सर्पदंशले बालकको मृत्युः मुलुकी ऐनको दोष कि अस्पतालको लापर्वाही ?  



Download our app to get more features

काठमाण्डौ । चितवनमा एक जना बालकको सर्पले डसेपछि उपचार नपाएर मृत्यु भएको घटनालाई सामाजिक सञ्जालहरुमा मुलुकी ऐनसँग जोडेर टिप्पणी गर्न थालिएको छ । सरकारी अस्पतालमा आइसियु नभएको र निजीले उपचार गर्न नमान्दा बालकको ज्यान गएको बताइएको छ ।

चितवन मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका ३ वर्षीय नाति सलिनलाई लिएर गत बुधबार राति भरतपुरका ४ अस्पताल पुगे । हजुरबुबाका अनुसार उनी करिब १ घन्टा भौतारिँदा पनि कुनै अस्पतालले उपचारका लागि नमान्दा नातीको ज्यान गएको हो । मरणासन्न अवस्थामा अस्पताल आएको बिरामीलाई सरकारी अस्पताल रिफर गर्ने चितवनका निजी अस्पताल र आकस्मिक आइसियुको व्यवस्था नगरेको भरतपुर अस्पतालले यो मृत्युको जिम्मेवारी लिनपर्ने ठाउँमा चिकित्सकहरुले मुलकुी ऐनमा भएका व्यवस्थाले गर्दा चिकित्सकले जोखिम नउठाएको प्रतिक्रिया दिएका छन् । 

गत बुधवार राति सर्पले डसेर औंला सुन्निएपछि उपचारका लागि सलिनका काका र बुबाको भने अनुसार उनका हजुरबाले रातिको ३ बजे भरतपुर अस्पताल पुगे । केहिबेरपछि डाक्टर आएर हेरे र बच्चालाई आईसीयूमा राख्नुपर्छ भने तर अस्पतालमा आईसीयूमा बेड खालि नभएकाले अन्तै लैजान भने । त्यसपछि बालकका आफन्तले पुरानो मेडिकल कलेज शिक्षण अस्पताल पुगे । त्यहाँका डाक्टरले बच्चालाई के भएको छ भनेर सोधपुुछ गरे अनि सर्पदशंको उपचार सरकारी अस्पतालमै हुन्छ भन्दै फर्काए । बालकका आफन्त बलरामले सरकारी अस्पतालले नै यता पठाएको भनेपछि डाक्टरले त्यसो भए अर्को अस्पताल लैजान भनेको बताए । त्यसपछि उनीहरु नारायणी सामुदायिक अस्पताल पुगे त्यहाँपनि मेडिकल कलेजमा जे भनिएको थियो त्यहि दोहोरियो । त्यसपछि निको अस्पताल लैजान भनेर कसैले सुझायो । त्यहाँ बच्चालाई राख्ने छुट्टै आईसीयू छ, त्यहाँ आईसीयू पाइने सम्भावना छ भनेर सुनेपछि उनीहरु निको अस्पताल तर्फ लागे । तर, त्यहाँपनि यो सरकारी अस्पतालले गर्ने उपचार हो भनेर फर्काए । त्यसपछि नयाँ मेडिकल कलेज शिक्षण अस्पताल पुगे । त्यहाँ जाँदा पनि उपचार भएन बरु सरकारी मै जाउ भनेर फर्काए । आजित भएर बालकलाई पुनः भरतपुर अस्पताल लगियो । घरबाट हिँड्दा बोल्न सक्ने नाति ४ बजेसम्म शिथिल बनिसकेको उनका हजुरबुबाले बताए । बिहान ४ बजेर ४३ मिनेटमा डाक्टरले बालकलाई मृत घोषणा गर्यो । 

सरकारी अस्पतालमा आइसीयूमा बेड संख्या बिरामीको तुलनामा कम हुने हुँदा उपचारमा समस्या भएको देखिएपनि यो कुरालाई मुलुकी ऐनसँग जोडेर चिकित्सकहरुले टिप्पणी गरेका हुन् । डाक्टरहरुका अनुसार बालकलाई डाक्टरले आफ्नो जोखिममा उपचार गर्न सक्थे तर, नयाँ मुलुकी ऐनमा भएको व्यवस्था अनुसार डाक्टरले त्यसो गरेमा जेल जाने र जरिवाना हुने भएकाले यस्तो घटना घटेको हो । सिकिस्त बिरामीलाई आवश्यक पर्ने अति जोखिमपूर्ण मञ्जूरीनामा लिएर उपचार गर्न सकिन्थ्यो , तर सरकारले हात बाँधेपछी उपाय नभएको उनीहरुको टिप्पणी छ । चिकित्सकको लापरवाहीले होइन प्रणालीको लापरवाहीले बालकको मृत्यु भएको डाक्टरहरुले आरोप लगाएका छन् ।   

Last modified on 2018-09-10 07:10:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts