न्याम्सको पदाधिकारी नियुक्ति: निमित्तको जिम्मा डा. शर्मालाई !



Download our app to get more features

काठमाडौं, २१ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पदाधिकारी नियुक्तिमा सबै पक्षलाई समेट्न चिकित्सकहरुले आग्रह गरेका छन् । वर्तमान पदाधिकारीको चारवर्षे कार्यकाल सकिए पछि चिकित्सकहरुले विगतमा जस्तै सबै पक्षलाई समेटेर पदाधिकारी नियुक्ति गर्न सरकारलाई आग्रह गरेका छन् ।

न्याम्सका उपकुलपति प्रा.डा गणेश गुरुङ चारवर्षे कार्यकाल आजबाट सकिएको छ । त्यस्तै अन्य पदाधिकारीको कार्यकाल आगामी बिहीवारबाट सकिँदैछ । नेकपा एमालेको कोटाबाट नियुक्ति भएका उपकुलपति प्रा. डा. गुरुङले सबै पक्षलाई मिलाएर लगेकाे दावी गरेका थिए ।

अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेत पनि याे टिम पदाधिकारीले सबै पक्षलाई समेटेर लान लगेकाे दावी गर्छन् । निर्देशक बस्नेत भने कांग्रेसको कोटाबाट परेका हुन् ।

निर्देशकको दुईवर्षे कार्यकाल भने अझै करिब तीन महिना बाँकी रहेको छ । उपकुलपतिको कार्यकाल सकिएसँगै न्याम्सको जिम्मेवारी सम्हाल्न एक दर्जन चिकित्सकहरु दौडमा रहेका छन् ।

निमित्त उपकुलपति कसलाई

न्याम्सका सबै पदाधिकारीको कार्यकाल सकिएपछि निमित्त उपकुलपति कसले पाउने भन्नेमा चर्चा सुरु भएको छ । रेक्टर, रजिस्ट्रार, डीनको बिहीवार कार्यकाल सकिने भएपछि न्याम्सको कार्यकारिणी परिषदमा प्रोफेसर डा. सरोज शर्मामात्र बाँकी रहने छ ।

उनको कार्यकाल करिब दुई वर्ष बाँकी रहेको छ । एकजना मात्रै कार्यकारिणी सदस्य रहेका कारण उनले न्याम्सको निमित्त उपकुलपति पाउनुपर्छ भन्ने आवाज वीरमा सुन्न थालिएकाे छ।

नियमत निमित्त उपकुलपतिको जिम्मा कार्यकारिणी सदस्यले पाउने प्रावधान रहेको छ । डा. शर्मा २०७३ माघमा न्याम्सको कार्यकारिणी सदस्य पदमा नियुक्ति भएका हुन् ।

समझदारीले वीर परिवर्तन

प्रा.डा गणेश गुरुङ २०७१ साउन २३मा गते चार बर्षका लागि नियुक्त भएका थिए । त्यस बेला सरकारले नियुक्ति गर्दा राजनीतिक भागबन्डा मिलाएका कारण हाल वीरमा केही परिवर्तन भएको छ ।

विगतमा पदाधिकारी भागबन्डा नमिल्दा न्याम्समा दिनहु जसो बन्द हड्ताल हुँदै आएको थियो । 'चार वर्ष अघि पदाधिकारी नेतृत्वमा आउँदा न्याम्स १३ करोड घाटामा थियो, त्यस्तै ८६ करोड बेरुजु थियो ।

अहिले न्याम्स फाईदामा गएको छ।' उपकुलपति गुरुङले भने । कांग्रेस, एमाले र माओवादीको भागबन्दा मिलाएर पदाधिकारी नियुक्ति गर्दा संस्था चल्न सक्ने अवस्थामा पुगेको गुरुङ बताउँछन् । यस वर्षमात्रै न्याम्सले १ अर्व २७ करोडको उपकरणहरु खरीद गरेको छ ।

Last modified on 2018-08-06 11:42:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts