सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रमा सीआईबीको छापा



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ ।

त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआईबी टोलीले जानकारी दिएको छ ।

एसएलसीभन्दा माथिका सबै तहका प्रमाणपत्र नक्कली भएको र सोही कागजातका आधारमा प्रशासन प्रमुखको हैसियतमा पदोन्नति भई उपसचिवसरहको प्रशासन प्रमुख बनेका दोलखा फस्कुका बस्नेतका सम्बन्धमा यसअघि नै नेपाल समाचारपत्रलगायतका मिडियामा समाचार प्रकाशित भइसकेको थियो ।

सीआईबीको टोली केन्द्रमा छापा मार्न आएपछि उनीहरूको निजी नम्बर प्लेटको स्कर्पियो गाडीलाई केन्द्रको मूल प्रवेशद्वारमै रोक्न लगाएर आरोपित बस्नेत लुकेका र टोलीलाई रोक्न केन्द्रकी अर्की अधिकृत मीना ढकाल आफै गेटमा पुगेको समेत स्रोतले जानकारी दिएको छ ।

करिब आधा घण्टाको रस्साकस्सीपछि सीआईबीको टोलीले महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी भ्यान बोलाएपछि केन्द्रको मूल प्रवेशद्वार खोलिएको थिमी प्रहरी स्रोतले जनाएको छ ।

बस्नेतका प्रमाणपत्र नक्कली भएको प्रमाणका साथ सोही कार्यालयका कर्मचारीहरूले सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय, सार्क सचिवालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा निवेदन दिएका थिए ।

सीआईबीको टोलीले बस्नेतलाई जोगाउन ‘पावर’ प्रयोग गर्ने परराष्ट्र मन्त्रालयका एक सहसचिव र सार्क सचिवालयका कर्मचारीलाई पनि छानबिनको दायरामा ल्याउने टोलीले जानकारी दिएको छ।सीआईबी टोलीमा प्रहरी निरीक्षक वसन्त आचार्यसहित तीन सदस्य रहनुभएको थियो ।

 

(आजको नेपाल समाचारपत्रबाट)

Last modified on 2019-09-26 17:46:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts