बैतडीमा कुपोषित बालबालिकाको संख्या बढ्दो 



Download our app to get more features

डडेल्धुरा, १५ साउन ।  बैतडीमा कुपोषित बालबालिकाको संख्या बढेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकमा कुपोषणको अवस्था बढ्दै गएको देखिएको हो । आव ०७३/७४ मा ११ हजार २ सय बालबालिका रहेकामा १ सय ७० मा कडा कुपोषण देखिएको थियो ।

०७४/७५ मा त्यो संख्या बढेर ११ हजार ३ सय २१ बालबालिका देखिएका थिए । तीमध्ये ४ सय ३३ बालबालिका कडा कुपोषणको जोखिममा रहेका स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन (हेल्थ असिस्टेन्ट) सन्तोष पाण्डेले बताएका छन् ।

आव ०७५/७६ मा ११ हजार ३ सय ६२ बालबालिकामा २ सय ७१ मा कडा कुपोषण देखिएको उनले बताएका छन् । यस्तै सबैभन्दा धेरै पाटन नगरपालिकामा कुपोषित बच्चा भेटिएका छन् । आव ०७५/७६ मा ६३ जनामा कुपोषण भएको पाइएको हो । त्यसपछि पुरचौडी नगरपालिकामा ६१ कुपोषित छन् । 

यस्तै मेलौली नगरपालिकामा ५८, शिवनाथ गाउँपालिकामा २९, पञ्चेश्वर गाउँपालिकामा १८ बालबालिका कुपोषित भेटिएका छन् । सुर्नया र दोगडाकेदार गाउँपालिकामा १३÷१३ जना, सिगास गाउँपालिकामा १०, डिलासैनी गाउँपालिकामा ६ बालबालिकामा कडा कुपोषण भेटिएको छ ।

दशरथचन्द नगरपालिकामा भने आव ०७५/७६ मा कसैमा पनि कडा कुपोषण भेटिएको छैनन् । ग्रामीण क्षेत्रका नागरिक बच्चाको खानपानमा ध्यान नर्पुयाउने, सानै उमेरमा बच्चा जन्माउने, गर्भवती हुँदा पोषिलो नखाने, सन्तुलित खानेकुरा आमा र बच्चालाई नखुवाउने, घरको भन्दा बजारको खानेकुरा बढी प्रयोगमा ल्याउने भएकाले बालबालिकाहरू कडा कुपोषणको जोखिममा परेका स्वास्थ्यकर्मीहरूको भनाइ छ । 

गरिबी पनि यसको मुख्य कारण रहेको जिल्ला अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताएका छन् । जिल्लाका बालबालिकामा कुपोषण बढेकोभन्दा पनि उपचारमा आउनेको संख्या बढेको स्वास्थ्य कार्यालय प्रमुख निशा जोशीले बताइन् । पहिले उपचारका ल्याउन नमान्ने गरेका अभिभावकहरू आजभोलि उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने भएकाले धेरै बालबालिका स्वास्थ्यको पहुँचमा पुगेका भन्दै उनले संख्या बढी देखिएको बताइन् ।

Last modified on 2019-07-31 16:30:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts