जलनलाई जितेका हिमाल विक

What's This?

Download our app to get more features
Spark_health_home Birat Hospital

“जब मैले हिमाललाई पहिलो पल्ट भेटेँ, उसको अवस्था देखेर अत्यन्तै दुःख लागेको थियो । धेरै पिडा हुँदो हो जस्तो लाग्थ्यो । तर, उसमा कहिले पनि दुखेको, पिडा भएको भाव देखिएन । उसको मनोवल साँच्चै नै उसको नाम हिमाल जत्तिकै उँचो छ” – रविन नेपाली 

आफ्नो जन्मथलोमा दैनिक रोजीरोटीको जोरजाम हुन नसकेपछि तुर्माखाद गाउँपालिका, अछामका जयबहादुर विक बाध्य भएर श्रीमती र चारवर्षे छोरा साथै लिई भारततिर लाग्छन् । कहिल्यै गाउँबाट ननिस्केको उनलाई कता जाने, के गर्ने केही पत्तो थिएन । आपूm जस्तै जीउनका लागि जोहो गर्ने आश लिई परदेश जाने लर्कोको पछि लाग्छन् । उनको पाईला सिमला, भारत पुगेर रोकिन्छ । गाउँतिरकै एकजनाले हिमाञ्चल प्रदेश, सिमलाको पोटखाई भन्ने स्थानमा रहेको एक स्याउ बगानमा काम लगाईदिन्छ । एकमहिना पछि जयबहादुरका भाई, बुहारी र तिनका सानो छोरा पनि जोडिन आईपुग्छन् । यसरी ६ जनाको परिवारको जीवन यात्रा स्याउ फार्मले दिएको काठको स्यानो एककोठे टहरामा घिचिक–घिचिक अगाडि बढ्न थाल्छ ।

vayoda

bp_ad

मिहिनेती जयबहादुरको परिवार सिमलाको हावापानीसँग मिसिन थाल्छ । बालक हिमाल विक पनि स्याउबारीमा रमाउन थालेको थियो । परिवारले ‘भरे के खाने, भोली के खाने’ को स्थितिबाट केही मुक्ति पाएको थियो । जीवनले केही गति लिन थालेको थियो । तर, स्याउ बगानमा काम गर्न थालेको ३ महिनापश्चात्, २०७४ साल माघ २१ गते उनको परिवारमा ठुलो बज्रपात आईप¥यो जसले परिवारलाई छिन्नभिन्न पारिदियो । 

बेलुकिको खाना खाईवरी परिवारका सबैजना कुराकानीमा मस्त थिए । केटाकेटी सुतिसकेका थिए । अचानक कोठाको विद्युत सर्किट सर्ट भएर काठले बारेको कोठामा आगो बल्न थाल्छ । हाते ट्य्राकटरमा राख्नको लागि कोठामा राखिएको २ ग्यालन पेट्रोल पड्केर आगोको मुस्लोले चर्को रुप लियो र केहि मिनेटमा सिंगो कोठा नै स्वाहा भयो । जयबहादुरको हातको केही भागमा आगोले भेट्यो । श्रीमतीको शरीरको आधाभन्दा बढी भाग जल्यो । उनको भाई पनि दौडन भ्याएकोले खुट्टामा थोरै जल्यो भने बुहारीको शरीरको धेरै भाग जल्यो । छोरा हिमालको दुबै हात र अनुहार पोलिएर अनुहारको स्वरुप नै बदलियो । भाईबुहारीको दुईवर्षे एक्लो छोरोको पनि शरीरको धेरै भाग जल्यो । 

दुर्घटनापश्चात् सबैलाई स्थानीय तहको पोटखाई अस्पतालमा उपचारको लागि लगियो । तर, त्यहाँ नहुने भएपछि हिमालको बाबु र कालालाई थप उपचारको लागि इन्दीरा गान्धी मेडिकल कलेज लगियो भने बाँकि चारजना, जसलाई बढी जलन भएको थियो, लाई चण्डीगढ अस्पताल पु¥याइयो । अस्पताल पु¥याईएको केहि दिनमा जयबहादुरको बुहारी र तिनको बच्चालाई मृत घोषित गरियो । जयबहादुरको श्रीमतीलाई पनि बचाउन सकिएन । घटनाको १९ दिनमा उनको देहान्त भयो । हिमाललाई भने लगभग २ महिना सोही अस्पतालमा उपचार गरियो । अब परिवारमा हिमाल, बाबु जयबहादुर र काका मात्र बाँकि रहे । साथमा पैसा छैन । वरपर आफ्ना कोही छैनन् । स्याउ फार्मका मालिकले पनि विस्तारै चासो देखाउन छाडे । अस्पतालले पनि घटना घटेको दुई महिनामा उपचार पुरा नभईकनै ‘डिस्चार्ज’ गरिदियो । 
जसोतसो जयबहादुरले हिमाललाई लिएर नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल पुगे । जयबहादुरको त हातको केही भाग मात्र जलेकोले छिट्टै हिँडडुल गर्न सक्ने भए । तर, हिमालको अवस्था गम्भिर थियो । उपचारकै क्रममा घटनाबारे एक सामाजिक संस्थाका समाजसेवी सम्राट बस्नेतले थाहा पाए र उनको सहयोगमा हिमाललाई उपचारको लागि काठमाडौ, साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल ल्याइयो । र, उनको उपचार त्यहिँ भयो । स्थितिमा धेरै सुधार आएको छ । 

उपचारको मुल पाटो सकिएपछि हिमालको बसाईको व्यवस्थापनको समस्या देखियो । जलनको मारमा परेको बाबु बेरोजगार छ । काठमाडौमा चिनजानका कोही छैनन् । यसै क्रममा समाजसेवी सम्राट बस्नेतको सहयोगमा एसओएस बालग्राम जोरपाटीले हिमाललाई आफ्नो संरक्षकत्वमा लियो । यसरी २०७५ साल जेष्ठ १२ गतेदेखि एसओएस बालग्राममा हिमालले ‘परिवार’ पाएको छ, हाल सोहि संस्थाकि ‘आमा’ सरस्वती महर्जनको रेखदेखमा अन्य ७ जना बालकसँगै हिमाल ‘मस्त’ रमाइरहेका छन् । 

पंक्तिकारसँगको पहिलो भेटमा नै ‘यहाँको बसाई कस्तो लागिरहेको छ’ भन्ने प्रश्नको जवाफमा हिमाल मुस्कानसहित ‘मस्त छ’ भन्छन् । हुनपनि उनको तौरतरिका लोभलाग्दो पाराको ‘मस्त’ थियो, मानौ उनलाई केही भएकै छैन । बालग्रामकि आमा सरस्वती महर्जनका अनुसार उ सबै साथिहरूको प्रिय छ । जोसँग पनि तुरुन्त घुलमिल हुन्छ । नकारात्मकता उसमा शेष पनि छैन । लेखाई पढाईमा रुचि राख्छ  । सुरुसुरुमा खाने सवालमा केही कठीनाई थियो, तर अहिले उ सहज छ । सबैभन्दा महत्वपूर्ण कुरा उसका कुनै पनि साथी लड्दा, दुःखेर रुँदा वा अन्य केही समस्या पर्दा सहयोगको लागि सबैभन्दा अगाडि उही हुन्छ । उसलाई ६ वर्षको बालक भन्नै सुहाउँदैन । उ परिपक्व छ । साथिहरूको अभिभावक जस्तै लाग्दछ । 

जलनका कारण हिमालको दुबै हातमा असर परेको छ । औँलाहरू सिंकुडिएका छन् । अनुहारको संरचना बदलिएको छ । तर, हालसम्मको उपचारपश्चात् उ आफ्नो नित्यकर्म स्वयं गर्न सक्छ । खाना खान, दिशापिसाब गर्न, हातमुख धुन, स–साना भाँडा माझ्न, किताब मिलाउन, लुगा लगाउन र हिँडडुल गर्न कुनै समस्या छैन । नुहाउनका लागि भने अरुले थोरै मदत गर्नुपर्ने हुन्छ । एसओएस बालग्राम जोरपाटीका योजना निर्देशक रविन नेपाली भन्नुहुन्छ, “दैनिक क्रियाकलापमा त केही समस्या छैन । उ अहिले सानै भएकोले सबै ठीकै छ । तर, अलिक ठुलो भएपछि जब उसमा शौन्दर्य चेत आउँछ, त्यतिबेला आफ्नो मुहारको अवस्थामा आएको परिवर्तनका कारण उसमा केही पिडाभाव पैदा हुन्छ कि भन्ने चिन्ता छ । हैनभने, अन्य कुरामा केही चिन्ता छैन ।” सबैभन्दा महत्वपूर्ण कुरा उसमा सहनशिलता अत्यन्तै धेरै छ । रविन नेपाली थप्नु हुन्छ, “जब मैले उसलाई पहिलो पल्ट भेटेँ, उसको अवस्था देखेर अत्यन्तै दुःख लागेको थियो । धेरै पिडा हुँदो हो जस्तो लाग्थ्यो । तर, उसमा कहिले पनि दुखेको, पिडा भएको भाव देखिएन । उसको मनोवल साँच्चै नै उसको नाम हिमाल जत्तिकै उँचो छ ।” 

हिमालको उपचारमा संलग्न सुषमा कोईराला मेमोरियल अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ सर्जन डा. जसवन शाक्य पनि हिमालको मनोभाव देखेर चकित छन् । ‘यो केटाको स्मरण शक्ति अत्यन्तै प्रवल छ । राम्रो वातावरण पायो भने केटाले भविष्यमा धेरै प्रगति गर्न सक्छ’ उनी भन्छन् । हुनपनि यस्तै लाग्छ जलनको समस्यालाई हिमालले सहजै जितेको छ । यसमा एसओएस बालग्राम जोरपाटीको महत्वपूर्ण भूमिका छ । हिमाललाई अहिले सहज स्थितिसम्म आईपुग्न सहयोग गर्ने सबै नै प्रशंसनिय छन् । 

कमल फुयाल, पिएचडी, जलन विषयमा अनुसन्धान र तालिम गर्ने बेलायतस्थित संस्था, Interburns, , सँग आवद्ध हुनुहुन्छ । 

सुष्मा कोइराला मेमोरियल अस्पतालद्वारा प्रकाशित जलन त्रैमासिकबाट साभार 

 

Last modified on 2019-09-26 20:07:18

samyog_advertisement Kathmandu Cancer Center

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts