‘मनमोहन मेमोरियल मेडिकल कलेज कम्युनिष्ट पार्टीले खोल्न लागेको होइन’ 



Download our app to get more features

काठमाडौं, १ साउन । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल व्यवस्थापन समितिले प्राडा गोविन्द केसीको आन्दोलनका कारण हस्पिटलका बारेमा अनेकौ भ्रम उत्पन्न भएको आरोप लगाएको छ । रिपोटर्स क्लबमा आज अयोजित कार्यक्रममा हस्पिटल व्यवस्थापन समितिले डा. केसीको आन्दोलनका कारण उत्पन्न भ्रमको निष्पक्ष छानबिनको माग पनि गरेको छ । 

कार्यक्रममा मनमोहन हस्पिटल व्यवस्थापन समितिले सो संस्था नेपाल कम्युनिष्ट पार्टीले खोल्न खोजिएको नभएको प्रष्ट पारेको छ । कार्यक्रममा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो संस्था नेपाल कम्युनिष्ट पार्टीले खोल्न लागेको संस्था होइन । कुनै पनि देशमा ऐतिहासिक व्यक्तिहरुको नाममा सरकारले नै शहरको नाम, विमानस्थलको नाम, स्कुल क्याम्पस, खेलकुद मैदनको नाम, आदि राखेर सम्मान गर्ने चलन छ र नेपालमा विशेश्वर प्रसाद कोइरालाको नाममा केहि संस्था सरकारले स्थापना गरेको छ, तर पुष्पलाल श्रेष्ठ, सुवर्ण सम्शेर जबरा, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, गजेन्द्रनारायण सिंह, महेन्द्रनारायण निधि लगायत व्यक्तिका नाममा सरकारले खासै केहि गरेको छैन ।’

हस्पिटल व्यवस्थापन समितिले मनमोहन मेडिकल कलेज कुनै निजी कम्पनीले स्थापना गर्न नखोजेको पनि प्रष्टाएको छ । यो संस्था सबै पक्षका विभिन्न तह र तप्काका करिब २६ सय सदस्यहरुले एक÷एक लाख जम्मा गरी सहकारीको माध्यमबाट पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको योगदानलाई चीरस्थाई गर्न खोजिएको जनाएको छ । साथै कलेज खोल्नु अघि नेपाल सरकार शिक्षा मन्त्रालयबाट ०६४ सालनमा मनशाय पत्र लिइ करिब ३ अर्ब लागतमा नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण मापदण्ड पूरा गरी पाँच वर्ष देखि अस्पताल सञ्चालनमा रहेको छ । 

तर, डा. केसीको पटक पटकको आन्दोलनका कारण शिक्षा मन्त्रालयले ०७० मै दिनु पर्ने कलेज सञ्चालन सम्बन्धन नपाएको हस्पिटल व्यवस्थापन समितिको गुनासो छ । यो बीचमा व्यवस्थापन समितिले करिब १ अर्ब रुपैयाँ बैंकको ब्याज तिरको र त्यसको सबै जिम्मा अब नेपाल सरकारले लिनु पर्ने भनाइ छ । कार्यक्रममा मनमोहन हस्पिटलका उपाध्यक्ष डा. वंशीधर मिश्र, महासचिव डा. रामकुमार अधिकारी, हस्पिटलका निर्देशक प्राडा गुणकुमार श्रेष्ठ, डा. मनोरदिन सैयद लगायतको उपस्थिती थियो । 

 

Last modified on 2018-07-17 17:24:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts