स्वस्थ दशैं, स्वस्थ शरीर



Download our app to get more features

हिन्दुहरूको महान चाड बडा दशैं हामी सबैको घर दैलोमा पुगिसकेको छ । धार्मिक र पौराणिक दृष्टिकोणले असत्यमाथि सत्यको जीत भएको उत्सवको रुपमा यो चाडलाई मनाइने गरिएको छ । टाढा रहेका परिवार र आफन्तजनसँगको भेटघाट, खुसी र हर्षोल्लासका साथ मनाइने यस चाडले हाम्रो दैनिकी, जीवनशैली र स्वास्थ्यमा पनि विशेष महत्व राख्ने गर्छ । यीनै दशैंसँग जोडिएका स्वास्थ्य सम्बन्धी केही पाटाहरूलाई केलाउने जमर्को यस लेखमा गरिएको छ । 

दशैँमा गरिने खानपान र रमाइलोले हाम्रो स्वास्थ्यलाई कतै नराम्रो असर र गरिरहेको छैन भन्ने विषयमा हामी सबै सजग हुन जरुरी छ । केही सामान्य साबधानी अपनाउँदा आफ्नै स्वास्थ्यलाई फाइदा पुग्छ र हामीलाई प्राणघातक रोगबाट बच्न सहयोग पु¥याउँछ भने त्यसको निम्ती स्वस्थ दशैँ किन नमनाउने ।

मासु र दशैँ
दशैँ भन्ने बित्तिकै प्रायको भान्छामा मासुका धेरै परिकार पाक्ने गर्छ । दशैँको सुरुवातदेखि अन्त्यसम्म नै हामी मासुको विभिन्न परिकार खाने गर्छाैं । मासु खादै गर्दा हामी कस्तो मासु खादैछौं, कसरी खादैछौँ र त्यसले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा ख्याल पु¥याउँन जरुरी छ । 

♦  पौस्टिक तत्व 
मासुमा प्रोटिनको मात्रा असाध्यै धेरै हुन्छ । साथसाथै बोसोयुक्त मासुमा फ्याट पनि उत्तिकै हुन्छ । फोक्सो, कलेजो आदिमा भिटामीन ए, बी, डी र के पनि पाइन्छ ।  मासुमा जिंक,  तामा लगायतका खनिज पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ । यसरी एउटा दृष्टिकोणबाट हेर्दा मासु पौष्टिक तत्वहरूले भरिपूर्ण आहार हो । तर, यसको मात्रा सन्तुलित भएन भने स्वास्थ्यमा गम्भीरु असर पार्न पनि सक्छ । 

♦ स्वस्थ र सफा मासु
स्वस्थ र निरोगी पशुपंछी र सफा ठाउँमा बध गरिएको मासु सेवन गर्नुपर्छ । अस्वस्थ पशुपंछीको मासु सेवनले विभिन्न रोग सर्न सक्छ । साथै बध गरिने स्थान, मासु काट्ने हातहतियार पनि सफा र किटाणुमुक्त हुनुपर्छ । 
फोहोर र किटाणुबाट संक्रमित मासुले फुड पोइजनिंग र झाडापखाला गराउन सक्छ ।

♦ पकाउने तरीका 
सकेसम्म मासु पकाउँदा मसला, चिल्लो र नुनको कम प्रयोग गर्नुपर्छ । मासुमा बोसोको मात्रा धेरै हुने हुनाले थप चिल्लो हाम्रो स्वास्थलाई हानीकारक हुन जान्छ । पोलेको मासु धेरै मात्रामा सेवन गर्नाले पेट र आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ । साथै मासु पूर्ण रुपमा पाकेको हुनुपर्छ र सकेसम्म काँचो मासुको परिकारहरू सेवन गर्न हुँदैन । एकपटक पकाएको मासुलाई धेरै दिनसम्म राख्न हुँदैन र भण्डारण गर्दा झिंगा आदिबाट बचाउन छोपेर राख्नुपर्छ ।

♦ यस्ता बिरामीले विचार पुराउनुहोस् 
उच्च रक्तचाप, मधुमेय, मुटुको समस्या भएका बिरामीहरूले दशैंैमा मासु सेवन गर्दा विशेष ध्यान पु¥याउनु पर्छ । अत्यधिक बोसोयुक्त मासु सेवन गर्नाले शरीरमा फ्याट्टी एसिड र कोलेस्टेरोलको  मात्रा बढ्न गई यो रक्तनलीहरूमा जम्मा हुने गर्छ । अन्त्यमा रक्तनलीलाई बन्द गरी मुटु, मस्तिष्क आदिमा रक्तसंचार नै बन्द गरिदिन्छ र हर्ट एट्याक, स्ट्रोक हुन्छ । 

♦ माछा फाइदाजनक
माछामा बोसोको मात्रा कम हुनुको साथै प्रोटिन, भिटामिन, फोसफोरस, आयोडिन, सेलेनियम, तथा हाम्रो शरीरलाई फाइदा पु¥याउने ओमेगा–३, फ्याट्टी एसिड पनि पाइन्छ । त्यसैले स्वाथ्यको हिसाबले माछालाई मासुको तुलनामा बढी लाभादायि मानिन्छ ।

♦ हरियो सागपात र फलफुल 
हरियो सागपात र फलफूलमा प्रशस्त मात्रा फाइबर पाइने हुनाले यसले रगतमा कोलेस्टेरोलको मात्रा घटाउन मद्दत पुराउँछ । साथै फाइबर आन्द्रामा नटुक्रिने, रगतमा नशोषिने तर, खानाको परिमाण भने बढाउने भएकाले यसले आन्द्राबाट रगतमा शोषिने कार्बोहाइड्रेट र फ्याटको मात्रा कम गर्छ र तौललाई सन्तुलन गर्न मद्दत गर्छ । यसले बोसोयुक्त मासु सेवनबाट हुने हानीलाई केही हदसम्म भए पनि न्यून गर्छ । दिनमा कम्तिमा एकपटक सागपात र फलफुल खानु स्वास्थ्यको दृष्टिकोणले अति नै लाभादायिक हुन्छ । हरियो सागपात, बोडी, सिमी, मटरकोसा, ब्रोकाउलीलगायतका तरकारी र स्याउ, केरा, काँक्रो, मुला आदि फाइबरका मुख्य श्रोत हुन् ।

♦ मध्यपान र धुम्रपान 
दशैँमा गरिने अधिक रक्सी सेवनले कलेजो, मुटु, मृगौला आदि अंगमा असर पु¥याउँछ । मधुमेह, उच्च रक्तचाप, मुटु तथा कलेजोको समस्या भएका बिरामीले रक्सी सेवन गर्नाले रोगले च्याप्न सक्छ । खानपानमा हेलचेक्र्र्याइँ तथा अत्यधिक मदिरा र धुम्रपानले स्वास्थ्यलाई झन बिग्रन मद्दत पु¥याउँछ । त्यसैले मद्यपान र धुम्रपानबाट टाढै बस्नुपर्छ ।

♦ शारीरिक व्यायाम 
दशैँमा उच्च क्यालोरीयुक्त खाना खाइने हुदा त्यसै अनुरुप व्यायाम र शारीरिक कसरत गर्न भुल्नु हुँदैन । एक ग्राम बोसो अर्थात फ्याटले नौ क्यालोरी बराबरको शक्ति दिन्छ । हामीले खाने क्यालोरी सबै शारीरिक क्रियाकलापमा उपयोग भएन भने त्यो बोसोको रुपमा सन्चित हुन जान्छ र त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न जान्छ । त्यसैले हरेक दिन कम्तिमा ३० देखि ४५ मिनेट हल्का पसिना आउने गरी कसरत गर्नुपर्छ । त्यसको निम्ती छिटोछिटो हिड्ने, नाच्ने, पौडी, ब्याटमिन्टन लगायतका खेल खेल्ने, बगँैचामा काम गर्ने सकिन्छ ।

अन्त्यमा,
हामी आफ्नो स्वास्थ्यको निम्ती सबैभन्दा ठूलो डाक्टर स्वयं आफै नै हौँ । माथि उल्लेखित सामान्य विषयहरूलाई हामीले पालना गर्न सक्यौं भने दशैं लगत्तै देखिने हर्ट एट्याक र रगतमा सुगरको मात्रा बढ्ने रोग – मधुमेय, पक्षघात आदिबाट बच्न सकिन्छ । त्यसैले, दशैंलाई रोग निम्त्याउने चाडको रुपमा विकसित नगरौं ।

हामीलाई थाहा भएका यीनै साना तिना कुराहरूमा विशेष ख्याल गरिदिने र आफ्नो स्वास्थ्यमा हेलचेक्र्याई नगर्ने हो भने अवश्य नै हाम्रो दशैंैं लगायतका चाडबाड वास्तवमै खुसीयाली र हर्षोल्लासका साथ वित्न सक्छ । स्वस्थ र खुसीयाली दशैँ मनाऔं । बडा दशैँ २०७६ को सबैमा मंगलमय शुभकामना ।

Last modified on 2019-10-04 11:41:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts