नेता विदेशमा, चिकित्सक गर्छन स्वदेशमै उपचार, अधिकांशलाई प्रेसर र ढाडकै समस्या 



Download our app to get more features

काठमाडौं ९ साउन । बिरामीको स्वास्थ्य उपचारमा तल्लिन चिकित्सकहरु आफै बिरामी छन् । तर, उनिहरु स्वदेशकै चिकित्सकहरुसंग उपचार गराउँदै आएका छन् । नेपालमा उपचार नै सम्भव नभएको अवस्थामा मात्रै उनिहरु बिदेश जाने गर्छन । आफ्नै सहपाठीहरु माझ चिकित्सकहरले उपचार गराउँदै आएका छन् । सामान्य देखि ठुला रोगको उपचार पनि चिकित्सकहरु स्वदेशमा गराउँछन् । उनिहरु भन्छन, नेपालका चिकित्सक गुणस्तरीय र विश्वासिला छन्, त्यसैले स्वदेशमा उपचार गराउँछौं ।

कुन डाक्टरलाई के समस्या छ ?

डा. जागेश्वर गौतम 
स्त्री तथा प्रसुतिरोग विशेषज्ञ, थापाथली 

मलाई ब्लड प्रेसरको समस्या छ । प्रेसरका कारण मैले ५ बर्ष देखि निरन्तर औषधि सेवन गरिरहेको छु । कहिलेकाँही निकै समस्या बनाउँछ । प्रेसर बाहेक कुनै पनि रोग अहिले सम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी पौडेललाई नियमीत स्वास्थ्य परिक्षण गराउँदै आएको  छु । 

डा रमेश सिंह 
अर्थोपेडिक, नेपाल मेडिकल कलेज 
विगत तीन वर्ष देखि मलाई सुगर र प्रेसर छ । नियमीत औषधि सेवन गरिरहेको छु । हरेक ६–६ महिनामा स्वास्थ्य परिक्षण गराउँछु । यस बाहेक अरु कुनै पनि रोग लागेको छैन । नेपाल मेडिकल कलेजका डा. प्रमोद क्षेत्री र युएन पाठकलाई  नियमीत स्वास्थ्य परिक्षण गराउँछु । नेपाल भन्दा अन्त गएर स्वास्थ्य जाँच गराएको छैन । नेपालको चिकित्सकको जति विश्वास लाग्छ विदेशका चिकित्सकको विश्वास त्यति मात्रामा छैन । 


डा. ढुण्डिराज पौडेल 
नाक, कान, घाटी रोग विशेषज्ञ, वीर अस्पताल 
२०५६ साल देखि मलाई ब्लड प्रेसरको समस्याले सताएको छ । मेरो परिवारमा पनि प्रेसरको समस्या भएकाले त्यसको प्रभाव मलाई परेको हो । प्रेसर भएको जानकारी पाए देखि नियमीत औषधि सेवन गरिरहेको छु । विभागीय डाक्टरहरुबाटै हरेक वर्ष स्वास्थ्य परिक्षण गराउँछु । 

डा. लोचन कार्की 
बरिष्ठ फिजिसियन, वीर अस्पताल 
अहिले सम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन जसले औषधि खानु परोस । नियमीत बिरामीको स्वास्थ्य उपचारमा खटिएका कारण ढाड दुख्ने समस्या भने छ । ढाड र गर्धन दुख्छ तर, औषधि सेवन गर्नुपरेको छैन । आफै फिजिसियन भएकाले स्वास्थ्य परिक्षण गराएर रिपोर्ट हेर्छु । पछिल्लो समय ब्लड प्रेसर बड्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउँछु । 

डा. मान बहादुर केसी 
बरिष्ठ, मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर 
मलाई स्वास्थ्यमा कुनै समस्या छैन । गाउँमा जन्मेको खेलेका कारणले पनि होला अलिहे सम्म स्वास्थ्यमा समस्या देखिएर औषधि खाएको छैन । घर परिवारमा कसैलाई रोग छैन । मुटुरोग विशेषज्ञ भएका नाताले पनि प्रत्येक वर्ष मुटु सम्बन्धी सम्पुर्ण जाँच गराउँछु । कुर्सिमा नियमीत बसेका कारण र अप्रेशनमा उभिनु परेकाले जोर्नी दुख्ने समस्या छ । मैले शिक्षण अस्पताल महाराजगञ्जका अर्थोपेडिक डाक्टर दिनेश काफ्लेलाई नियमीत स्वास्थ्य जाँच गराउँदै आएको छु । 

डा. भोला रिजाल
बरिष्ठ, स्त्री रोग विशेषज्ञ, ओम अस्पताल 
नियमीत स्वास्थ्य परिक्षणका बेला मुटुमा समस्या देखिए पछि मैले तत्काल उपचार गर्ने निर्णय लिए । नेपालमा सक्षम चिकित्सक र उपकरण भएका कारण मेरो उपचार मुटुरोग विशेषज्ञ डा. भरत रावल, डा. लव जोशी र डा. यादव भट्टले गरे । अहिले मुटुमा कुनै समस्या छैन । मेरो ढाड दुख्ने समस्या छ । यसका लागि पनि डा. बसन्त देवकोटा र डा. गौरवराज ढकालले हेरेका छन् । अहिले नियमीत स्वास्थ्य परिक्षण ओम अस्पतालमा डा. चन्द्रमणी पौडेलले गर्छन । 

डा. गोविन्द केसी
अर्थोपेडिक, टिचिङ हस्पिटल 
मेरो स्वास्थ्यमा ठुलो समस्या छैन । समस्या हुदो हो त, म अनशन बस्न सक्ने अवस्थामा हुँदिन थे । स्वास्थ्य जाँच समय समयमा गरिरहन्छु । धेरै कुर्सिमा बसेका कारण सामान्यतया ढाँड दुख्ने समस्या र ग्यास्ट्रीकको समस्या छ । समस्या भएको खण्डमा सामान्य नागरिकले झै अस्पतालमा जो चिकित्सकको ड्युटी छ उसैलाई चेकअप गराउँछु । अनशनका समयमा भने डा. दिव्यासिंह लगायतको टोलीले स्वास्थ्य जाँच गर्दै आएका छन् । चिकित्सक खोजेर उपचार गराउँनु पर्ने अवस्था भने, अनशन भन्दा अरु समयमा आएको छैन । 

प्रा. डा जगदीश अग्रवाल
डिन, आईओएम, टिचिङ हस्पिटल
मेरो ढाड दुख्ने समस्या छ । तर, हाल केही कम भएको छ । आज सम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । आफै चिकित्सक भएको हिसावले सामान्य तथा जाँच आफैबाट हुन्छ । फरक विधाको स्वास्थ्य जाँच गर्नुपरेको खण्डमा साथिहरुलाई देखाउँछु । विशेषत मैले हाडजोर्नी सम्बन्धी चिकित्सकलाई देखाउँदै आएको छु । शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीलाई देखाउँछु । 

डा. सरोज प्रसाद ओझा
मानसिक रोग विशेषज्ञ, टिचिङ हस्पिटल

मलाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचाप भएको लामो समय भएको छ । म नियमीत औषधि सेवन गर्दै आएको छु । मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा कार्यरत डा. रत्नमणी गजुरेल, डा. ओम मुर्ती, अनील डा. यादव भट्ट र डा. दिवाकर शर्मा संग नियमीत स्वास्थ्य जाँच गराउँछु  । उच्च रक्तचाप बाहेक कुनै स्वास्थ्य समस्या देखिएको छैन । 

डा. भरत कुमार यादव 
फिजिसियन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 
मलाई ब्लड प्रेसरको समस्या छ, त्यस बाहेक अरु कुनै पनि समस्या देखिएको छैन । म अरु भन्दा भिन्न छु । मेरो स्वास्थ्य परिक्षण कहिले गराउँने भनेर एकिन नै हुँदैन । आफु फिट छु त्यसैले दुई तीन वर्षमा एक पटक चेक गराउँछु । मलाई पाँच वर्ष अगाडीदेखि नै प्रेसर देखिएको छ । नियमीत औषधि भने खाने गरेको छु । नेपालमै राम्रा र सक्षम चिकित्सक भएका कारण स्वास्थ्य उपचारका नाममा विदेश जानुपरेको छैन । पाटन अस्पतालमा कार्यरत फिजिसियन डा. आशिष श्रेष्ठसँग आवश्यक परे स्वास्थ्य जाँच गराउँछु । दिनभर फ्रेस बन्नका लागि अस्पताल हाता भित्र बिहान भर्निङ वाक गर्छु । 

डा. प्रेमराज ज्ञवाली
यूरोलोजिष्ट, टिचिङ हस्पिटल
दुई वर्ष अघि म बिहान मर्निङवाकमा निस्किएको थिए । स्वास्थ्यमा कुनै समस्या थिएन । दिउँसो स्वास्थ्य जाँच गर्ने उदेश्यले आफ्नै अस्पताल (शिक्षण अस्पताल महाराजगञ्ज) गए । स्वास्थ्य परिक्षण गर्दा मुटुमा समस्या देखियो । अस्पतालकै चिकित्सकले अप्रेशन गरेर स्टेन्ट हालेका छन् । मलाई सुगर, प्रेसरको समेत समस्या छ । दुई वर्ष देखि निरन्तर औषधि सेवन गरेको छु । मेरो स्वास्थ्य परिक्षण डा. रत्नमणी गजुरेल, डा. ज्योती भट्टराई, डा. यादव भट्टले गर्दै आएका छन् । उनिहरुको स्वास्थ्य परिक्षण भने मैले गर्दै आएको छु । नेपालमा राम्रा चिकित्सक र उपकरण भएकाले विदेश जादिन । 

डा. केदार नसिंह केसी 
छातिरोग विशेषज्ञ, (रिटायर)

मेरो पारिवारीक रोगका रुपमा देखिएको भनेको ढाँड दुख्ने समस्या हो । त्यस बाहेक अहिले सम्म कुनै समस्या देखिएको छैन । खसिको मासु बढी खाएको खण्डमा युरिएसीड बढ्छ । आफै केयर गर्छु । संसारका भन्दा कम चिकित्सक नेपालमा छैनन, त्यसैले गर्दा म नेपालकै चिकित्सकलाई प्रत्येक ६ महिनामा स्वास्थ्य जाँच गराउँछु । विदेश गएर उपचार गर्दा ठुलो मान्छे भईदैन । मेरो स्वास्थ्य परिक्षण डा. मानबहादुर केसी, डा. राजीवराज भण्डारी र यादव देव भट्टसंग गराउँदै आएको छु । 

डा. अनिल भट्टराई 
मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर 

मलाई अहिले सम्म कुनै समस्या देखिएको छैन । सुगर, प्रेसर सबै ठिक छ । हरेक ६–६ महिनामा स्वास्थ्य परिक्षण गराउँछु । आफै चिकित्सक भएका कारण रिपोर्ट अरुलाई देखाउनु पर्दैन । अरुलाई देखाउँन कै लागि त त्यस्तो रोग नै देखिएको छैन । 

Last modified on 2018-07-25 20:16:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts