स्थानीय तहमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान



Download our app to get more features

बुटवल, ७ भदौ । रुपन्देहीका स्थानीय तहमा सामुदायिक स्वास्थ्य केन्द्रबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएको छ । स्थानीय तहबाट जनतालाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रामीण स्वास्थ्य संस्थामा सेवा बिस्तार गरिएको हो ।

जिल्लास्थित तिलोत्तमा नगरपालिका वडा नं ८ र ४ नम्बरस्थित करहिया स्वास्थ्य चौकीमा बुधबारदेखि सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि उक्त स्वास्थ्य चौकीमा नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको हो ।

तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले प्रयोगशालाको दिगो व्यवस्थापनका लागि जनशक्ति एवं भैतिक पूर्वाधार निर्माणमा नगरपालिकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने बताए ।

स्वास्थ्यचौकी इञ्चार्ज पीताम्बर पाठकले स्वास्थ्यचौकीस्तरीय प्रयोगशालामा औलो एवं क्षयरोगको पूर्ण निःशुल्क तथा अन्य परीक्षणको न्यून शुल्कमा परीक्षण सेवा उपलब्ध रहेको जानकारी दिए ।

प्रयोगशाला सञ्चालनसँगै स्वास्थ्य चौकीमा आउने बिरामीको सङ्ख्या बढ्ने बताउँदै पाठकले सर्ने र नसर्ने रोगको भित्री कारण पत्ता लगाएर उपचार गर्न अब सहज हुने उल्लेख गरे ।

यस्तै बुटवल उपमहानगरपालिका वडा नं १२, नयाँ गाउँ मिलनपार्कमा टोलमा पनि बुधबारदेखि नै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सुभारम्भ गरिएको छ । पूर्वाधार विकास, प्रविधि तथा उपकरणको विस्तार र स्वास्थ्य सेवा विस्तारको कार्यक्रमलाई उपमहानगरले एकसाथ शुरु गरेको छ । 

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनस्वास्थ्यको संवेदनशीलताका विषयमा आफूहरु गम्भीर बताउँदै भने, “उपचार सेवामात्रै होइन, स्वास्थ्य सचेतना र निरोगिताका उपायका बारेमा पनि सेवा प्रवाह गर्नेगरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो ।” 

बुटवल उपमहानगरले एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत वडाका टोलमा निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिकका लागि घरमै पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 

रासस

Last modified on 2018-08-23 07:38:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts