औषधि सिफारिस गर्दा जेनेरिकमा – के भन्छन् सरोकारवाला ?



Download our app to get more features

काठमाडौं, ७ भदौ । चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम लेख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । गत सातामा संसद्मा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अनिवार्य रूपमा जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

औषधिलाई ब्राण्डका आधारमा सिफारिस गर्दा औषधि कम्पनीहरुको प्रभावमा परेर चिकित्सकले अनुकुलका औषधि सिफारिस गर्ने गरिएको बेलामा सरकारले यो कानून निर्माण गरेको हो । तर, यसमा सरोकारवालाले भने असन्तुष्टि व्यक्त गरेका छन् । 

कानून मान्नैपर्छ–औषधि व्यवस्था विभाग

कानून नै बनेपछि आफूले अन्य कुरा गर्न नमिल्ने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । यो नीति सही हो या गलत भन्न नमिल्ने भन्दै उनले भने,‘सरकारको प्रतिनिधि भएकाले सरकारले पास गरेको कानूनी कुरालाई गलत भन्न मिल्दैन’ । नेपाल सरकारको जे धारणा छ त्यहि धारणा आफ्नो भएको उनले सुनाए । 

यो व्यवस्था लागू हुँदा व्यवसायीलाई फाइदा हुन्छ नि भन्ने प्रश्नमा उनले हिजो पनि फाइदा थियो, आज पनि छ र भोलि पनि होला त्यो अर्को कुरा भएको बताए ।

व्यवसायीहरुले कानून अनुसार गुणस्तरमा ध्यान दिनुहुन्छ भन्नेमा आफ्नो विश्वास रहेको धारणा राखे । बिरामीले औषधि किन्दा बिक्रि गर्ने व्यवसायीले आफूलाई फाइदा हुने दिन्छन् भन्ने मानसिकता हुनु स्वभाविक भएको उनले बताए ।

औषधि क्षेत्रमा विकृति आउँछ– औषधि व्यवसायी संघ

यता नेपाल औषधि व्यवसायी महासंघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले यस्तो व्यवस्थाले औषधि क्षेत्रमा विकृति सिर्जना हुने बताए ।

मल्टिनेशनल औषधिहरु ब्राण्डमा मात्रै पाइने भन्दै जेनेरिकमा नपाइने भन्दै उनले भने, ‘यस्तो व्यवस्थालाई शंकाको दृष्टिले हेर्नुपर्छ । राज्यका ठूला अस्पतालका फार्मेसीमा मात्रै जेनेरिक गर्नुपर्छ, त्यसले राम्रो हुन्छ । तर सबै ठाउँमा गर्दा यसले असहज परिस्थिति सिर्जना गर्छ ।’

गलत कानून बन्यो– उपाध्यक्ष श्रेष्ठ

त्यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं औषधि उद्योगी उमेशलाल श्रेष्ठले बिरामीलाई चिकित्सकहरुले ब्राण्डको नभएर जेनेरिक औषधिको नाम लेख्ने व्यवस्था हुनु सरासर गलत हुने बताए ।

उनले भने, ‘यो व्यवस्था गतल हो । जुन मुलुकमा सबै औषधि पनि बन्दैन, नेपालमा बनेको त त्यसको मूल्यांकन, अनुगमन गरी हेर्न सकिन्छ अन्य देशबाट आएको हेर्न असहज हुन्छ ।’ उनले थपे,‘कतिपय चिकित्सकको अझै पनि लेखाई नै शुद्ध छैन, पढेलेखेका डाक्टरको हातबाट यस्तो लेख्नुपर्ने अवस्था आउनु गलत नै हो । यो व्यवस्था अमेरीका जस्तो युरोपियन मुलुकहरुमा मात्रै ठीक हुन्छ ।’ 

सरकारले गुणस्तर हेर्ने, मूल्य सही छ कि छैन, वा मूल्य वृद्धि भयो भने त्यो छुट्याउने हो यस्तो निर्णय गर्ने नभएको बताए । ‘हाम्रो देश नेपालमा औषधिको मूल्य संसारकै भन्दा सस्तो छ, तर सिमेन्ट, तरकारी, चामल, दाल संसारकै महंगो छ यस्तोमा सरकारको ध्यान जादैन उनले आक्रोस पोखे ।’

सरकारी अस्पतालमा ठीक छ, निजीमा व्यवहारिक छैन–हुमागाईं

वरिष्ठ फार्मेसी विज्ञ बाबुराम हुमागार्इँले यो व्यवस्थाको फाइदा र बेफाइदा दुबै भएको बताए । ‘सबै औषधि जेनेरिकमा लेख्ने हुँदैन त्यो व्यवहारिक हुँदैन ।’

उनले भने,‘अस्पतालका फार्मेसीमा जेनेरिक अनिवार्य गर्नुपर्छ तर नीजिमा जेनेरिक अनिवार्य गर्न सकिँदैन । अस्पतालले सबै कुरा हेरेर टेन्डरमा मगाएको हुन्छ । जुन ब्राण्ड ठिक हुन्छ त्यो ल्याइएको हुन्छ त्यसैले अस्पतालमा जेनेरिक हुनुपर्छ । ’

कसैले यो ब्राण्ड एउटै हो भन्न सक्ने हो भने जेनेरिक ठिक हुने उनले बताए । तर त्यो अवस्था अहिले नै नभएको हुँदा सबै जेनेरिक भन्न गाह्रो भएको उनको भनाइ छ ।

उनले थपे,‘जेनेरिक गर्दा मूल्य घटाउने आधार हुन्छन्, अस्पतालमा खरिद गर्दा सयौँ कम्पनिका औषधि एउटै औषधि ४/५ वटा कम्पनीले बनाउँछ भने त्यसमध्ये जसले सस्तो दिन्छ त्यहि दिनुपर्ने हुन्छ ।

तर डाक्टरले ५ वटै कम्पनिको लेख्यो भने त अस्पतालले दिन सक्दैन, सस्तो पनि हुँदैन त्यसैले अस्पतालको जेनेरिक हुनुपर्छ अरु ब्राण्डमा हुन सक्दैन ।’

उपभोक्ता ठगिन्छन् –नेपाल औषधि उत्पादक संघ

औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहालले नेपाल जस्तो देशमा जेनेरिक नाममा लेखेर फाइदा भन्दा उल्टै विकृति फैलाउने दाबी गरे । यसबाट उपभोक्ताहरु ठगिने भन्दै हाम्रो देशमा उत्पादन भएका अहिलेका सबै प्रोडक्ट जेनेरिक नै भएको बताए । 

‘मूल्यमा एक रुपैँया पनि तलमाथि हुँदैन । औषधि व्यवस्था विभागका महानिर्देशकले जेनेरिकमा लेखे शतप्रतिशत छुट हुने भन्नुभएको छ तर यो भनेको १०० रुपैया पर्ने औषधि ० वा (निःशूल्क) पाउनु हो, यो हुनेसक्तैन’ उनले भने ।

उनले औषधि उत्पादितले ब्राण्डमा लेख्दा डाक्टरलाई पैसा खुवाएर लेखिएको भन्ने आरोप लाग्ने गरेपनि जेनेरिकमा लेखाउँदा पैसा दिनुपर्दैन र मूल्य स्वतः घट्छ भन्नुको कुनै तुक नभएको बताए । 

बजारको आफ्नो नियम हुने भन्दै औषधि उद्योगको लागि कन्जुमर भनेको डाक्टर थिए उनिहरुले लेखेको चल्थ्यो अब जेनेरिकमा लेख्दा कन्ज्युमर डिस्पेन्सर (औषधि पसले) हुन्छन् ।’ कुनै वस्तुको उत्पादन गर्न ठूलो कुरा नभएको भन्दै उत्पादित वस्तु बजारमा लिएर गएर ग्राहकसमक्ष पुर्याउनु नै ठूलो भएको बताए ।

कतिपय देशमा औषधिको विज्ञापन समेत गर्न पाइने भन्दै उनले भने, ‘अमेरिका जस्तो विकसित देशमा यो औषधिले यस्तो काम गर्छ, यो औषधि यस्तो भनेर गरिन्छ तर हाम्रोमा कानूनले नै रोकेको छ गर्न पाइदैन । त्यसैलाई डाक्टरलाई त गएर हाम्रो यस्तो उत्पादन भएको छ यसले यो रोगको काम गर्छ भनेर त भन्न परिहाल्यो नि ।’

डाक्टरलाई यति खुवाउँछन् भन्ने आरोप मात्रै भएको भन्दै कसैले खुवाउने नखुवाउने भन्ने नहुने बताए । डाक्टरले पनि जे मन लाग्यो त्यहि नलेख्ने भन्दै दाहालले उसले जुन औषधिले बिरामीको रोग निको हुन्छ त्यसमा विश्वास गरेर लेख्ने तर्क गरे

 यस्तो नियम ल्याउनु पनि डाक्टरको अधिकार खोसिनु भएको उनले बताए । यस्तो नीतिले सामाजिक उत्तरदायित्व आ–आफ्नै भएपनि व्यवसायीले आफूलाई जे कुरामा नाफा हुन्छ त्यहि औषधि दिन्छ । यसको उत्तर मागेपनि व्यवसायीले मसँग जे थियो त्यहि दिए, गुणस्तर के छ भन्ने कुरा मैले हेर्ने होइन भन्ने हुन्छ ।

यस्तो नीतिले जनतालाई केही फाइदा नहुने औषधि उत्पादक संघको ठहर छ  । नेपाली औषधि उद्योग बल्ल बामे सर्दै गरेको भन्दै ५० प्रतिशत औषधि भारतबाट ल्याउनुपर्ने दाहालले जानकारी दिए । उनले थपे ‘सरकारले दुई वर्षभित्र औषधिमा आत्मनिर्भर हुने नीति ल्याए पनि यो नीतिले क्रस गर्छ ।

यस्तो स्थितिले भारतको औषधिले बजार ढाक्छ । उनिहरुले आधा प्रतिशत मात्रै उत्पादन बढाउन सके नेपाललाई सित्तैमा दिनसक्ने हुन्छ र जे चीज त्यहाँ बिक्दैन त्यो नेपाल पठाउँछ वा सस्तोमा पठाउँछ । त्यसले नेपाली औषधि उद्योग डुब्छ उनले भने ।’

Last modified on 2018-08-24 07:37:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts