमवारको पत्रकार सम्मेलनमा डा. माजले बताए अनुसार शल्यक्रियापछि नूर उल हसनलाई आईसीयूमा भर्ना गरियो जहाँ उनलाई भेन्टिलेशनमा राखियो।

उनले भने, "हामी चाहन्थ्यौँ कि नूर उल हसनको फोक्सोलाई काम गर्न सजिलो होओस्। उनका बाँकी अङ्गले पनि पूर्ण रूपमा काम गरिहरेका थिए। मैले आफैँले हेर्दा आइतवारसम्म उनका सबै अङ्ग ठिक अवस्थामा थिए।"

डा. माजका अनुसार सोमवार दिउँसो भेन्टिलेशन हटाउन योजना थियो। तर त्यो योजना पूरा हुन नपाउँदै शिशुको मृत्युलाई लिएर अस्पतालमा तोडफोड शुरू भइसकेको थियो र त्यसैक्रममा नूर उल हसनको मृत्यु भएको खबर आयो।

नूर उल हसनका छोरा असलमले चिकित्सकहरूसँग आफ्नो परिवारको कुनै गुनासो नभएको बताए।

चिकित्सकहरूको प्रयासका बावजुद आफ्ना बुवा बाँच्न नसक्नु भनेको अल्लाहको इच्छा भएको मोहम्मद असलमको भनाइ छ।
बिबिसी

Last modified on 2019-07-13 14:22:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts