स्वास्थ्य मन्त्रीसमक्ष औषधि उद्योगीको गुनासै गुनासो, मन्त्री यादव भन्छन्ः गाह्रो छ



Download our app to get more features

काठमाडौं, ३० असोज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वदेशमै आत्मनिर्भर औषधिकौ पैठारीमा रोक लगाउने निर्णय कार्यान्वयन गर्न अफ्ठ्यारो रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रीको संयोजकत्वमा वर्षौंपछि बसेको औषधि परामर्श समितिको बैठकले पास गरेको केही औषधिको आयात रोक्ने र औषधिको वैज्ञानिक मूल्य तय गर्ने सम्बन्धी निर्णय कार्यान्वयन नभएको सन्दर्भमा मन्त्री यादवको यस्तो भनाइ आएको हो । बुधवार राजधानीमा नेपाल औषधि उत्पादक संघको साधारण सभा समापन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री यादवले नीति तथा ऐनहरु कार्यान्वयन हुन नसकेको भन्दै उल्टै आफै सम्मिलित सरकारको आलोचना गरे । मन्त्री यादवले भने, बनिसकेका नीति भइसकेको निर्णय पनि कार्यान्वयन गराउन सकिएको छैन । तर, उनले मूलतः भारतबाट आयात हुने केही औषधिमा रोक लगाउने औषधि परामर्श समितिको निर्णय किन मन्त्रिपरिषद्बाट पास हुनसकेन भन्ने जवाफ भने दिन सकेनन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले औषधिमा परनिर्भरतालाई कम गर्न र निर्यात समेत गर्न सकिने सम्भावना प्रमाणित भइसकेको भन्दै आउँदो ५ वर्षे योजना र त्यसपछिको १० वर्ष योजनामा औषधि उत्पादनलाई प्राथमिकतामा राखिने बताए ।

औषधि खरिदको प्रकृयालाई सार्वजनिक खरिद ऐनमा संशोधन गरेर स्वदेशी उद्योगबाट नै गुणस्तरीय औषधि किन्न आफुले प्रयत्न गर्ने मन्त्रिी यादवले बताए । कार्यक्रममा औषधि उद्योगीहरुले आफ्ना गुनासा मन्त्री यादव समक्ष राखेका थिए । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष एवं औषधि उद्योगी हरिभक्त शर्माले संसारमा कहीँ नभएको नियम नेपालमा लगाएर सरकारले औषधि उद्योगीलाई परेशान गरेको गुनासो गरे । औषधि उत्पादनका लागि ल्याइने कच्चापदार्थ सबै खोलेर जाँच गर्ने प्रणालीले उद्यमीहरुलाई समस्या भएको शर्माले बताए । उनले भने, विश्वका कुनै मुलुकमा यस्तो झन्झट छैन स्याम्प्ल्ङि हेरिन्छ । हाम्रोमा भने सबै सँधै खोल्नुपर्ने, संवेदनशिल सामान जाँच्ने खालको भन्सारको गुणस्तरीय सुविधा पनि छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले संविधानतः खुल्ला बजार अर्थतन्त्र अंगालेको राज्यले औषधिमा मूल्य नियन्त्रण गर्न खोज्नु हास्यास्पद भएको बताए । उनले भने, खुल्ला बजार भएपछि कुनै उद्योगीले मूल्य अचाक्ली लिन सक्दैन किनकी त्यो प्रतिस्पर्धाले निर्धारण गर्छ कसैले धेरै लिनै सक्दैन ।

औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले सरकारको नीति र काम ठीक फरक रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारको चालु आर्थिकवर्षको नीति तथा कार्यक्रमको स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने र आत्मनिर्भरता तर्फ उन्मुख हुने भन्ने बुँदा देखाउँदै दाहालले स्वास्थ्य मन्त्री यादव समक्ष प्रश्न गरे । भारत, बंगलादेश लगायत देशका सरकारले लिएको औषधि उत्पादन प्रवद्र्धनसम्बन्धी नीति देखाउँदै दाहालले नेपाल सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन नगरेको गुनासो गरे ।

२५ औं साधारणसभामा संघका नयाँ पदाधिकारीलाई स्वागत पनि गरिएको थियो । साधारण सभाले निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं टाइम फर्मास्युटिकलका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निवार्चित गरेको छ ।

Last modified on 2019-10-18 07:23:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts