कान्तिको कन्तबिजोगः दरबन्दी छ, काम गर्ने डाक्टर छैनन्



Download our app to get more features

काठमाण्डौ, भदौ १५ । देशकै सबैभन्दा ठूलो बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालमा दैनिक ७ सय देखि ९ सय सम्म बिरामी आउने गर्छन् । देशभरीका बिरामी आउने राजधानीमा रहेको केन्द्रीय बाल अस्पताल भने बिरामी भन्दा कम छैन । 

सवा २ वर्षको छोरा बोल्न हिँड्न नसकेपछि सर्लाहीबाट आएकी गौरी पासमानले टिकट त बुधबार नै लिए तर, डाक्टरले शुक्रबार मात्रै आउन भनेपछि उनी शुक्रबार बिहानै अस्पताल पुगे तर, ११ बजेसम्म उनको पालो आएको थिएन । 
पासमान मात्रै होइन ९ वर्षकी छोरीलाई ज्वरो आउने, रुघाखोकीले सताएपछि धादिङबाट आएकी सीता नेपाली पनि बिहानैदेखि लाइनमा थिइन् । तर, बिरामीको लाम देखेर उनलाई आफ्नो पालो आउँछ भन्ने आशा छैन । 

यीनी दुई मात्रै होइन कान्ति अस्पतालमा आउने प्रायः अभिभावकको गुनासो यस्तै छ । दैनिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपनि अस्पतालमा चिकित्सकको अभावले समयमै उपचार गराएर घर फर्कनेहरु कमै छन् ।

अस्पतालमा ७१ जना चिकित्सकको दरबन्दी छ । जसमा मात्र ४४ जना कार्यरत छन् । त्यसमा  पनि ३९ जना मेडिकल अधिकृतको दरवन्दी रहेकोमा १२ जना मात्र कार्यरत छन् । ७ जना अध्ययन बिदामा जाँदा बचेका ५ जनाले मात्र सेवा दिनु परिरहेको छ । त्यस्तै १सय ३ जना नर्सको दरबन्दी पुर्ति भएपनि दैनिक ९ सय देखि एकहजार बिरामीलाई सेवा दिन सम्भव नै नभएपनि बाध्य भएर बिरामीको उपचार गर्नुपरेको छ । बिरामीको संख्या र चिकित्सक तथा नर्सको संख्या नै नमिल्दा अस्पतालको सेवा प्रभावित भएको छ । 

अस्पतालमा उपकरण छन् तर दक्ष जनशक्ति नहुँदा ल्हासमा सुन छ कान बुच्चै भनेजस्तो उपयोगविहीन भएका छन् । अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नहुँदा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ ।  

अस्पतालको भौतिक संरचना बदलिएपनि अस्पताललाई जिल्ला अस्पताल सरहको सुविधामा राख्दा समस्या भइरहेको अस्पतालका निर्देशक गणेश कुमार राईको भनाइ छ । 

हाम्रो डक्टरसँग कुरा गर्दै निर्देशक राईले अस्पतालको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक जानकारी गराएपनि कुनै मतलव नगरेको जवाफ दिए । उनले भने, ‘मन्त्रालयमा जनशक्तिबारे जानकारी गराउँदा उताबाट एउटै जवाफ आउँछ यो कान्तिको मात्रै समस्या होइन, देशैभर यस्तै समस्या छ ।’

उनले थपे, ‘५२ शय्याको आइसीयू कक्ष हुनुपर्नेमा ३५ शय्याको मात्रै छ जसले गर्दा आइसीयूका बिरामीलाई पनि अन्य अस्पतालमा रेफर गर्नुपर्छ ।’

Last modified on 2018-08-31 13:36:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts