विश्व स्तनपान सप्ताह

बच्चा निरोगी राख्न नियमित स्तनपान कति आवश्यक ?



Download our app to get more features

भनिन्छ, स्तनपान अमृतसमान हो । वास्तवमा स्तनपान अमृतसमान नै हो । स्तनपानमा नवजात शिशुलाई ६ महिनासम्म आवश्यक सबै पोषण उपलब्ध हुन्छ । यसर्थ स्तनपान बाहेक शिशुलाई केही खुवाउनु पर्दैन । ६ महिनाको उमेर पूरा भएपछि मात्र थप आहारको व्यवस्था गर्नुपर्छ । जन्मेको १ घण्टाभित्र स्तनपान शुरु गरी ६ महिनासम्म स्तनपानमात्र गराएको छ भने शिशु स्वस्थ र निरोगी हुन्छ । उसको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । स्तनपान गरेको शिशु बौद्धिक रुपले पनि धेरै चलाख र तेजिलो हुन्छ । यतिमात्र होइन भविष्यमा गएर पनि उच्चरक्तचाप, क्यान्सर, मधुमेह जस्ता रोग लाग्ने सम्भावना पनि कम हुन्छ । 

स्तनपान, न त पैसा तिरेर किन्नुपर्ने, न त राति उठेर बनाउने झन्झट, न त संक्रमण हुने डर नै । जतिबेला चाहियो उतिबेला खुवाउन सकिने । यतिमात्र होइन स्तनपान गराउने आमा पनि उत्तिकै स्वस्थ र निरोगी हुन्छन् । गर्भावस्थामा वृद्धि भएको तौल स्तनपान गराएमा घट्छ जसले गर्दा आमा र बच्चा दुवै स्वस्थ र सुन्दर हुन्छन् । जन्मेको एक घण्टा (सकेसम्म छिटो) स्तनपान गराएमा पाठेघरबाट सालनाल छिटो बाहिर आउने र पाठेघर छिटो खुम्चिने हुन्छ । र, रक्तश्राव हुनबाट पनि जोगाउँछ । यस्तै स्तनपान गराउने आमालाई भविष्यमा मधुमेह, उच्चरक्तचाप र स्तन क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोग लाग्ने सम्भावना न्यून हुन्छ । यसर्थ स्तनपान अत्यन्तै महत्वपूर्ण छ । 

नेपालमा परम्परादेखिनै स्तनपान गराउने प्रचलन रहेको पाइन्छ । करिब ९८ प्रतिशत आमाले स्तनपान गराउने गरेको भएपनि अवस्था सन्तोषजनक भने छैन । नेपालमा दैनिक सरदर ७ लाख नवजात शिशुले जन्म लिन्छन् । सन् २०११ को सरकारी तथ्यांक अनुसार प्रति एकहजार शिशुमा ३३ जना शिशुको जन्मेको २८ दिनभित्र मृत्यु हुन्छ भने ४६ जनाले आफ्नो पहिलो जन्मदिन मनाउन पाउँदैनन् । त्यस्तै ५४ जनाले आफ्नो पाँचौ जन्मदिन अगावै मृत्युवरण गर्दछन् । यसैगरी नेपालमा ६ महिनादेखि ५९ महिनाको कूल बालबालिको ४६ प्रतिशतमा रक्तअल्पता छ भने ५ वर्षमुनीको कूल बालबालिकाको २९ प्रतिशतको कम तौल भएको पाइएको छ ।  

नेपालमा नवजात शिशु तथा बालमृत्युको कारणहरुमा कुपोषण, झाडापखाला, निमोनिया, संक्रमण, कम तौलको बच्चा जन्मनु आदी मुख्य छन् । जुन कारणबाट शिशु तथा बालबालिकालाई हामीले चाहेमा बचाउन सक्छौं । शिशु तथा बाल मृत्युदरबाट जोगाउने उपायहरु मध्ये स्तनपान महत्वपूर्ण उपाय हो । यदि शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराएमा, शिशु ६ महिना भएपछि उपयुक्त थप आहारको साथै २ वर्षसम्म स्तनपान पनि गराएमा नवजात शिशु तथा बाल मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिन्छ । विभिन्न अनुसन्धानले देखाइसकेको छ की झाडापखाला, निमोनिया जस्ता संक्रमण स्तनपान नगरेको (बोतलबाट कृत्रिम दूध खुवाएको) बालबालिकालाई भन्दा ३–५ गुणा बढी हुने गर्छ । 

शिशु जन्मेपछि पहिला आउने पहेँलो बाक्लो दूध (बिगौती दूध) सँग शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ । यो नै शिशुको पहिलो खोप हो । जन्मदासाथै अन्य कुनैपनि खानेकुरा नखुवाई शिशुलाई १ घण्टा भित्र स्तनपान (बिगौती दूधसहित) गराएमा मात्र १९ देखि २२ प्रतिशत नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ भन्ने तथ्य विश्वमा भएका विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ । तर नेपालमा यसरी एक घण्टाभित्र स्तनपान गराउनेको संख्या जम्मा ६६.४ प्रतिशत मात्र छ । त्यसैगरी ६ महिनासम्म स्तनपान मात्र गराउने आमाहरुको संख्या करिव ७० प्रतिशत छ भने स्तनपान गराउने सरदर समयावधी ४.२ महिना छ । करिव ७० प्रतिशत बालबालिकाको ६–९ महिनामा थप आहार शुरु गर्ने गरेको थप तथ्य पनि सरकारी निकायले सार्वजानिक गरिसकेको छ ।  

स्तनपान आमाले गराउने भएपनि सफल स्तनपानको लागि परिवार, समाज र राज्यको सहयोग र दायित्व अपरिहार्य छ । यसको लागि स्तनपान सम्बन्धि नीति नियमको तर्जुमा र कार्यान्वयन उत्तिकै जरुरी छ । आमालाई स्तनपान गराउने वातावरणको सिर्जना गर्नुपर्दछ । यसो भएमा मात्र सहिरुपमा सफल स्तनपान हुनसक्छ । सफल स्तनपानबाट स्वस्थ र निरोगी भएका शिशु भोलि गएर स्वस्थ बालक, यूवा हुँदै स्वस्थ आमा र बाबुमा परिणत हुन्छन् । त्यसपछि मात्र स्वस्थ समाजको निर्माणमा टेवा पुग्छ ।  

यसका लागि काममा जाने आमाहरुको लागि ६ महिनासम्म सुत्केरी बिदाको व्यवस्था अनिवार्य गर्नुका साथै नवजात शिशुका आमाहरु भएको कार्यस्थलमा दूध खुवाउन आवश्यक व्यवस्थापन गर्न जरुरी देखिन्छ । तर नेपालमा हेर्ने हो भने यस्तो पाइँदैन । सुत्केरी बिदा सरकारी कार्यालयमा ६० दिनमात्र दिने गरेको छ भने गैरसरकारी तथा निजी क्षेत्रमा त्यो पनि छैन । एउटी आमाले शिशुको जन्म दिनु उनको आफ्नो र परिवारका लागि मात्र होइन राज्यको लागि पनि हो । यसको मनन हाम्रो देशमा भएको पाइन्न । जुन अति नै महत्वपूर्ण छ ।   

 

पाण्डे स्तनपान प्रवद्र्धन विशेषज्ञ पनि हुन् ।

Last modified on 2018-08-02 11:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts