सरकारी उपचार कोषबाट बागलुङका १९४ जना लाभान्वित



Download our app to get more features

बागलुङ, ४ साउन । सरकारले बनाएको विपन्न नागरिक औषधि उपचार कोषबाट आर्थिक वर्ष ०७४/०७५ मा बागलुङका  एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् । स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

उपचार खर्चमध्ये बढीमा एक लाखसम्म सो कोषबाट रकम दिने व्यवस्था छ । क्यान्सर, मिर्गौलामा असर, मुटुरोग, पार्किन्सन/अल्जाइमर्स र स्पाइनल तथा हेड इन्जुरीपीडितहरुले मात्र कोषबाट सहायता पाउँछन् । आव ०७४/७५ मा आर्थिक सहायता पाउनेमा सबै भन्दा बढी क्यान्सरबाट पीडित १०२ जना छन् । मुटुरोगी ५० जना, मिर्गौला सम्बन्धी रोग लागेका ३२ जना, स्पाइनल इन्जुरीका ६ र हेड इन्जुरी भएका चार जनाले कोषबाट लाभ लिएका हुन् । कोषको निर्देशिकामा उल्लेख भएका र मन्त्रस्तीय निर्णयबाट तोकिएका अस्पतालबाट मात्रै सो सेवा प्रदान हुने गरेको छ । 

कोषबाट आर्थिक सहायता लिन बिरामीलाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्लास्तरीय सिफारिस समितिले सम्बन्धित अस्पतालमा सिफारिस गर्नुपर्ने र ती अस्पतालले गरेको रोग पहिचानको प्रमाणपत्र, वडाले दिने विपन्नताको सिफारिस, बिरामी या आफन्तको हस्तलिखित निवेदन, नागरिकताको प्रमाणपत्र पेश गरेको आधारमा समितिले सिफारिस गर्ने गरेको छ । 
उपचारमा लाग्ने खर्चमध्ये बढीमा एक लाखसम्मको उपचार निःशुल्क हुने समितिका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताए ।  उनका अनुसार निःशुल्क उपचार गरेको रकम स्वास्थ्य मन्त्रालयले अस्पताललाई शोधभर्ना गर्ने गरेको छ । 

मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने बिरामीलाई भने दुई लाखसम्म आर्थिक सहायता उपलब्ध गराइदै आएको छ । मिर्गौला प्रत्योरापण गरेका बिरामीलाई औषधिबापतको उपचार खर्च भनेर छुट्टै  एक लाख दिने व्यवस्था छ । ‘आर्थिक अभावमा उपचारबाट वञ्चित व्यक्तिलाई कोषले ठूलो राहात मिलेको छ,’ प्रशासक तिवारीले भने, ‘कोषको प्रचारप्रसारले सेवा लिनेको संख्या वर्षेनी बढ्दो छ ।’ उनका अनुसार कोषबाट गत आवमा जिल्लाका विपन्न नागरिकलाई दुई करोड भन्दा बढी आर्थिक सहायता उपलब्ध भएको छ । कोषबाट आउने रकमले जटिल रोगमा सबै उपचार सम्भव नभएपछि राज्यले विपन्न नागरिकको उपचारमा ठूलो खर्च गरेको छ ।

सरकारले तोकेका अस्पतालमा मात्रै विपन्न नागरिक कोषबाट आर्थिक सहायता लिन सकिन्छ । क्यान्सरका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका अस्पताल तोकिएको छ । यस्तै मिर्गौला रोगको उपचारका लागि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, मुटुरोगको लागि वीर अस्पताल, सहित गंगालाल हृदयरोग केन्द्रलगायत अन्य रोगका लागि पनि विभिन्न अस्पताल तोकिएका छन् । 
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts