सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्न जग्गा दान



Download our app to get more features

बाबियाचौर (म्याग्दी), २ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारका बासिन्दाले स्वास्थ्य चौकीलाई रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन् । 

साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि स्थानीयवासीले दान र आर्थिक सहयोग जुटाएर जग्गाको व्यवस्था गरेका हुन् । 

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठगराज बरुवालले बुबा अमरबहादुरको नाममा एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

यसैगरी स्थानीयस्तरमा रु आठ लाख जुटाएर दुई रोपनी नौ आना जग्गा खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताए । घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको चार रोपनी एक आना क्षेत्रफल जग्गामा नयाँ भवन निर्माणको काम शुरु भएको छ । 

सो जग्गाको मूल्य स्थानीय बजारभाउअनुसार रु १० लाखभन्दा बढी पर्ने जनाइएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको छ । निर्माण कम्पनीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । पन्ध्र श्यया क्षमता बराबरको दुईतले भवन निर्माणका लागि रु एक करोड ५६ लाखको इस्टिमेट गरिएको छ । विसं २०७५ जेठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल घारस्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । 

बिरामीको स्वास्थ्य परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट गर्नुपर्दा समस्या भएको छ । आवश्यक पूर्वाधारको अभावमा सेवा प्रवाहमा कठिनाइ भएको छ । 

यसैबीच घार स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको छ । काठमाडाँै मोडल अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिन सेवा सञ्चालनका लागि पूर्वाधार जुटाउन पहल थालिएको व्यवस्थापन समितिका अध्यक्ष बरुवालले बताए । 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts