स्वास्थ्यमा समायोजनः स्थानीय तहले हाजिर गर्न नदिँदा कर्मचारीको भीड मन्त्रालयमा



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । हिजोआज स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा मानिसको आवतजावत धेरै भैसक्यो बढेको । कर्मचारी समायोजन अन्तर्गत विभिन्न स्थानमा खटाइएका कर्मचारीहरुले गुनासो लिएर आउने क्रम नघटेपछि आगन्तुकको भीड नघटेको हो ।

समायोजनमा असन्तुष्टि व्यक्त गर्दै गुनासो भरेका कर्मचारीहरुको गुनासो सम्बोधन नभएपछि मन्त्रालय धाउन बाध्य भएका हुन् । मन्त्रालयको समन्वय महाशाखाका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले दर्ता भएका ८ हजार गुनासो मध्ये करिब एक हजारको मात्र गुनासो सम्बोधन भएको बताए । उनले भने, 'अन्य करिब २ हजारको सम्बोधन गर्ने अवस्था भएपनि झण्डै ५ हजार कर्मचारीको गुनासो भने सम्बोधन गर्न सकिने अवस्था छैन ।' 

स्थानीय पालिकाले कर्मचारीलाई हाजिर गर्न दिएनन्
स्वास्थ्यका कर्मचारीको समायोजनमा भएका त्रुटिहरुको परिणाम कर्मचारीले भोग्नुपर्ने अवस्था आएको छ । कर्मचारी समायोजनका समयमा सामान्य प्रशासन मन्त्रालयले खटाएका ठाउँमा समस्या आएको मन्त्रालयले जनाएको छ । समायोजनका नाममा दरबन्दी भन्दा धेरै कर्मचारी शहरी क्षेत्रहरुमा थुप्रिएपछि तत् तत् पालिकाहरुले कर्मचारीलाई हाजिर गराउन मानेको छैन । कतिपय स्थानीय पालिकाले भने दरबन्दीभन्दा धेरै कर्मचारी भएको भन्दै तलब खुवाउने सुनिश्चिताता मन्त्रालयले दिएमा मात्र हाजिर गराउन सक्ने व्यहोराका चिठि पठाउन थालेका छन् । ललितपुर, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, चितवनजस्ता शहरी क्षेत्रमा पुगेका कर्मचारीलाई स्थानीय पालिकाले हाजिर गर्न नदिएको हो । यी सबै गुनासो बोकेर कर्मचारी राजधानी धाउने गरेका छन् । 

हेरौं नेपालगञ्ज उपमहानगरले पठाएको चिठी 

समायोजनमा असन्तुष्ट कर्मचारीहरु समस्या समाधान हुने आशमा दिनभर मन्त्रालयमा रुमल्लिरहेका भेटिन्छन् । तर, स्वास्थ्यका उच्च पदाधिकारहरु भने सामान्य प्रशासन मन्त्रालयले सेवा सञ्चालन गर्ने मन्त्रालयसँग समन्वय नगरी समायोजन गर्दा यस्ता समस्या निस्केको बताउँछन् । स्वास्थ्यमा रहेका २७ हजार ५ सय कर्मचारी मध्ये ८ हजारले समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् । 

Last modified on 2019-11-15 14:01:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts