उपचारमा आउँदा पञ्जासमेत बिरामीले नै ल्याउनुपर्छ 



Download our app to get more features

धादिङ, २५ साउन । जिल्ला अस्पताल धादिङमा सरकारले निःशुल्क दिने भनिएको औषधि अभावका कारण बिरामी आफैँले किन्दै आएका छन् । औषधि मात्रै होइन उपचारका बेला चिकित्सकले प्रयोग गर्ने पञ्जा समेत बिरामीले नै किन्नुपर्ने बाध्यता छ । 

डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपरेको बताइन । 

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । 

नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्न दिँएको आठदेखि १० लाख रकम अपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करिब २ सय बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो । 
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts