विषादी मिसिएको पानी खाँदा १५ विद्यार्थी बिरामी 



Download our app to get more features

विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा मिसिएको बिषादीयुक्त पानी पिउँदा १५ जना विद्यार्थी बिरामी भएका छन् । अज्ञात समूहले सो स्कुलको खानेपानी ट्याङ्कीमा ‘सायप्रिन’ नामक किटनाशक विषादी हालिदिएको जनाइएको छ । सो पानी पिउँदा स्कुलमा अध्ययरत विद्यार्थी बिरामी परेका हुन् । 
बिरामी भएका १४ विद्यार्थीको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको छ भने एक विद्यार्थीको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको स्कुलका प्रधानध्यापक खेमराज दुलाले जानकारी दिए । 

अस्पतालका अनुसार विद्यार्थीको अवस्था समान्य छ । विषादी हालेको पानी खाँदा कक्षा ९ मा अध्ययनरत अमृत पौडेल, खुश्बु मिश्र, मनकुमारी गजमेर, गीता सापकोटा, अञ्जली लिम्बू, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत रिजन विक, युरेन लिम्बू, कक्षा ५ मा अध्ययनरत मेश राई, सिर्जना निरौला, कक्षा ४ मा अध्ययनरत चेतन खड्का, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला, प्रतिमा लिम्बू, कक्षा ६ मा अध्ययनरत मनिष थापा र कक्षा १० मा अध्ययनरत पूजा लिम्बू बिरामी परेका छन् ।

विद्यालय अनिश्चितकालिन बन्द
मंगलबार बिहान ११ बजे बिद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको भित्र एक सय मिलिलिटर सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको र कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।  घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो बिद्यालयमा कक्षा १ देखी १२ सम्मका चार सय ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Last modified on 2018-08-15 08:41:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts