गर्भपतनबारे जान्नैपर्ने कुराहरु



Download our app to get more features

के हो गर्भपतन

गर्भको भ्रुणलाई पाँच सय ग्राम भन्दा कम हुँदै वा आफै बाँच्न सक्ने अवस्था आउनुभन्दा पहिलानै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भको भ्रुण पाँच सय ग्रामको हुनलाई लगभग २२ हप्ता लाग्ने गर्छ । गर्भपतन मुख्यतया दुई किसिमले हुन्छ ।

१. स्पनट्यानियस एबोर्सन

शरीरको आन्तरिक प्रक्रियाले गर्दा भ्रुण आफै बाहिर निस्कनेलाई प्राकृतिक गर्भपतन वा  ‘स्पनट्यानियस एबोर्सन’ भनिन्छ ।

कारणहरू:

वंशाणुगत वा गर्भवतीमा क्रोमोजोमको विकृति

हर्मोनको समस्याहरू जस्तैं मधुमेय, थाइराइडको समस्या, अण्डाशयको गडबडी आदि

पाठेघर र अन्य अंगको विकासमा गडबडी

पाठेघरको संक्रमण

लक्षणहरू: 

गर्भवतीमा निम्न समस्या देखिए गर्भपतन भएको हुन सक्छः

योनीबाट रगत बग्नु वा रगतको चोक्टा निस्कनु,

तल्लो पेट दुख्नु,

जाँच

  1. भिडियो एक्सरेबाट गर्भपतन भएको नभएको र भ्रुणको अवस्थाबारे थाहा पाउन सकिन्छ ।
  2. रगतको मात्राको जाँच ।
  3. पिसाब जाँचबाट गर्भ रहेको या नरहेको थाहा पाउन सकिन्छ ।

उपचार

गर्भमा भ्रुण ठीक रहे या नरहेको र मुटुको चाल देखिएको वा नदेखिएको भन्ने यकिन भिडियो एक्सरेबाट गर्न सकिन्छ । यदि मुटुको चाल देखिएमा र भ्रुणको अवस्था सामान्य देखिए त्यसलाई यथावत राख्न पनि सकिन्छ । तर, पछि पनि रगत बग्न सक्ने र गर्भपतन हुने सम्भावना भने रहन्छ ।

यस्तो अवस्थामा गर्भवतीले प्रशस्त आराम र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्र्छ ।  भ्रुणको अवस्था राम्रो नभएमा, मुटुको चाल नदेखिएमा वा भ्रुण आधा वा पुरै निस्किसकेको छ भने पाठेघरलाई सफा गर्नुपर्ने हुन्छ । त्यसको निम्ती तालिमप्राप्त र दक्ष चिकित्सकले अपरेसनमार्फत बाँकी रहेको भ्रुण निकाल्नु पर्ने हुन्छ ।

२. इन्ड्युसड एबोर्सन

कुनै साधन वा बाहिरी विधीको प्रयोगले भ्रुण बाहिर निकाल्ने प्रक्रियालाई ‘इन्ड्युसड एबोर्सन’ भनिन्छ । त्यसको निम्ती कानुनी तरिकाले सरकारबाट अनुमति प्राप्त सुरक्षित गर्भपतन सेवा दिने संस्थाबाट गर्भपतन गराउनुपर्छ । जथाभावी गर्भपतन गराउनु गैरकानुनी मानिन्छ । कानुनी तवरले गरिने गर्भपतन औषधि खुवाएर वा चिकित्सकले अपरेसन कक्षमा सक्सन एण्ड इभ्याकुयसन विधीबाट गर्छन ।

नेपालमा गर्भपतन कानुन

नेपालमा गर्भपतनलाई १ चैत २०५८ मा सरकारले कानुनी मान्यता दिइएको हो । मुलुकी ऐनको ११औं संसोधनले निम्न अवस्थामा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरेको छः–

  • १२ हप्ता ननाघेको अनिच्छित गर्भलाई गर्भवती स्वयंको राजीखुसीमा
  • जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ भएमा
  • गर्भवतीको ज्यानमा खतरा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा
  • विकलाड्ड शिशु जन्मन सक्ने अवस्थामा चिकित्सकको सल्लाहमा जुनसुकै समयमा
  • सरकारी अस्पताल वा नेपाल सरकारबाट अनुमति लिएर सुरक्षित गर्भपतन सेवा दिने संस्थाबाट मात्र गर्भपतन सेवा लिनुपर्छ
  • जथाभावी औषधि सेवनले ज्यानै जान सक्छ ।

कतिपयले आफै मेडिकल सपबाट गर्भपतनको औषधि किनेर खाने गर्छन । त्यसो गर्न‘ सरासर आफ्नो स्वास्थ्यलाई दाउमा राख्नु हो । गर्भवती अवस्थामा गर्भ पाठेघरमै रहेको वा नरहेको यकिन गरेर मात्र औषधि सेवन गर्नुपर्र्छ । त्यसको निम्ती औषधि सेवन अघि भिडियो एक्सरे गर्न जरुरी हुन्छ ।

गर्भ पाठेघर भन्दा अन्य ठाउँमा रहेमा र गर्भपतनको औषधि सेवन गरेमा त्यो फुट्न गई रक्तश्राव भएर ज्यानै पनि जान सक्छ । त्यसैले गर्भपतन गराउनु अघि एकपटक चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्छ । 

Last modified on 2018-08-14 06:10:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts