भरतपुर अस्पतालको मेसुको जिम्मेवारी डा. तिवारीलाई

चितवन, ८ मंसिर । चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत डा. जगन्नाथ तिवारीले अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी पाएका छन् ।
सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा डा. तिवारीलाई नियुक्त गरेको हो ।
दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सि विभागका विभागीय प्रमुखको रूपमा समेत लामो समयदेखि कार्यरत छन् ।
यसअघि डा. तिवारीसँग अर्गाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् जिल्ला स्वास्थ्य प्रमुख बनेर ६ वर्ष काम गरेको अनुभव छ । डेढ दशक लामो समयदेखि सरकारी सेवामा कार्यरत उनी यसअघि अन्य विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
यसअघि अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले बुधवार पदबाट राजीनामा दिएका थिए । उनले अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेण्टको रूपमा २ महिना मात्र सेवा गरे । गत भदौं २४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।