किन हुन्छ महिनावारी गडबडी ?



Download our app to get more features

भोजपुरकी २१ वर्षीया सरीता श्रेष्ठको महिनावारी जहिले पनि १ महिनाको फरकमा हुन्छ । महिनावारी समयमा नभएपछि उनले गाउँमा स्वास्थ्य परिक्षण पनि गराईन । समस्या समाधान भएन ।

धनकुटाकी २० वर्षीया राधा बरालको पहिलो महिनावारी भएपछि पुनः महिनावारी हुन डेढ देखि दुई महिनाको समय कुर्नुपर्ने हुन्छ । धेरै महिलाहरु यो समस्याले चिन्तित भएका छन् । तर, चिकित्सकहरु भने महिनावारी गडबडीबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाल यसबाट आत्तिहाल्नुपर्ने स्थिति नभएको बताउँछन् । हार्मोनको असन्तुलनका कारण महिनावारीमा गडबडी भएको उनी बताउछन् ।

नुवाकोटकी मन्जु अधिकारी उमेरले ३० वर्षकी भईन । २२ वर्षको उमेर सम्म नियमित रुपमा हुँदै आएको महिनावारी विगत ८ वर्षदेखि गडबडी भएको छ । अधिकारीका अनुसार हरेक महिना महिनावारी हुने समयभन्दा २० दिन पर जान्छ । महिनावारी गडबडी भएकाले उनी यतिबेला चिन्तित छन् ।

चिकित्सकका अनुसार इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिएका कारण महिनावारी गडबडी भएको हो । पछिल्लो समय देखिएको अस्वस्थ्यकर खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड भएको हो, डा. रिजालले भने ।

यसकारण महिनावारीमा गडबडी महिलामा चरम समस्याका रुपमा देखिएको महिनावारी गडबडलाई चिकित्सकहरुले भिन्न भिन्न रुपमा परिभाषित गरेका छन् । बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार महिलामा हुने हर्मोनमा देखिएको असन्तुलन, पोषणको अभाव, पाठेघरमा समस्या, न्युट्रिसनको अभाव, शरिरको वजन कम, धेरै मोटो हुदा पनि महिनावारीमा गडबडी हुन्छ । यी कारणहरु मुख्य हुन भने, 'तनावका कारण पनि महिनावारीमा उतारचढाव आउने गर्छ' उनले थपे । महिनावारी सुरु भएको ४ देखि ५ वर्षसम्म बढी मात्रामा महिनावारीको गडबडी हुने गर्छ । 'महिनावारी सुक्नुभन्दा १ देखि २ वर्ष पहिले पनि गडबडी देखिन सक्छ' उनले भने ।

अत्यधिक रक्तश्राव र पेट दुख्ने समस्या चिकित्सकहरुले बताए अनुसार पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्ने क्रम बढेकाे छ । यसका कारण उनिहरुमा छिटो तथा ढिलो महिनावारी हुने, महिनावारी भएपछि रगत धेरै बग्ने समस्या देखिएको छ । 'उपचारमा आउने मध्ये ४० प्रतिशत महिलाकाे महिनावारी भएको समयमा बढी रगत बग्ने र सहनै नसक्ने गरी पेट दुख्ने गरेको सुनाउँछन' डाक्टर भोला रिजालले भने ।

अधिकांश महिलाहरुलाई समयमा महिनावारी नभएको भन्दै उपचारका लागि आउने गरेको उनि बताउछन् । कसैको महिनावारी ३० दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३० दिनमै भए त्यसलाई गडबडी मानिँदैन । तर, कसैलाई ३० दिनमा भएर अर्को पल्ट १० देखि १५ दिन पर गएको खण्डमा महिनावारीमा गडबडी भएको मानिन्छ ।

महिनावारी गडबडी बाट यसरी बच्ने

कुनैपनि बहानामा महिनावारी रोक्ने औषधि खानु हुँदैन । सबैभन्दा पहिला महिनावारी गडबड हुन नदिन ब्यक्तिगत जीवनशैली परिवर्तन गर्नुपर्छ । मोटोपनले पनि महिनावारीमा गडबड गर्ने हुँदा शरीरलाई फिटनेश बनाएर राख्नुपर्छ । चिकित्सकसँग सल्लाह अनुसार गर्व निरोधक चक्की खाने । महिनावारी समस्या भएका किशोरीहरुले पोषिलो खानेकुरामा बढी जोड दिनु पर्छ । वातावरणीय प्रदुषणबाट जोगिनुपर्छ । स्वास्थ्यको नियमित चेकजाच गराउनुका साथै नियमित व्यायाम गर्नुपर्छ ।

 

Last modified on 2019-02-22 07:05:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts