मनोचिकित्सा, स्नायूचिकित्सा र मनोविज्ञानको सम्बन्ध



Download our app to get more features

परिदृश्यः 

  • टाउको दुखेर चिकित्सक कहाँ पुग्ने व्यक्ति मनोचिकित्सक कहाँ रेफर भइँँदा अक्सर अप्ठयारो मान्छन् । 
  • आफुखुशी जाँडरक्सी खानेलाई मानसिकमा पठाउने ? धेरै बुढापाकाहरू मुर्मुरिन्छन् । 
  • ‘मलाई परेको समस्याले यसो भएको हो । मानसिकै हो त डाक्टरसाब यो ?’, मनोचिकित्सकलाई धेरै सोधिने प्रश्न हो यो । 
  • केहि समयदेखि उत्तेजनामा आउने, नसुत्ने र बरालिने मानिसलाई परिवार वा कसैले उपचारका लागि लग्दा आपत्ति हुनसक्छ ।
  • पढेलेखेकै व्यक्तिहरू पनि मानसिकका डाक्टर भनि मानसिक रोगीहरूलाई उपचार गर्ने चिकित्सकका नाममा ओंठ लेब्य्राउँछन् । 

‘मानसिक’ को नाममा  
मानसिकका सन्दर्भमा अभिव्यक्ति दिने मनहरूमा रहेको अस्विकारोक्ति माथिका सबै प्रसंगहरूमा निहित साझा तत्व हो । मानसिकको अर्थ हरेकले आआफ्नै किसिमले बुझेका छन् जस्तो लाग्छ । मानसिक रोगीले जानीबुझी समस्या निम्त्याझैं गरी कतिले बिरामीलाई नै मात्र दोषी देख्छन्, हेला गर्छन् र व्यक्तिको कमीकमजोरीलाई औंल्याउँछन् । कति चिकित्साकहरूले समेत केहि नबुझिने समस्या भयो वा नकारात्मक टिप्पणी गर्नुप¥यो भने, ‘मानसिक’ भनी औंल्याउने गरेको भेट्टिन्छ । यहाँ ‘मानसिक’ को अर्थबारे छलफल गरिँदैछ ।

मानसिक भनेको के हो ?
स्वास्थ्यमा मनोसामाजिक आयाम शारीरिककै हाराहारीमा भए पनि व्यावहारिक रूपमा भने शारीरिक पक्ष मात्र मुल अंशको रूपमा रहि आएको छ । यद्यपि, मानसिक विना स्वास्थ्य अधुरो रहन्छ । मानसिक रूपले स्वस्थ मानिसको जीवन सरल, सहज र आनन्दमय हुन्छ । आफन्त, साथीभाई, समाजको साथ सहयोग दोहोरो हुन्छ । मानसिक लक्षण हुँदैन ।

जीवनका विविध अवस्थाहरूमा सन्तुलित रहन्छ र जिविका उत्पादनमुलक रहन्छ । मानव शरीरमा कोषहरू मिलेर तन्तु, तन्तुहरूबाट अंग, अंगहरूबाट प्रणाली तथा विभिन्न प्रणालीबाट समग्र शरीरको निर्माण भएको हुन्छ । स्नायूप्रणालीले शरीरका जैविक प्रक्रियाहरू सन्तुलनमा राख्छन् । रक्तसञ्चार, श्वासप्रश्वास, पाचन लगायत ज्ञानेन्द्रियमार्फत् सचेत हुने कार्यहरू मस्तिष्ककै नियन्त्रणमा सम्पन्न हुन्छन् । मानिसलाई मानव बनाउने विविध उच्च मानसिक कार्यहरू पनि मस्तिष्कले गर्छ  । व्यक्तिको व्यवहार, बोली, अनुभव, भावना, विचार, आभाषसहित होस्, ध्यान, एकाग्रता, समय स्थान र व्यक्तिको पहिचान, स्मरण, स्मृति, ज्ञान, बुद्धि, विवेक, निर्णय र आफ्नो मन र शरीरको अवस्थाको चेत जस्ता मनोवैज्ञानिक क्रियाकलापहरूका कारण व्यक्तिको समग्र स्थिति सन्तुलित, नियमित र स्वस्थ रहने हो ।  मस्तिष्कको काम, कर्तव्य र क्रियाकलापको पक्ष, अर्थात उच्च मानसिक विभाग मन अन्तर्गत पर्छन् । निष्कर्षमा भन्नु पर्दा, मानव मस्तिष्कका काम वा मन सम्बन्धी इंगित गर्न मुलरूपमा ‘मानसिक’ शव्दको प्रयोग गरिन्छ  ।  

मनोरोगका लक्षणहरू   
व्यक्ति मानसिक समस्याबाट ग्रसित हँुदा विविध मानसिक कार्यहरूमा गड्बडी आउने गर्छ  । सोँच, अनुभुति र व्यवहारमा असामान्य परिवर्तन देखाउँछ ।  जस्तैः मनका ती प्रक्रियाहरू अनियन्त्रित हिसाबले अति ज्यादा या न्यून भएर जान सक्छन् । कतिपय व्यक्तिमा भने उसको सामाजिक, साँस्कृतिक पृष्ठभूमिका लागि प्रष्टतः अमान्य वा असामान्य बन्नसक्छन् । मानसिक रोग अनुसार; कम बोल्ने, नबोल्ने, अति बोल्ने, अनुचित वा नबुझिने कुराहरू भन्ने; उसको दैनिक, सामाजिक वा अन्य क्रियाकलाप र व्यवहारहरू पनि नगर्ने, अप्रासंगिक रूपले ज्यादा गर्ने वा नमिल्दो भएर जाने तथा सोच्न विचार गर्न गाह्ररो पर्ने, कसैको भने अति ज्यादा वा अनुपयुक्त, अस्वस्थ, गलत विचारहरू हावी हुने अवस्था आइपर्छ । कतिपय कडा रोगहरूमा नभएका र अरूले देख्न, सुन्न वा अनुभूत गर्न नसकेका कुराहरू देख्ने, सुन्ने वा अनुभव गर्ने आभासभ्रम हुनेगर्छ । कतिपय रोगहरूमा होस हराउने, बेहोस हुने, ध्यान दिन, एकाग्र हुन नसक्ने, समय, स्थान र मान्छे नचिन्ने, सम्झन बुझ्न, परिस्थिति अनुकूल समायोजन र निर्णय गर्न नसक्ने वा नयाँ कुराहरू सिक्न नसक्ने भएर जान्छ । कडा खालका कतिपय मनोरोगहरूमा आफ्नो मनको अवस्था र समस्याबारे सुद्धि हराउँछ । यसले गर्दा व्यक्तिको काम गराई र अरूसँगको व्यवहारमा समस्या भई अरूलाई स्पष्टतः बेचैनी भएपनि आफूमा आएको परिवर्तनको हेक्का रहँदैन र उपचारको खोजी गर्दैनन् ।
    
मानसिक समस्याका भ्रामक लक्षणहरू         
१. शारीरिक रोगमा मानसिक लक्षण र मानसिक रोगमा पनि शारीरीक लक्षणहरू देखिनसक्छन् । विशेष गरी थाइरोइड जस्ता अन्तःश्राव र हर्मोन सम्बन्धी रोगहरू, क्षयरोग वा अन्य खालका जीर्णरोगहरू, अति पीडा, विकलाङ्ग हुने वा समाजले हेय गर्ने खालका शारीरीक रोगहरूमा मानसिक लक्षण, समस्या र रोग हुने सम्भावना अधिक हुन्छ । यसरी शारीरिकरोगको उपस्थिति र पृष्ठभूमिमा पनि मानसिक समस्या उत्पन्न हुनसक्छ र तिनको अनुपस्थितिमा पनि मानसिक समस्या पैदा हुनसक्छ भन्ने बुझ्न आवश्यक छ ।

मानसिकरोगहरूमा भोक, निद्रा, यौन, दिसापिसाब र मासिकधर्ममा गड्बडी पैदा हुनसक्छ । शरीरका विविध अंगहरूमा दुखाई, पीडा, जलन, भारीपन, झम्झम्, कमजोरी, नातागत, मुटु ढुक्ढुक् हुने छाती भारी हुने आदि लक्षण एकै समयमा वा धेरै वटा र जाँच परीक्षणबाट प्रष्ट हुन नसक्ने खालका लक्षणहरू उत्पन्न हुने गर्छन् । कसैलाई लामो समयदेखि यस्ता विविध लक्षणले दुःख दिएका छन् र स्वास्थ्य परीक्षणबाट पनि प्रष्ट भएका छैनन् भने मनोगत रोगका लक्षणहरू पनि हुन सक्छन् ।      

२. जाँडरक्सी, चुरोट, गाँजा, अफिम जस्ता नशालु पदार्थको सेवन लामो समय र अत्याधिक भएमा त्यसले मनमस्तिस्कमा असर परेर विविध मानसिक लक्षण र रोगहरू निम्तिने गर्छन् । यस्ता पदार्थ सेवन गर्ने वा नगर्ने व्यक्ति मै पनि मानसिक रोगका लक्षणहरू देखिएका छन् भने सम्बन्धित स्वास्थ्यकर्मीबाट उपचार गराउनु पर्ने हुन्छ ।    

३. सामान्यतया मानसिक समस्याहरूमा हालसालै वा निर्दिष्ट अवधिका लागि व्यक्तिको आफैं वा उहि पृष्ठभूमिका अरू मानिसहरूको भन्दा पृथक व्यवहार, अनुभव, विचार वा अरू मानसिक लक्षणहरू उत्पन्न हुने गर्छन् । कतिपय मानिसहरूका स्वभाव वा प्रवृत्तिले परिस्थिति र परिवेश अनुसार समायोजन नहुने, क्षमता र सिपको विकासमा न्यूनता वा ढिमापन जीवनका उत्तराद्र्धदेखि नै जीवनपर्यन्त रहिरहने व्यक्तित्वका गड्बडी, सुस्तमनस्थिति जस्ता अवस्थाहरू पनि हुने गर्छन् । मानसिक लक्षण सहित प्रकट हुने यस्ता अवस्थाहरूमा पनि थरिथरिका व्यवस्थापन वा उपचार विधिहरू उपयोगी हुने गर्छन् ।    

४. कुनै तनाव वा चिन्ता नभएको वा सम्पन्न, शिक्षत वा शाक्तिशाली व्यक्तिलाई मनोरोग हुँदैन भन्ने धेरै मानिसलाई लाग्छ । तनावको बेला र परिस्थितिमा सामान्य भन्दा ज्यादालाई मानसिक समस्या हुनेगर्छ । तर, मानसिकरोग तनाव प्रष्ट रूपमा नभएको अवस्थामा पनि उत्पन्न हुनसक्छ । मनोसामाजिकसहित जैविक तत्वहरूको अन्तरक्रियाबाट उत्पन्न हुने मानसिक समस्याहरूले मानवजातिका कुनै पनि वर्ग, समूह वा जोकसैलाई पनि अछुतो छाडेको देखिँदैन ।   

५. बाल र वृद्ध उमेरमा मानसिकरोग उत्पन्न हुँदा लक्षणमा देखिने विभिन्नताले पनि मानिसहरूलाई झुक्याउनेगर्छ । वयस्क व्यक्तिमा डिपे्रसनले अक्सर खानामा अरूचि, अनिद्रा हुनेगर्छ भने, बालक वा किशोरहरूमा अत्याधिक भोक वा निद्रा लाग्नसक्छ । उत्साहहीन, कम्जोर र उदास बनाउने डिप्रेसनले ज्येष्ठ नागरिकलाई चिड्चिडे तथा रिसाहा बनाउँछ ।      

६. समाज, सँस्कृति, परम्परा र विश्वासको असर मानसिक रोगको प्रकट हुने लक्षणमा पर्नेगर्छ । एउटै रोगमा पनि व्यक्तिको देश, काल, परिस्थिति र पृष्ठभूमि अनुसार फरक लक्षणहरू आउँदा कतिपय बेला यसको पहिचानमा निकै मेहनत पर्छ । यस्तै, मानसिक समस्याले व्यक्तिको दैनिकी, काम गराई र सामाजिक सम्बन्ध अर्थात् कार्यक्षमतामा पर्ने असर निश्चित व्यक्ति र समाज हेरी कार्यबोझ भिन्न हुने हुँदा पनि कतिपय अवस्थामा भ्रम सिर्जना हुनेगर्छ । चिकित्साविज्ञानको प्रगतिसँगै यस्ता अन्यौलहरू न्यून हुँदै गएर मनोचिकित्सामा प्रमाणमा आधारित पहुँचको स्थापना हुँदैगरेको छ ।

मनका अवस्थाहरू : सामान्य, प्रतिक्रियात्मक र रोगी 
मनले समयसमयमा विभिन्न अवस्थाहरू व्यहोर्ने गर्छ । कुनै बेला आफु र अरू मानिसको भन्दा भिन्न अवस्थाबाट पनि गुज्रन सक्छ । यस्ता अवस्थाबाट सामान्यतया शिक्षा वा पाठ सिकेर पछि त्यस्तै परिस्थिति आइपर्दा बेहत्तर रूपमा सामना गर्ने वा समायोजन गर्ने क्षमताको विकास हुन्छ । क्षणिक रूपमा बिचलित भएमा पनि केहि समयपछि सम्हालिन्छ । तर व्यक्ति आफै र अरू मानिसहरू भन्दा फरक हुने गरेर देखिने रोगीका लक्षणहरू लामो समय व्यक्तिको दैनिक जीवनका धेरै पाटाहरूमा असर पर्ने हिसाबले कायम रही विविध लक्षणहरू सहित समस्या भएको स्थितिमा भने व्यक्तिलाई मनोरोग भएको सम्झनुपर्छ ।

घाममा रहँदा शरीरको तापक्रम बढेजस्तै जीवन र जगत्को प्रतिकूल स्थिति र तनावबाट मनमा प्रभाव र बेचैनी उत्पन्न हुन सक्छ । यस्तोमा शीतल ठाउँमा आउने, पानी पिउने जस्ता उपाय गरेर शरीरलाई ठण्डा बनाउने कोशिस गरिए जस्तै विषम परिस्थितिमा समस्या समाधान, मन शान्त बनाउने विविध उपाय लगायत परस्परको साथ सहयोगले परिस्थिति र मानसिक अवस्था सन्तुलनमा राख्ने कोसिस गरिन्छ । यदि शरीरको तापक्रम उच्च नै रह््यो, घटेन, अरू लक्षणहरू पनि देखा परे भने त्यो विविध रोगका कारण ज्वरो आएको अवस्था भनेर बुझ्न र त्यसै अनुसार उपचार गर्न जरूरी हुन्छ । मानिसको असामान्य व्यवहार, बोली, अनुभूति, विचार, आभास र अन्य लक्षणसहितको मनको परिवर्तित अवस्था पनि नियन्त्रण भन्दा बाहिर गयो, लामो समयसम्म रह््यो, ठाउँ र परिस्थिति अनुसार सामञ्जस्य र परिमार्जित हुनसक्तैन र यसले गर्दा समस्या र बेचैनी भयो भने मानसिकरोग भएको बुझी उपचारको खोजी गर्नुपर्छ ।

        
थरिथरि मानसिक रोग 
प्रभावित भएको मनको काम र लक्षणका आधारमा मानसिकरोगहरूको वर्गीकरण गरिएको छ । संसारमा ३५० देखि ५०० थरिका मानसिक रोग रहेको उल्लेख छ । र यो संख्यामा वृद्धि हुँदै गएको छ । यी रोगहरूमा डर, छट्पटी (एन्जाइटी), डिप्रेसन, दुव्र्यसन धेरै मानिसलाई सताउने, मस्तिष्कमा चोट वा आघात परी पैदा हुने मानसिक रोगहरू, सिजोफ्रेनिया, ओसिडि, बाइपोलर मुड कडा रूपमा सताउने र विकलांग बनाउने; तनावजनित र सोमाटोफर्म डिसअर्डर अति बेचैन बनाउने तथा आफ्नो स्वास्थ्यको हेरविचारप्रति बेवास्ता र आत्महत्यातिर ढकेल्ने डिप्रेसनले मृत्युदर बढाउने गर्छ । अबको समयमा मोबाइल, इन्टरनेट, सेल्फीमा बानी पर्ने समस्या पनि बिस्तारै रोगको रूपमा प्रतिस्थापित हुँदैछ भने समलिंगीलाई प्रकृतिको फरक तर सामान्य अवस्थाका रूपमा हेरिँदैछ ।
    
मनोचिकित्सा, स्नायूचिकित्सा, मनोविज्ञान  
मनमस्तिष्क सम्बन्धी चिकित्सा विज्ञानका विविध विभागहरू मनोचिकित्सा (साइक्याट्री), स्नायूचिकित्सा (न्यूरोमेडिसिन) र मनोविज्ञान (साइकोलोजी) एकआपसमा अन्योन्याश्रित छन् । मनमस्तिष्कका समस्याहरूमा जैविक र मनोसामाजिक पक्षहरूको कारक भूमिका रहने भएकोले उपचार र व्यवस्थापन पनि त्यसैअनुसार यी पक्षहरूको समुच्च र सम्पूर्ण खालको हुनुपर्ने तथ्य स्थापित हुँदै गएको छ ।

चिकित्सा विज्ञानको इतिहाससँगै विकास भएका यी विभागहरू क्रमशः एकै विभागतिर एकीकृत हुँदैगरेको देखिन्छ । सामान्यतया मस्तिष्कको संरचनागत रोगहरू, जस्तैः संक्रमण, रक्तश्राव आदि स्नायूचिकित्सा (न्यूरोमेडिसिन) अन्तर्गत पर्छन् भने निश्चित अवस्था वा परिस्थितिमा मानिसको व्यवहार, सोंच र अनुभवको अध्ययन गर्ने विज्ञान मनोविज्ञान हो । मनोचिकित्साले मनका कायिक वा संरचनागत पृष्ठभूमिमा उत्पन्न हूने कायिक गड्बडी वा लक्षणहरूसहित पैदा हुने मानसिक समस्या वा रोगहरूको निदान, पहिचान, उपचार, व्यवस्थापन, पुनस्र्थापन लगायत मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने क्षेत्र अंगालेको छ । 
 

(हाम्रो डक्टर म्यागजिनबाट)

Last modified on 2018-09-01 06:59:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts