विश्व आत्महत्या रोकथाम दिवस

“आत्महत्या रोकथाममा सबैको सहकार्य”



Download our app to get more features

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँँदैन” तर  किन व्यक्तिले आत्महत्या गरेर आफ्नो ज्यान÷शरीर आफै समाप्त पार्छ ? यस्तो अवस्थामा पुग्दा पक्कै पनि उसले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको तथा अरु कुनै पनि विकल्पहरू नभेटिएर चरम निरासामा डुबेको हुन पर्दछ । आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

आत्महत्या नेपालमा पनि जनस्वास्थ्यको एउटा ठूलो समस्या र चुनौतिका रूपमा देखा पर्दै गएको छ । नेपालमा पनि आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ५ हजार ३ सय ४६ व्यक्तिले आत्महत्याबाट ज्यान गुमाएका थिए । जसमध्ये २ हजार ८ सय ५४ पुरूष, २ हजार २ सय महिला, १ सय ११ बालक र १ सय ३९ बालिका रहेका थिए । नेपालमा सबैभन्दा बढी ३ हजार ८ सय ८३ व्यक्तिले झुण्डेर आत्महत्या गरेका थिए भने दोस्रो स्थानमा बिस खाएर आत्महत्या गर्नेको सङ्ख्या रहेको थियो । उक्त सङ्ख्या प्रहरीमा दर्ता भएको वा प्रहरीको जानकारीमा आएको सङ्ख्या मात्र हो । वास्तविकतामा यो सङ्ख्या अझ बढी हुनसक्छ । नेपालमा प्रत्येक दिन सरदर १२ देखि १५ सम्म जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवायुवतीहरूमा समेत आत्महत्या डरलाग्दो रूपमा बढेर गएको छ ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् ।

यसरी हेर्दा प्रत्येक वर्ष सरदर ८ लाख भन्दा बढी व्यक्तिले आत्माहत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषको आत्माहत्या गर्ने दर झन्डै दुई गुणाले बढी छ । नेपालको परिपेक्ष्यमा महिलाहरूमा पनि आत्माहत्या गर्ने संख्या बढी छ । विश्वमा महिलाहरूले बढी आत्महत्या गर्ने देशहरूमा नेपाल तोस्रोमा पर्दछ ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, आर्थिक परनिर्भता, दाइजो प्रथा, श्रीमानले सौता ल्याउनु तथा महिलाहरू सुत्केरी भएपछि हुने एक प्रकारको मानसिक रोग÷डिप्रेसन (पोष्टपाटम डिप्रेसन) का कारण नेपालमा महिलाहरूको आत्महत्या गर्ने दर बढी भएको हुन सक्छ ।
आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० देखि ९५ प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागू पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गन सक्छ ।

आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । आत्महत्या गर्ने व्यक्तिलाई नेपालको कानुनले अपराधी ठान्छ । धर्मशास्त्रले पापी भन्छ । समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ । “हरपल मरीमरी बाँच्न’ भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जान्छ र आफ्नो आत्महत्याको सोच निर्णय र विचारमा परिवर्तन आउन’ सक्छ, त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ । 

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ” मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन । आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।  

 

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

Last modified on 2018-09-12 07:13:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts