न्याम्सको उपकुलपतिमा गिरी र शाहको चर्चा



Download our app to get more features

काठमाडौं, २ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीहरुको कार्यावधि यहि साउन २० गते सकिँदैछ । अस्पतालका निर्देशकको भने करिब अझै ३ महिना अझै बाँकी रहेको छ । अन्य पदाधिकारीको कार्यावधि ४ वर्षको हुन्छ भने निर्देशकको २ वर्षको मात्रै रहेको छ ।

आगामी २० गते देखि उपकुलपति लगायतका पदाधिकारीको चारवर्षे कार्यकाल सकिने भएको हो । कार्यकाल सकिन १८ दिन बाँकी रहँदा न्याम्सको नेतृत्व लिन चाहनेहरुको भीड देखिएको छ । उपकुलपति बन्नका लागि चिकित्सक शक्ति केन्द्र धाउन थालेका छन् ।

प्रधानमन्त्री कार्यालयको विश्वासिलो स्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि ६ जना चिकित्सकको नाम चर्चामा रहेको छ । उनीहरु ६ जना नै आफु उपकुलपति बन्ने भन्दै माथिल्लो नेतृत्वको लविङमा जुटेका छन् ।

हालका उपकुलपति प्रा.डा गणेश गुरुङले समेत अझै आफु एक कार्यकाल उपकुलपति बन्ने मनसाय देखाएका छन् । उनि पुनः उपकुलपतिमा दोहोरीने दाउमा शक्तिकेन्द्र धाइरहेको स्रोतको स्रोतको दावी छ ।

श्रीकृष्ण कि डी एन

न्याम्सको उपकुलपतिमा ६ जनाको नाम अग्रपङतीमा रहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार न्याम्सको उपकुलपतिमा डा. श्रीकृष्ण गिरी र डा. डी एन शाहको नाम बढि चर्चामा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डा. डिएन शाहको नाम उपकुलपतिका लागि लिएका छन् । तर, स्वास्थ्य मन्त्री यादवले लिएको नाम उपकुलपति हुने सम्भावना न्युन मात्रै रहेको छ ।

न्याम्स भन्दा बाहिरको व्यक्तिलाई पदाधिकारी नबनाउने नियम अनुसार उनी हुने सम्भावना न्युन रहेको हो । वीर अस्पतालका एक चिकित्सकले भने, ‘न्याम्स भन्दा बाहिरको व्यक्ति उपकुलपति वा कुनै पदमा आए त्यसको खुलेर प्रतिवाद हुने छ ।’

विगतमा पनि बाहिरको व्यक्तिलाई पदाधिकारी बनाउँदा कर्मचारीले कालोमोसो दलेका थिए । डा. श्रीकृष्ण गिरीलाई उपकुलपति बनाउन न्याम्स भित्र दवाव परेको छ । स्वच्छ र इमान्दार छवि भएका भनिएका गिरीले न्याम्सको उपकुलपति बन्ने दाउमा यसअघि नै बीमा बोर्डको निर्देशक पद छाडेका थिए ।

यसअघि उनी रजिस्ट्रार भईसकेका छन् । प्रधानमन्त्री कार्यलय स्रोतको दावीलाई मान्ने हो भने न्याम्स भित्रबाट गिरी र बाहिरको व्यक्ति बनाएको खण्डमा शाह हुने सम्भावना बढि देखिएको छ ।

उपकुलपतिको चर्चामा जो छन्

न्याम्सको उपकुलपति बन्ने दौडमा ६ जना चिकित्सक रहेका छन् । हालका उपकुलपति प्रा.डा गणेश गुरुङ, डा. श्रीकृष्ण गिरी, डा.जागेश्वर गौतम, डा. डी एन शाह, डा.सिताराम चौधरी, डा.अनिल मिश्र रहेका दौडमा छन् ।

यदि शाह नभएको खण्डमा स्वास्थ्य मन्त्रीकै भागमा उपकुलपति बनाउन परे सिताराम चौधरी र मिश्र मध्ये एक हुने सम्भावना पनि त्यतिकै देखिएको छ । स्रोत भन्छ, ‘उपकुलपतिका लागि आजै देखी करोडौंको चलखेल सुरु हुन थालेको छ ।’

टिचिङको निर्देशकमा वाई पी सिंहको चर्चा

शिक्षण अस्पताल महाराजगन्जको कार्यकारी निर्देशकमा प्रा.डा. वाईपी सिंहको सम्भावना देखिएको छ । डा. केसीको निकट उनलाई निर्देशक बनाउँदा केसीले समेत स्वीकार गर्ने बुझिएको छ ।

सिंहलाई निर्देशक बनाउन चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश प्रसाद अग्रवाल पनि लागेका छन् । डा. सिंह अनशनरत डा. केसीको पक्षबाट अहिले बनेको वार्ता टोलीमा पनि छन् । प्रा.डा दिपक प्रकाश महराको कार्यकाल सकिएसँगै त्यहाँ पनि निर्देशक पद हत्याउन केही चिकित्सक शक्तिकेन्द्र धाउन थालेका छन् ।

Last modified on 2018-07-19 07:39:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts