स्तनपान सप्ताह 

‘स्तनपान’ नवजात शिशुको अधिकार हो 



Download our app to get more features

आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । सन् १९९० मा विश्व स्वास्थ्य संगठन र युनिसेफको नीति निर्माणका क्रममा विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरियो । जीवनको लागि स्तनपान नारासहित यस वर्षपनि यो दिवस नेपालसहित विश्वभर मनाइदै छ ।

नेपालका विभिन्न अस्पताल, स्वास्थ कार्यालय, जनस्वास्थ कार्यालयमा आजदेखि साउन साउन २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइने भएको छ । स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन यो सप्ताह मनाउन लागिएको हो ।

स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन कार्यक्रम आयोजना गरेको स्वास्थ विभाग तथा स्वास्थ्य, शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ ।

सन्तुलित आहारको कमीले बालबालिकामा हुने कुपोषण रोक्न सुनौला हजार दिन अन्तर्गत पर्ने आमाहरूलाई स्तनपान बारे ज्ञान दिन यस सप्ताहले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । स्तनपान नवजात शिशुको लागि एकमात्र सर्वोत्तम आहार हो र स्तनपान नवजात शिशुको पहिलो खोप पनि हो ।

यसले शिशुलाई पोषण दिने मात्र नभई उसको शारीरिक, मानसिक वृद्धिमा पनि विशेष भूमिका खेल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मेपछिको पहिलो एक घण्टामै स्तनपान गराउनु सबै भन्दा उपर्युक्त समय मानिन्छ । किनकी यो समयमा शिशु जागरुक हुनुका साथै यति बेलै आउने बिगौती दुधमा अत्यधिक पौष्टिक तत्व हुन्छ ।

जन्मनासाथ स्तनपान गराउँदा आमाको स्तनमा अझ धेरै दुध उत्पादन हुन्छ । शिशु जन्मेलगत्तै विभिन्न कारणले शिशुको तापक्रम घटेर हुने निमोनिया जस्ता रोगको सम्भावना पनि न्यून हुन्छ । आमाले तत्काल स्तनपान गराए आमा र शिशुको छालाको स्पर्शले शिशुको तापक्रममा सन्तुलन कायम गर्छ ।

आमाले सुत्केरी अवस्थाको पहिलो घण्टादेखि नै स्तनपान गराए आमाको पाठेघरबाट हुने रक्तश्राब पनि कम हुने अध्ययनहरूले देखाएको छ । 

नेपालमा स्तनपानको अवस्था

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले हालै सम्पन्न गरेको सर्वेक्षण अनुसार ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नै गराउँदैनन् । सन् २०१६ को सरकारी तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउँछन् । शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या भने ५५ प्रतिशत छ ।

बच्चा जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउने महिला ७९ दशमलब ६ प्रतिशत, २ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलब २ प्रतिशत, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलब ९ प्रतिशत, ६ देखि ८ महिनासम्म स्तनपान गराउने ६ प्रतिशत रहेका छन् । 

यस्ता छन् स्तनपानका उपयुक्त तरीका

  1. विश्व स्वास्थ्य संगठनको स्तनपान गराउने केही तरीका बारे सुझाब दिएको छ । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनु पर्छ ।  
  2. शिशु जन्मेदेखि ६ महिनाको नहूँदासम्म आमाको दूधमात्र खुवाउनुपर्छ ।  
  3. शिशु ६ महिनाको हुँदादेखि दुई वर्षसम्म अन्य खानाको साथमा आमाको दूध पनि अनिवार्य खुवाउनुपर्छ ।
  4. विभिन्न सामाजिक परम्परा, संस्कारले गर्दा पनि नेपालका कतिपय समाजमा शिशु जन्मनेसाथ आमाको बिगौती दुध नखुवाउने चलन छ । आमाको बिगौती दुधमा बच्चालाई आवश्यक पर्ने प्राकृतिक प्रतिरक्षाका तत्वहरू हुने भए पनि जनचेतनाको कमीले कतिपय आमाले बिगौती दुध चुसाउँदैनन् ।
  5. सन् २०१० मा अमेरिकी अन्तरराष्ट्रिय विकास संस्था (USAId) ले गरेको एक अध्ययन अनुसार नेपालमा औसत ३० महिनासम्म आमाहरूले स्तनपान गराउँछन् । छोरीलाई भन्दा छोरालाई बढी समय स्तनपान गराउने गरेको उक्त अध्ययनले देखाएको छ ।

  
स्तनपान गराउँदा आमालाई के फाईदाः
स्तनपान नै आमा र बच्चाको सुमधुर सम्बन्ध स्थापित गराउने प्राकृतिक माध्यम हो । जसबाट बच्चा र आमा दुवैले माया, स्नेह साटासाट गर्छन । साथै स्तनपानले आमाको स्वास्थमा निम्न फाइदा हुने अध्ययनहरूले देखाएको छ । पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत गर्छ । स्तनपानले आमाको महिनावारी सन्तुलन गराउँछ । स्तनपानले प्रसूति अवस्थामा भएको रक्तश्रावलाई कम गर्छ । 

स्तनपानले डिम्बाशयमा हुने क्यान्सरको सम्भावना कम गर्छ । स्तनपान गराउँदा शिशुले आमाको स्नेह र न्यानोपनको महसुश गर्छ, जसले गर्दा बच्चा र आमाको सम्बन्ध प्रगाढ बनाउँछ ।  स्तनपानले आमालाई प्राकृतिक परिवार नियोजनको काम गर्छ । शिशु जन्मेको ६ महिनासम्म नियमित स्तनपान गराउने हो भने आमाको लागि प्राकृतिक परिवार नियोजनको काम गर्छ ।

स्तनपानबाट बच्चालाई हुने फाईदा  

  • स्तनपान नवजात शिशुको अधिकार हो ।
  • यसले शिशुलाई अमृतको काम गर्छ ।
  • भनिन्छ बच्चाको पहिलो खोप नै बिगौती दुध हो । जसबाट बच्चाले प्राकृतिक प्रतिरक्षाआर्जन गर्छ । स्तनपानले निम्न कुरामा सहयोग गर्छ ।
  • स्तनपानले बच्चालाई विभिन्न रोगबाट बचाउँछ ।
  • स्तनपान गराउँदा बच्चालाई जलबियोजन हुने सम्भावना न्यून हुन्छ र झाडापखालाबाट पनि बचाउँछ ।
  • स्तनपानबाटै शिशुले ५ महिनासम्म चाहिने सबै प्रकारको पौष्टिक तत्व प्राप्त गर्छ ।
  • स्तनपान शिशुको शारीरिक र मानसिक बिकासको लागि एक महत्वपूर्ण तत्व हो  ।
  • बच्चाको दाँतको विकासका साथै अन्य शरीरिक विकासको लागि स्तनपान महत्वपुर्ण छ ।
  • बिगौति दुधले शिशुको रोग प्रतिरोधात्मक शक्ति बढ्छ । 

यसरी बढाउन सकिन्छ स्तनपानको दर 

यसैले नवजात शिशुलाई स्तनपान गराउने संख्यामा उलेख्य बृदी गर्नु पर्ने अहिले को लागि  महत्वपुर्ण छ । अशिक्षा, चेतनाको कमी, सामाजिक चलनका कारण पनि विश्व स्वास्थ्य संगठनले तय गरेका स्तनपान सम्बन्धि सूचकांकहरूमा नेपालले सोचे जस्तो प्रगति गर्न सकेको छैन ।

साथै आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण ऐन २०४९ ) ले तय गरेका नीति नियमहरूको प्रभावकारी कार्यान्वयन नभएको कारण पनि स्तनपानको दरमा उलेख्य प्रगति नभएको अनुमान गर्न सकिन्छ । साथै कार्य क्षेत्रमा स्तनपान कक्ष, सुत्केरी बिदामा वृद्धी र स्तनपानमा घरपरिवारको प्रेरणादायी भूमिकाले पनि स्तनपान गराउने आमाको संख्या वृद्धि गर्न सकिन्छ ।

लक्ष्मण भट्ट, तथ्यांक ब्यवस्थापन तथा समन्वय अधिकृत एमडीएम (फ्रान्स)

Last modified on 2018-08-01 10:00:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts