बाजुराको विकट गाउँ अन्द्राडीमा पहिलोपटक स्वास्थ्य सेवा



Download our app to get more features

बाजुरा, ११ मंसिर । बाजुराको गौमुल गाउँपालिका–१ स्थित अन्द्राडी गाउँमा पहिलोपटक स्वास्थ्य सेवा पुगेको छ ।  

सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाले स्वास्थ्य चौकीसँगै अहेब, अनमी, कार्यालय सहयोगी र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरेको उनले बताए । 

यस्तै छिट्टै प्रसुति सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

४४ परिवार बसोबास गर्दै आएको अन्द्राडी गाउँ राज्यका हरेक सेवा सुविधाबाट बञ्चित हुँदै आएको छ ।  

बाजुराको दुर्गम गाउँका रुपमा रहेको यो गाँउका बासिन्दाले यसअघि स्वास्थ्य सेवा लिन एक दिन लगाएर दहकोट स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता रहेको थियो । अब भने गाउँमै औषधि तथा उपचार पाउँदा खुसी भएको स्थानीय पदमकला बोहोराले बताइन् । 

बाजुराका दुर्गम गाँउ गुम्बा र लाम्पाटा अझै स्वास्थ्य सेवाबाट बिमुख रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts