सरुवा रोग फैलन नदिन सरकारको तयारी



Download our app to get more features

 

वर्षायामको सुरुदेखि नै नेपालका हिमाली, पहाडी तथा तराईका जिल्लाहरूमा सरुवा रोग फैलन थाल्छन् । यसपालि पनि जेठको सुरु मै दाङमा झाडापखाला फैलदा सयौं मानिस प्रभावित भए । वर्षायाममा खासगरी पानीजन्य संक्रमण उच्च रहने भएकाले पनि सरुवा रोग भारी मात्रामा फैलने सम्भावना हुन्छ । पहाडी क्षेत्र मुगु, जाजरकोट लगायत जिल्ला वर्षेनी सरुवा रोगको चपेटाबाट गुज्रिदै आएका छन् भने तराईमा त झन् सरुवा रोगको जोखिम उच्च रहेको छ । 

गर्मी अत्याधिक हुने तथा बाढीका कारण तराईमा सरुवा रोगले महामारीको रुप नै लिने गर्छ । खासगरी सप्तरी, सिरहा महोत्तरी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाहरू प्रत्येक वर्ष सरुवा रोगको शिकारमा पर्दै आएका छन् । अन्य जिल्लामा पनि सरुवा रोगको जोखिम कम छैन् । खासगरी जनचेतनाको अभाव, गाईवस्तु र मानिसले प्रयोग गर्ने पानीको स्रोत एउटै हुनु, वातावरणीय सरसफाइमा कमि, खुल्ला शौचालय लगायतका कारण सरुवा रोगको जोखिम बढी भएको देखिन्छ ।

इपिडिमियोलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक केदार सेन्चुरीका अनुसार यसपटक सरुवा रोगको संक्रमण न्यूनिकरणका लागि महाशाखाले पर्याप्त तयारी गरिरहेको छ । खासगरी प्राकृतिक प्रकोप बढी हुने जिल्ला र विकट जिल्लामा स्वास्थ्य सतर्कता अपनाइएको उनको भनाइ छ । यसका लागि स्थानीय स्तरका स्वास्थ्यकर्मीसँग समन्वय  भइरहको छ नै केन्द्रमा पनि स्वास्थ्यकर्मीलाई तालिम त ओरिन्टेसन दिने काम जारी छ । सरुवा रोग संक्रमणको जोखिमलाई कम गर्न स्वास्थ्कर्मीको अलवा, प्रहरी, नेपाली सेना तथा स्थानीय तहसँग सहकार्य र समन्यवका लागि बैठक, छलफल तथा तालिम भइरहेको निर्देशक सेन्चुरी बताउँछन् । प्रदेश सरकारसँग पनि यसबारेमा बैठक भइरहेको र औषधि खरिदका लागि आवश्यक कदम चालिइसकेको उनी बताउँछन् ।

सूचना केन्द्र स्थापना
सरुवा रोगको महामारीका बारेमा जनचेतना जगाउन र रोग फैलिहाले त्यसपछिको सतर्कता अपनाउन महाशाखाले केन्द्रमा एउटा सूचनाकेन्द्र स्थापना गरी कार्य गरिरहेको छ । यसले सञ्चारमाध्यमहरु, रेडियो, पत्रपत्रिका, टेलिभिजन लगायतका माध्यमबाट स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने खालको सन्देश तथा सूचना प्रवाह गरिरहेको निर्देशक सेन्चुरीले जानकारी दिए । यति मात्र नभएर यूनिसेफ तथा डब्लुएचओसँग पनि यस विषयमा समन्वय हुनेछ । सरुवा रोग फैलिहालेमा कुन अस्पतलामा लैजाने, कस्तो उपचार गर्दा छिटो प्रकोप नियन्त्रणमा आउँछ लगायतका विषयमा सहकार्य हुने उनको भनाई छ ।

यी जिल्लामा उच्च सतर्कता
हुनत नेपालका ७७ वटै जिल्ला वर्षायाममा सरुवा रोगको जोखिममा देखिने गरेको छ । तर मुगु, डोटी, जाजरकोट, दाङ, कपिलवस्तु, सिरहा, सप्तरी, रौतहटलगायतका जिल्लामा अलि बढि नै सतर्कता अपनाइएको निर्देशक सेन्चुरी बताउँछन् । ‘यसको अर्थ अन्य जिल्लामा चासो दिइएको छैन् भन्ने पक्कै होइन्,’ उनी भन्छन् ‘हामी देशैभरको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम अगाडि बढाईरहेका छौं ।’ 

समस्या
औषधि  तथा जनशक्तिमा खासै समस्या नभएपनि संघीय संरचनामा अभ्यास गर्न अलि कठिन भइरहेको सेन्चुरीको भनाई छ । धेरै अप्ठयारो अवस्था नरहेपनि कतिपय अवस्थामा स्थानीय स्तरसँग समन्वय गर्न अलि अलि समस्या रहेको मातहतका कर्मचारीले बताउने गरेको उनको भनाइ छ । तर विस्तारै यस विषयमा पनि अभ्यस्त हँुदै जानेमा उनी ढुक्क छन् ।

Last modified on 2018-08-07 09:58:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts