भक्तपुर क्यान्सर अस्पताल प्रकरणमा मुख्यमन्त्रीको चेतावनीः प्रदेश सरकार चुप बस्दैन



Download our app to get more features

काठमाडौं, ३१ भदौ । केही समययता भक्तपुर नगरपालिकाको हस्तक्षेपले लथालिंग हुने अवस्थामा पुगेको भक्तपुर क्यान्सर अस्पतालका बारेमा प्रदेश सरकारले मुख खोलेको छ । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालमा भइरहेका गतिविधिलाई आफुहरुले  नियालिरहेको भन्दै अवैध काम भइरहेकाले प्रदेश सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् । राजधानीमा सम्पन्न नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विधिविधानभन्दा बाहिर गई नगरपालिकाले गरेको हस्तक्षेप कानुनी राज्यको उपहास भएको बताए । कानूनतः विशिष्टिकृत अस्पतालहरुले संघीय सरकारले हेर्ने व्यवस्था रहेको भन्दै उनले नगरपालिकाले १५ शैयासम्मको अस्पतालमा मात्र नियमन गर्न पाउने व्यवस्था रहेको स्मरण गरे । मुख्यमन्त्री पौडेलले भने, 'प्रदेश सरकार कानुनको पक्षमा छ । भक्तपुर क्यान्सर अस्पतालको मामलामा पनि हामी ठोस कदम चाल्न सक्छौं, विधि र पद्धतिबाहिर जाने छुट कसैलाई पनि छैन ।' 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा गरेको हस्तक्षेप गैरकानुनी भएको बताए । मन्त्री यादवले उक्त अस्पतालको उचित व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट सबैखालको सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य करकोषमा रहेको पैसाबाट नेपाल अर्बुद रोग निवारण संस्थालाई सहयोग गर्नेपनि मन्त्री यादवले बताए । 

कार्यक्रममा प्रदेश ३ सरकारका समामुख सानुकुमार श्रेष्ठले क्यान्सरको रोकथाम र उपचारमा काम गरिरहेको अग्रणी संस्था भन्दै नेपाल अर्बुद रोग निवारण संस्थाको प्रशंसा गरे । 

गगन र महेशले भने नगरपालिकाको दादागिरी भयो 
कार्यक्रममा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका दुई प्रभावशाली सांसदले भक्तपुर नगरपालिकाले भ्रष्टाचा भएको आरोप लगाई अस्पतालमा गरेको हस्तक्षेपको विरोध गरेका छन् । भक्तपुरबाटै निर्वाचित भएका नेकपा सांसद महेश बस्नेतले अस्पतालमा भक्तपुर नगरपालिकाका मेयरले गुण्डागर्दीको शैलीमा हस्तक्षेप गरेको भन्दै प्रदेश र संघ सरकारले समेत चासो दिएर समस्या समाधान गर्न आग्रह गरे । भक्तपुर क्यान्सर अस्पताल सो क्षेत्रको गौरव भएको भन्दै निम्नमध्यम वर्गीय परिवारको उपचार थलोलाई जोगाउनपर्नेमा जोड दिए । 

काँग्रेस सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरको सचेतना, रोकथाम र उपचारका क्षेत्रमा क्रियाशिल अर्बुदरोग निवारण संस्थाले गर्ने भूमिकाले सरकारलाई समेत क्यान्सर न्यूनिकरणमा सहायता पुग्ने धारणा राखे । अस्पतालमा उत्पन्न गतिरोधलाई भने सांसद थापाले दादागिरी शैलीको संज्ञा दिए । 

वार्षिकोत्सव कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ईश्वरले संस्थाले गर्दै आएको काममा बाधा पुग्नुले दैनिक सयौं बिरामी समस्यामा पर्न थालेको बताए । १५ बेडबाट सुरु भएको संस्था १ सय ४२ बेड पुग्दासम्म संस्थाले क्यान्सर नियन्त्रणमा धेरै भूमिका खेलेको अध्यक्ष श्रेष्ठले बताए । संस्थाले नयाँ नयाँ प्रविधि भित्र्याएर सेवालाई थप विशिष्ट बनाउँदै जाँदा नगरपालिकाले सहयोगको साटो अवरोध जनाएको भन्दै गुनासो गरे । अदालतले पुरानै व्यवस्थापन समितिलाई वैधता दिँदा समेत आफुहरुलाई अस्पताल प्रवेश गर्न रोक लगाएको उनले बताए । 

संस्थाका महासचिव विमल कुमार होडाले नेपाल अर्बुद रोग निवारण संस्थाले विगत वर्षमा गरेको गतिविधिहरु माथि प्रकाश पारे । संस्थाले देशभर विभिन्न समयमा गरेको क्यान्सर परीक्षण तथा अभिमुखीकरण लगायत कार्यक्रमका बारेमा बताए । संस्थाले विभिन्न चिकित्सकलाई विदेश पठाएर योग्य बनाएको, देशका विभिन्न स्थानमा सेमिनार, वेभिनार तथा टेलिमेडिसिनमार्फत सेवा र सहजिकरण गरेको कार्यक्रममा जानकारी गराइयो । 

संस्थाको वार्षिकोत्सव कार्यक्रममा विभिन्न चिकित्सक, व्यक्तित्व तथा दातालाई सम्मान पनि गरिएको थियो । नेपाल अर्बुद रोग निवारण संस्था नेपालको अग्रणी क्यान्सर नियन्त्रण सम्बन्धी गैरसरकारी संस्था हो । यसले क्यान्सर रोकथामका विभिन्न कार्यक्रमका साथै उपचारात्मक तर्फ भक्तपुर क्यान्सर अस्पताल र सिरहामा लाहान क्यान्सर क्लिनिकका रुपमा आउटरिच क्लिनिक चलाइरहेको छ ।

तर, भक्तपुर क्यान्सर अस्पतालमा भने व्यवस्थापन भ्रष्ट भएको भन्दै भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेर नयाँ व्यवस्थापन समिति बनाएको छ । सो, कदम रोक्न सर्वोच्चले आदेश दिएपनि नगरपालिका पछाडी हटेको छैन । अर्बुदरोग निवारण संस्था र नगरपालिकाबीच द्वन्द्व सुरु हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या पुगेको छ । 

Last modified on 2019-09-18 09:58:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts