वीरको वेदनाः सरकारले जाइकासँगको सम्झौता पालना नगर्दा नयाँ भवन चल्न समस्या 



Download our app to get more features

काठमाडौं, २६ कात्तिक । नेपाल सरकारले जापानसँग गरेको सम्झौता पालना नगर्दा वीर अस्पतालमा बनेको नयाँ भवनमा सेवा सञ्चालन गर्न समस्या भएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त स्वास्थ्य पूर्वाधारहरुको पुनः निर्माण कार्यक्रम अन्तर्गत नेपाल र जापान सरकारबीच भएको सम्झौता अनुरुप जाइकाको प्राविधिक र आर्थिक सहयोगमा करिब ८० करोड लागतमा बनेको भवनमा सेवा सञ्चालनमा ढिलाई भएको हो । जाइकाले तत्कालिन सम्झौता अनुरुप आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेपनि सरकारले उदासिनता देखाउँदा उक्त भवनबाट पूर्णरुपमा सेवा सुचारु हुन नसकेको हो । भवन निर्माण सकेर जाइकाले सरकारलाई हस्तान्तरण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत असारमा भव्यताका साथ भवन उद्घाटन गरेपनि सो भवनमा हालसम्म मिर्गौला डाइलासिस बाहेकका सेवा चल्न सकेको छैन । 

जाइकाले भवन निर्माणका साथै जेनेरेटर, पानी सप्लाई लगायत सिसियुलाई चाहिने मोनिटर, ग्यास्ट्रो युनिटलाई चाइने इण्डोस्कोपी, मिर्गौला डाइलासिस मेशिन लगायत सहायता गरेको छ । तर, सरकारले तत्कालिन सम्झौतामा भने अनुरुप आफ्नो भागमा परेको ५१ करोड बराबरको खर्च नगर्दा सो भवनमा सञ्चालन गर्ने भनिएका सेवा सञ्चालन हुन नसकेको हो । 

५१ करोडमा १ करोड निकासा, त्यो पनि फ्रिज
अस्पतालले सो भवनमा मिर्गौला, मुटु र पेटरोग सम्बन्धी वार्ड सञ्चालन गर्न लागेको छ । तर, सरकारले तय गरेको बजेट नदिँदा सेवा सञ्चालन गर्न समस्या भएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए । उनले भने, 'भवनमा अहिले डाइलासिस सेवा त सुरु गरेका छौं । तर, ग्यास्ट्रो र मुटुरोग विभाग चलाउन भने प्रविधि, उपकरण र जनशक्ति नभएर सकिएको छैन ।' 

सरकारले उक्त भवन निर्माणका लागि तय गरेको ५१ करोड बजेटमध्ये गत आर्थिकवर्षको अन्त्यतिर १ करोड १० लाख रुपैयाँ निकासा गरेको थियो । तर, समय अभावका कारण त्यो बजेट पनि खर्च गर्न नसकिएको निर्देशक सेन्चुरीले बताए । 'आर्थिकवर्षको अन्त्य तिर अर्थले निकासा गरेको थियो । तर, ठेक्का प्रकृया गर्दागर्दै समय सकिइहाल्यो ।' डा. सेन्चुरीले भने । 

तर, यो साल भने सो भवन सञ्चालनका लागि कुनै बजेट छुट्याइएको छैन । जाइकासँगको सहमतिमा ५१ करोड खर्च गर्ने भनिएपनि यो सालको बजेटमा भने उक्त शीर्षकमा बजेट छैन । बजेट नहुँदा सेवा सञ्चालन गर्न समस्या हुने भन्दै अस्पतालले स्वास्थ्य मन्त्रालयलाई भनेपछि मन्त्रालयले अहिले नियमित बजेटबाटै हुनसक्ने कामहरु गर्न अस्पताललाई भनेको छ । जस अनुरुप अस्पतालले बेडहरु खरिद गरेको छ । जुन जडान गर्ने काम चलिरहेको छ । अस्पताल प्रशासनले नयाँ भवनमा मुटुरोग विभाग चलाउन चाहिने क्याथ ल्यावका लागि पनि बजेट दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ । नयाँ भवन ९४ बेड क्षमताको रहेको छ । 

Last modified on 2019-11-15 14:00:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts