अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर



Download our app to get more features

बीबीसी, २ असोज । रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ ।

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनी लिब्राले गत महिना उक्त विज्ञापन अस्ट्रेलियाली टेलिभिजनमा प्रसारण गरेको थियो । विज्ञापनमा रगत लागेको कट्टु र एउटी महिलाका खुट्टा देखाइएको थियो ।

दर्शकहरूले उक्त विज्ञापन अनुपयुक्त रहेको भन्दै ६ सय वटा उजुरी गरेका थिए । अस्ट्रेलियामा यो वर्ष कुनै विज्ञापनविरुद्ध परेको उजुरीको यो सर्वाधिक सङ्ख्या हो ।

तर त्यहाँको विज्ञापन उद्योग नियमन गर्ने निकायले ती उजुरी खारेज गर्दै विज्ञापनले दिन खोजेको सन्देशको प्रशंसा गरेको छ ।

भ्रम हटाउने उद्देश्य
एड स्ट्यान्डर्ड्सले उक्त अभियानले “समानतालाई प्रवर्धन गरेको र महिनावारीसँग जोडिएका भ्रमलाई चिरिरहेको” देखिएको बताएको छ ।

लिब्राको माउ कम्पनी एसेलियो केअरले महिनावारी हुँदा महिला तथा किशोरीहरूले खेप्ने गरेको लज्जाको अनुभूति र गलत विश्वासलाई उक्त विज्ञापनले सम्बोधन गरेको प्रतिक्रिया दिएको छ ।

उक्त विज्ञापनमा यी वाक्य पनि लेखिएका थिए, “महिनावारी सामान्य कुरा हो । महिनावारी भएको देखाउनु पनि त्यस्तै हुनुपर्छ ।”

तर उजुरीकर्ताहरूले विज्ञापनको प्रस्तुति “अपमानजनक र अनुपयुक्त” र “घिनलाग्दो” भएको तर्क गरेका थिए ।

त्यसको उत्तरमा अस्ट्रेलियाको नियमनकारी निकायले केही दर्शकहरूले शरीरबाट महिनावारीको बेला निस्कने पदार्थ हेर्न नचाहेको तर उक्त विज्ञापनले आचारसंहितालाई नमिचेको जनाएको छ ।

उक्त निकायले टीभी बढी हेरिने समयमा त्यस्तो विज्ञापन देखाइनु वा बालबालिकाका लागि उक्त विज्ञापन अनुपयुक्त भएको तर्कको खण्डन गरेको छ ।

आफ्नो प्रतिवेदनमा नियामकहरूले उक्त विज्ञापनमा कुनै पनि नकारात्मक शब्द वा चित्र नरहेको उल्लेख गरेका छन् ।

प्याडमा रगत देखाउन नीलो रङ्ग
त्यो विज्ञापनले रजस्वला हुने विषयमा लज्जित हुनुपर्ने वा रजस्वला भएका महिलालाई अन्य व्यक्तिभन्दा कम आँक्ने आशयको सन्देश नदिएको पनि नियमनकारी निकायको निष्कर्ष छ ।

एसेलिओ केअरले उक्त विज्ञापनको सम्बन्ध आफ्नो भगिनी कम्पनी एसीटीको ३द्ययियमल्यचmब िअभियानसँग भएको जनाएको छ ।

उक्त अभियानमा नीलो नभई रातो तरल पदार्थको दाग स्यानिटरी प्याडमा देखाइएको थियो ।

सन् २०१७ मा यूकेबाट आरम्भ भएको उक्त अभियान युरोप, अमेरिका र दक्षिण अफ्रिकासम्म फैलियो ।

त्यसको छ वर्षअघि अल्वेज नामक कम्पनीले पहिलो पटक महिनावारीमा प्रयोग गरिने प्याडमा रातो थोप्ला राखेर विज्ञापन बनाएको थियो ।

उक्त फर्मको विज्ञापन एजेन्सीमा प्रशिक्षार्थीका रूपमा काम गरिरहेका लिओ ब्राउनले त्यो उपाय सुझाएका थिए। उक्त अभियान सन् २०११ मा चलाइएको थियो ।
 

Last modified on 2019-09-20 07:35:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts